आइतबार, वैशाख १६, २०८१

आशा/निराशा

किशोर विश्वकर्मा २०७९ जेठ १४ गते ९:२३

उसले भने जस्तै
मान्छेका आँखाहरू
भोक भनिरहेका थिए
उसले भने जस्तै
मान्छेका अनुहारहरू
शोक भनिरहेका थिए
मरुभूमि टेकेर
हिंडिरहेका ती यात्राहरू
शितल ओतहरू खोज्दै
उ आफ्नो आकाश सम्झिरहेको थियो ।
फूलेका स्वप्नहरूमा
अनावृत एउटा सम्झना
ढलेर फेरि उठेको छ
शोकाकुल वर्तमानहरूमा
पोतिएको एउटा क्रान्ति
निभेर फेरि बलेको छ ।
उ आफै टाढिएको कहाँ हो र ?
उ आफै हराएको कहाँ हो र ?
उसलाई थाहा छ
जीवनसंग खुसीहरू हुनुपर्छ
उसलाई यो पनि थाहा छ
जीवनसंग धेरै भरोसाहरू हुनुपर्छ
भाग्यसंग नजोडिएका
उसका थुप्रै प्रार्थनाहरू
धुलाम्मै भएका छन्
खुसीहरू खोज्दा-खोज्दै
भरोसाहरू रोज्दा-रोज्दै
गलेका उसका थुप्रै दिनहरू
धूँवा-धूँवा भएका छन् ।
उसंग अहिले
केवल आशाहरू मात्र छन्
उसंग अहिले
केवल निराशाहरू मात्र छन् ।

प्रतिक्रिया