शुक्रबार, वैशाख १२, २०८२

राष्ट्र बैंकले गर्‍यो १ वर्षमा १४ लघुवित्तको स्थलगत सुपरिवेक्षण

नेपालखोज २०७९ असार २० गते २०:२३

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक आर्थिक वर्षमा १४ वटा लघुवित्त वित्तीय संस्थाको सुपरिवेक्षण गरेको जनाएको छ ।

राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको लघुवित्त संस्था सुपरिवेक्षण विभाग, निरीक्षण तथा सुपरिवेक्षण वार्षिक प्रतिवेदन २०७७/७८ अनुसार २०७८ असार मसान्तमा उक्त संख्यामका लघुवित्त संस्थाहरूको सुपरीवेक्षण गरिएको हो ।

‘आर्थिक वर्ष ०७७/७८ मा ४० वटा लघुवित्त वित्तीय संस्थाको समष्टिगत स्थलगत निरीक्षण गर्ने कार्ययोजना रहेको भए पनि कोभिड–१९ को महामारीका कारण लक्ष्यअनुसार निरीक्षण कार्य गर्न नसकिएको र सो अवधिमा १४ लघुवित्त वित्तीय संस्थाको समष्टिगत स्थलगत निरीक्षण सम्पन्न भएको छ,’ राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष ०७७/७८ मा ८ वटा लघुवित्त वित्तीय संस्थाको लक्षित स्थलगत निरीक्षण गर्ने कार्ययोजना रहेकामा कोभिड–१९ को महामारीका कारण लक्षित निरीक्षण कार्य गर्न नसकिएको राष्ट्र बैंकको भनाइ छ ।

प्रतिवेदनअनुसार २०७७ असार मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूको कुल चुक्ता पुँजी २१ अर्ब ६८ करोड रहेकामा २०७८ असार मसान्तमा १४ दशमलव ८५ प्रतिशतले वृद्धि भई २४ अर्ब ९० करोड पुगेको देखिन्छ ।

त्यस्तै, लघुवित्त वित्तीय संस्थाहरूको कुल पुँजीकोष २०७७ असार मसान्तमा ३७ अर्ब ३५ करोड रहेकामा २०७८ असार मसान्तमा २८ दशमलव २७ प्रतिशतले वृद्धि भई ४७ अर्ब ९१ करोड रहेको छ । साथै, प्राथमिक पुँजी २०७७ असार मसान्तमा ३३ अर्ब ७५ करोड रहेकामा २०७८ असार मसान्तमा ३० दशमलव ४३ प्रतिशतले वृद्धि भई ४४ अर्ब दुई करोड रहेको छ ।

२०७८ असार मसान्तमा जोखिम भारित सम्पत्तिका आधारमा प्राथमिक पुँजी अनुपात ११ दशमलव २० प्रतिशत रहेकोे छ भने पुँजीकोष अनुपात १२ दशमलव १९ प्रतिशत छ । २०७७ असार मसान्तमा यस्तो अनुपात क्रमशः ११ दशमलव ८८ तथा १३ दशमलव १५ प्रतिशत रहेको थियो ।

यसैगरी २०७८ असार मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूको कुल सम्पत्ति २०७७ असार मसान्तको तुलनामा ३४ दशमलव ३२ प्रतिशतले वृद्धि भई चार खर्ब ६ अर्ब ७८ करोड हुन आएको छ । २०७७ असार मसान्तमा कुल सम्पत्ति अघिल्लो आर्थिक वर्षको तुलनामा १६ दशमलव ५४ प्रतिशतले वृद्धि भई तीन खर्ब दुई अर्ब ८४ करोड रहेको थियो । २०७८ असार मसान्तमा कुल सम्पत्तिमा जोखिम भारित सम्पत्तिको अनुपात ९६ दशमलव ५८ प्रतिशत रहेको छ जुन अघिल्लो आर्थिक वर्षमा ९३ दशमलव ८० प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

२०७८ असार मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूको जोखिम भारित सम्पत्ति २०७७ असार मसान्तको तुलनामा ३८ दशमलव ३१ प्रतिशतले वृद्धि भई तीन खर्ब ९२ अर्ब ८८ करोड हुन आएको छ । २०७७ असार मसान्तमा जोखिम भारित सम्पत्ति अघिल्लो आर्थिक वर्षको तुलनामा १५ दशमलव सात प्रतिशतले वृद्धि भई दुई खर्ब ८४ अर्ब पाँच करोड रुपैयाँ रहेको राष्ट्र बैंकको भनाइ छ ।

प्रतिक्रिया