शनिबार, वैशाख २९, २०८१

तीन कविता !

नवराज गौतम २०७९ असार ४ गते ८:१२

१. अरे मन ! कति दुख्छस्
वृद्ध बाको चाउरिएको गालामा दुख्छ
आमाको अश्रूधारमा
दिदीको उजाड सिउँदोमा
बहिनीको फाटेको चोलीमा
भाइको सपनामा
अर्धाङ्गिनीको उदास आँखामा
लालाबालाको रित्तो थालीमा दुख्छ
घरमा । गाउँ, शहर । समाजमा दुख्छ
बरालिएको सरकारमा दुख्छ
देशमा दुख्छ । संसारमा दुख्छ
मन त सबैमा दुख्छ नै
तर, ईश्वर ! ईश्वर किन दुख्दैन ?
अरे तँ मात्र कति दुख्छस, अब त बिद्रोह गर
यो अस्तित्वको सवाल पनि हो
तेरी र ईश्वरको अस्तित्व
अब तैं रहे तँ दुखेस
ऊ रहे ऊ पनि दुख्नुपर्छ ।

२. हाम्रो भविष्य ?
मन्दिर र देवालय भएर पो के भो
अक्षता र नैवेद भएर पो के भो
हाम्रो भाग्य भविष्य लेख्ने अरु छन यहाँ
ईश्वर र परमेश्वर भएर पो के भो ?

३. सामान्य जिन्दगी
साधारण मानिस
साधारण जीवन
साधारण सोच
साधारण सपना
साधारण काम
साधारण सम्बन्ध
साधारण रुप
साधारण म
भैगो असाधारण नबनाऊ
तिनको विरुपी रुप देख्दा
म साधारण नै ठीक छु ।

प्रतिक्रिया