नबिल बैंकको वातावरणमैत्री कर्जा योजना सुरु

नेपालखोज २०७९ असार २ गते १४:१३

काठमाडौं । नबिल बैंकले वातावरणमैत्री कर्जा योजना सुरु गरेको छ । बैंकका अनुसार व्यवसायहरूको वित्तीय व्यवस्थापनमा सहयोग गर्ने लक्ष्यका साथ नबिलले पहिलोपटक पर्यावरणमैत्री व्यवसाय कर्जा सुविधा ल्याएको हो ।

फोहोरमैला व्यवस्थापनसँग सम्बन्धित व्यवसाय, पर्यावरणमैत्री व्यवसाय तथा वन विनाश र प्रदूषण कम गर्ने लक्ष्य राखेका व्यवसायहरूको वित्तीय आवश्कता पूरा गर्न बैंकले कर्जा सुविधा उपलब्ध गराउने जानकारी दिएको छ ।

यो कर्जा योजना अन्तर्गत बैंकले साबिकको भन्दा शून्य दशमलव पाँच प्रतिशत कम ब्याजमा कर्जा उपलब्ध गराउनेछ । बैंकले पर्यावरणमैत्री व्यवसायीहरूको व्यवसाय बढाउन मद्दत गर्न क्षमता अभिवृद्धि कार्यक्रम र व्यवसाय विकास तथा परामर्श सुविधाहरू प्रदान गरी व्यवसायीहरू माझ वित्तीय पहुँचमा जोड दिने नीति लिएको छ । साथै, आफ्ना ग्राहकसम्म व्यवसायको उत्पादन र सेवाहरू वितरणलाई सहज बनाउने उद्देश्यले ‘नबिल एसएमई सहकार्य योजना’ आबद्ध गराउने जानकारी दिएको छ ।

‘नबिल पर्यावरण मैत्री व्यवसाय कर्जायोजना हाम्रो दिगो बैंकिङअन्तर्गतको विभिन्न प्रयासमध्यको एक हो । जसअनुरूप फोहोरमैला व्यवस्थापन, सामाजिक र वातावरणीय मूल्य–मान्यता अभिवृद्धि गर्ने लक्ष्य लिएर स्थापना भएका दिगो तथा पर्यावरणमैत्री व्यवसायको क्षमता अभिवृद्धि तथा वित्तीय पहुँचमा बैंकको साझेदारीलाई झल्काउँछ,’ बैंकका एसएमई तथा एमएफ विभाग प्रमुख नीरजकुमार बस्नेत (डनिल) ले भने ।

यो कर्जा योजनाअन्तर्गतका ऋणीहरूलाई एक सफल व्यापार उद्यमका रूपमा विकास गर्न ऋणीहरूलाई विभिन्न क्षमता अभिवृद्धि कार्यक्रम तथा सहकार्य योजनामा समावेश गर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया