शनिबार, वैशाख १५, २०८१

खाम

सुनील सापकोटा २०७९ जेठ २१ गते ६:५९

‘बुवा ! घर जाउँ , म तपाईंलाई लिन आएको । यहाँ एक्लै देवघाटमा बसेर के गर्नु हुन्छ ?’
‘बाबू ! अब त एक्लै बस्ने मेरो बानी भइसक्यो । यहाँका मानिसहरु मेरा साथी भइसके । तिम्रो बिहा भएर तिमी जागिरमा सरुवा भएर जब गयौ, तब घरमा शून्य लागेर म यहाँ आएको । तिम्रो आमा बाँचेकी भए म यहाँ आउँदिनँ थिएँ । एक्लोपनाले मलाई सतायो र मन बहलाउँन यहाँ पुगें । अब त भजन किर्तन गरेर यहीँ बस्ने मन छ ।’

‘तर बुबा ! तपाईंले सेवाका लागि बुहारीले पनि जागिर छोडी । अब राजु पनि ठूलो भइसक्यो । तपाईंलाई सम्झिरहन्छ । अब तपाईंलाई सबैले ध्यान राख्छन् । सेवा गर्छन् ।’

‘बाबु ! मैले त सुनेको थिएँ, बुहारी त भ्रष्टाचारमा मुछिएर जागिर गएको अरे ?’
‘हो ! त्यो पनि कारण हो । छोड्नुस् यो सब कुरा बुबा’- अँध्यारो मुख लगाएर छोराले भन्यो ।

‘बाबु ! अब म मर्ने बेलामा कहाँ घर जानु । अब त बाँकी जीवन यहीँ बिताउने हो ।’

‘तर बुबा ! सायद तपाईंलाई थाहा छैन होला भनेर म यहाँ आएको । एउटा खुसीको कुरा तपाईंलाई म छुट्टी लिएर सुनाउन आएको । हिजो अदालतले तपाईंले दिएको पुरानो मुद्दाको फैसला गर्‍यो । तपाईंले पेन्सनसम्बन्धी पुरानो मुद्दा जित्नुभयो । अदालतले बैंक कर्मचारी नियमावलीअनुसार तपाईंलाई अहिलेसम्मको हिसाब-किताब गरी पेन्सन कम दिएको कुरालाई जायज ठहर्याइ अहिलेसम्मको थप फरक रकम ५० लाख रुपैयाँ बैकले दिनुपर्ने निर्णय गर्यो । ल हेर्नुस् यो ! न्यायाधीशले गरेको फैसलाको नक्कल ।’
‘अब पहिलेको पुरानो कुराहरु नसम्झिनुस् । घर हिँड्नुस् । म तपाईंलाई लिन आएको । घर जाउँ बुबार ।’
-अदालतको फैसलाको नक्कल ब्यागबाट निकाल्दै छोराले एउटा खाम दिँदै भन्यो ।

प्रतिक्रिया