आइतबार, वैशाख १६, २०८१

क्रान्तिकारी बाहुनहरू

राजव २०७९ जेठ १४ गते ८:३७

ऊ एक्लै पहाडी बाटो हिँडिरहेको थियो । एक्कासि ऊसँग उग्र क्रान्तिकारीहरूको भेट भयो । तिनले उसलाई हल्ट गरे । बन्दुक तेर्स्याउँदै घेरे । उसको कट्टु भिज्न थाल्यो । उसको मुखको पानी हरायो । एउटा क्रान्तिकारी कमान्डरले ऊसँग सोध्यो,
‘किन डराएको ?’
ऊ झन् डरायो । उसका खुट्टा काम्न थाले । ऊ बोल्न नसक्ने भयो ।
कमान्डरले फेरि सोध्यो,
‘किन डराएको दाइ ?’
अहिले पनि ऊ बोलेन । अघिनभन्दा दोब्बरसँग उसका खुट्टा काम्न थाले । उसको कट्टु थप भिज्यो । कमान्डरलाई शङ्का लाग्यो । त्यसकारण कमान्डरले सोध्यो,
‘तपाईं पुलिस हो ?’
‘होइन ।’
‘अत्याचारी हो ?’
‘होइन ।’
‘छद्मभेषी हो ?’
‘होइन ।’
‘गुप्तचर हो ?’
‘होइन ।’
‘त्यसो भए डराएको किन त ?’
तर ऊ बोल्न सकेन । किनभने उसको मुखको रस सुकिसकेको थियो । कमान्डरले झर्केर भन्यो,
‘त्यसो भए को तपाईं ?’
तर उसले म गाउँको गरिब दमाईं हुँ भन्न सकेन । किनभने ती क्रान्तिकारी बाहुनहरूलाई छोइएला र तिनको हातको बन्दुक पड्केला भन्ने त्रासमा थियो ऊ ।
(प्रकाशोन्मुख लघुकथा सङ्ग्रह ‘देशमा बाङ्गिन थालेको राजनीतिले गर्दा’ बाट )

प्रतिक्रिया