आइतबार, वैशाख ३०, २०८१

‘जलमा हलचल सूक्ष्मको…’

नेपालखोज २०७९ जेठ २४ गते १२:२६

काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले समाजका संस्थापक सभापति कृष्ण पहाडीको कविता संग्रह ‘जलमा हलचल सूक्ष्मको’ प्रकाशित गरेको छ ।

संस्थापक सभापति पहाडीको परिकल्पनाअनुसार जगत्‌मुखी, जीवनमुखी र सेवामुखी उद्देश्यले स्वयंसेवी तवरमा मानवअधिकार तथा शान्ति समाज क्रियाशील छ भने पहाडीका कविताहरु पनि जगत्‌मुखी, जीवनमुखी सेवामुखी चेतले निर्दिष्ट छन् । पहाडीको यो ३०औँ पुस्तक हो । ६२ वटा कविता रहेको यस संग्रहमा समाविष्ट कुनै कविता ब्रम्हाण्डको बारेमा त कुनै अन्तरिक्ष कुनै तारा र ग्रहबारे छन् ।

कुनै कविता मृत्युकालीन अवस्थाबारे छ । कुनैमा मृत्युपश्चातको कल्पनातित अनुभूति चित्रित छ । कहीँ अनन्तको बारेमा त कहीँ अन्त्यका बारेमा केन्द्रित कविता पनि छन् । अधिकांश कविता जीव, जगत् र प्रकृतिको अन्तरसम्बन्धबारे छन् । कुनै कविता विज्ञानबारे छन्, कुनै गहिरो ज्ञानबारे छन् । समग्रमा भन्नुपर्दा संस्थापक पहाडीद्वारा लिखित यो कविता संग्रह पृथक छ । सायद त्यसैले स्रष्टा पहाडीले यो कृतिलाई दोस्रो पारिको पहिलो पुस्तक बताएका छन् ।

शान्ति समाजका दुई सदस्य/शुभचिन्तकको सहयोगमा प्रकाशित यो पुस्तकको मूल्य दुई सय रुपैयाँ छ । पुस्तक बिक्रीबाट हुने सम्पूर्ण आम्दानी समाजको केन्द्रीय कार्यालय भवन खरिद/निर्माणमा लगाइने समाजका सभापति गोविन्द खनालले विज्ञप्तिमार्फत जनाएका छन् ।

संग्रहको एउटा कविता ‘संहार ब्रम्हाण्डको’
संहार ब्रह्माण्डको

तातो भकभकी उम्लिएर पिँधमा विद्रोह जन्मेपछि
आगो ह्वारह्वार दन्किएर नभमा बिजुली चम्केपछि
ज्वाला तनतनी तन्काएर प्रकृति बिगुल घन्केपछि
कम्पकम्प चिराचिरा भई धरा धूलोले ढाकेपछि ।

पानीपानी जताततै जगत्मा प्रलय पथको घडी
बग्यो बीज सबै समस्त चिजको एउटा रहेन धरी
डुबे वृक्ष सबै, वनस्पति डुबे, तैरिन थाल्यो जरा
डुबे पर्वत शृङ्खलाहरू सबै, डुबिन् वसुन्धरा
डुब्यो सृष्टि सकल, मियो पनि डुब्यो, अन्योल कठै बरा !
कहिलेसम्म डुबिरहन्छ जलमा ? ढाडिन्छ कि यो धरा ?

उल्का पिण्ड अति भ्रमित भई कति झरे निरन्तर भने
ग्रह ग्रन्थि असन्तुलित हुन गई जुधे परस्पर भने
धूलो-धूवाँ जताततै कणहरू, विनाश र ध्वंसको
सौर्य आँधी चली डढ्यो जगत् भने साम्राज्य विध्वंसको ।

रातो बिम्ब कतै लुक्यो खोकिलामा गर्छु म विश्राम भनी
तातो बिम्ब कतै फुटयो क्षितिजमा फेरि नजुट्ने गरी
सग्लो छैन कतै कहीँ जगत् यो, नासियो हराभरा
सातोपुत्लो गयो समस्त जीवको, निर्जीव भयो धरा ।

चिसो पिण्ड भई जम्यो जगत् त्यो, निष्प्राण कठैबरा !
कहिलेसम्म जमिरहन्छ अनमोल, पग्लिन्छ कैले धरा ?

तारामण्डल सङ्कुचित हुन गई निरन्तर खुम्च्यो भने
आकाशगङ्गाविषे भिडन्त हुन गई विनाश निम्त्यो भने
कर्षण-घर्षण त्यो विकर्षण भई गुरुत्व खस्यो भने
अन्तरिक्ष कतै अशान्त हुन गई सङ्ग्राम मच्यो भने ।

काला प्वालहरू कलुषित भई सर्लक्क निले भने
काला प्वालहरू अझ कतिकति खर्लप्प मिले भने
गुह्य पुर्जाहरू सघन हुन गई अँध्यारो फ्याँके भने
गहिरो ऊर्जा झनै गहन हुन गई ढपक्क ढाके भने
विस्फोट हुन गई विभाजित अनेक कणकण त्यो पदार्थको
महाविस्फोट यदि हरेक कणमा संहार ब्रह्माण्डको ।

कम्प-परकम्प निरन्तर कति त्यो शून्यको गर्भमा
हलचल तीव्र अति भए कतिकति, त्यो शून्यको सत्य हो
शून्य-उपशून्य कथा-उपकथा अनेक ब्रह्माण्डको
विस्फोटपछि जसै विस्तारित हुँदै यात्रा यो ब्रह्माण्डको ।

एउटा विन्दु चुमी आरोहणसरि आराध्य अनन्तको
फेरि सूक्ष्मतिरै पूर्वस्वरुपमा फर्किन थाल्यो भने
कणकण अनेक विभक्त हुन गई विनाश सब गणको
विस्थापित हुँदै शनैःशनैः सबै संहार ब्रह्माण्डको ।

विस्तार भन्छन् यो निरन्तर सधैँ ब्रह्माण्ड अहिले पनि
विस्तार असीमित अनन्त पथमा धान्नै नसक्ने गरि
रफ्तार तीव्र भई अनन्त तटमा बेलुनझैँ फुटयो भने
महाप्रलयको घडी हुने छ त्यो संहार ब्रह्माण्डको ।

प्रतिक्रिया