सोमबार, पुष ७, २०८२

‘मधेस प्रदेशमा कृषिको समावेशी रूपान्तरणका लागि मूल्य शृंखला शुभारम्भ’

नेपालखोज २०७९ जेठ १५ गते १४:०३

काठमाडौं । कृषि विकास बैंकले मधेस प्रदेशमा कृषिको समावेशी रुपानतरणका लागि मूल्य शृंखला शुभारम्भ कार्यक्रम गरेको छ । कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आईएफएडी) को वित्तीय सहयोगमा अर्थ मन्त्रालयमार्फत कृषि विकास बैंकद्वारा सञ्चालन हुन लागेको कृषिको समावेशी रुपान्तरणका लागि मूल्य शृंखला कार्यक्रम कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायको अध्यक्षतामा र मधेस प्रदेश योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाको प्रमुख आतिथ्यमा शुभारम्भ भएको हो ।

कार्यक्रममा मधेस प्रदेशका मुख्य मन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव मेखबहादुर मगराती, प्रदेश अर्थ मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुर, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव, नम्रता सिंह, आईएफएडीका परामर्शदाता तथा कन्सल्टेन्ट श्यामबहादुर खड्का, विभिन्न जिल्लाका कृषि ज्ञान केन्द्रका प्रमुख, समृद्धि आयोजना जनकपुरका करिडोर संयोजक, सफल किसान तथा कृषि समुहका प्रतिनिधिहरूको सहभागिता थियो भने कृषि तथा पशु पन्छी विकास मन्त्रालयका सहसचिव तथा बैंकका संचालक राजेन्द्र मिश्र विद्युतिय माध्यम जुममार्फत जोडिएका थिए ।

कार्यक्रममा कृषि विकास बैंक जनकपुर प्रदेश कार्यालयका निर्देशक तिलक प्रधानले सहभागीहरूलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए भने बैंकका उपमहाप्रबन्धक बाबुकाजी थापाले भिटा कार्यक्रमको विस्तृत रुपमा जानकारी दिँदै आयोजनाबाट प्राप्त हुने अपेक्षित उपलब्धि, लक्षित समूह, लभान्वित संख्या, कार्यक्रमका सम्भागहरू र मूल्य शृंखला विकासका लागि लिक्षित कृषि वस्तुहरू तथा कार्यक्रम सञ्चालनका प्रमुख आर्थिक स्रोतको सम्बन्धमा बताए । सहभागीको जिज्ञासा सम्बोधन गर्ने क्रममा आईएफएडीका परामशर््ादाता श्यामबहादुर खड्काले कार्यक्रम खासगरी कृषिलाई प्रतिस्पर्धी बनाउँदै व्यावसायिक कृषिलाई प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको जानकारी गराए ।

त्यस्तै शुभकामना मन्तव्य दिने क्रममा प्रविधि, वित्तीय पहुँच तथा बजारीकरणको माध्यम द्धारा परम्परागत रुपमा रहेको निर्वाहमुखि कृषि प्रणालीलाई रुपान्तरण गरि व्यवसायिक कृषि प्रणालीमा जानु आजको आवश्यकता रहेको प्रमुख अतिथी डा. झाले बताए । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव मगराती, कृषि तथा सहकारी मन्त्रालयका सचिव नम्रता सिंह र अर्थ मन्त्रालयका सचिव ठाकुरले यस क्षेत्रमा कृषिको महत्त्वबारे प्रकाश पार्दै भिटा कार्यक्रमले पुर्याउन सक्ने योगदानका सम्बन्धमा सुझाव सहित यस कार्यक्रमको सफल कार्यान्वयनको लागि शुभकामना व्यक्त गरेका थिए ।

कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सहसचिव तथा कृषि विकास बैंकका संचालक राजेन्द्र मिश्रले जुममार्फत किसानहरूमा सहुलियत दरमा वित्तिय पहुँच पुर्याउन यो कार्यक्रमले सहयोगी भूमिका खेल्ने बताउदै भिटा कार्यक्रमले किसानको उत्पादन र उत्पादकत्व वृद्धि गरी आयातमा प्रतिस्थापन एवं निर्यात प्रवर्द्धन हुने गरी मूल्य शृंखलाको अवधारणामा लगानी गरिने बताउँदै मन्त्रालयको तर्फबाट पूर्णसाथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

यस कार्यक्रमको अध्यक्षता गरेका बैंकका प्रमुख कार्यकारी अधिकृतले सबै सहभागीहरूलाई धन्यवाद दिंदै मधेस प्रदेशका कृषिको सम्भावना प्रसस्त रहेको र यस कार्यक्रमले सहुलियतपूर्ण कर्जाको रुपमा सही तरीकाले आपूर्तिकर्ता, कृषक, प्रशोधनकर्ताहरूलाई बजार मागको अधारमा मूल्य शृंखलामा आबद्ध गराई लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि तथा मुख्य अतिथिहरूलाई व्याच वितरण गर्ने कार्य कृषि विकास बैंकका विभागीय प्रमुख तथा आयोजना निर्देशक विना शर्माले र कार्यक्रमको सञ्चालन बैंकका वरिष्ठ शाखा प्रमुख प्रेमप्रसाद खनालले गरेका थिए ।

प्रतिक्रिया