फुटबल प्रशिक्षक अल्मुताइरी नेपाल फर्केलान् !

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)मा नयाँ कार्यसमिति चुनिएसँगै नेपालको राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुटाइरीको निरन्तरताको विषयले निकै चर्चा पाएको छ । यसमा दुईवटा प्रश्न जोडिएका छन् । पहिलो के अल्मुटाइरी अब फर्केर आउलान् ? दोस्रो, के एन्फाले उनलाई निरन्तरता देला ? प्रश्न जति चासोपूर्ण छ उत्तर अझै अनुत्तरित नै देखिन्छ।
सामान्य दृष्टिकोणले हेर्दा एकजना प्रशिक्षक राख्नु वा नराख्नु एन्फाले निर्णय गर्ने विषय हो । प्रशिक्षक फेर्नु विश्व फुटबलमा सामान्य घटना मानिन्छ । तर अल्मुटाइरीको विषय फरक छ । यसमा प्रशिक्षकको व्यवहार जोडिएको छ, एन्फाको राजनीति मिसिएको छ, छानबिन समितिको प्रतिवेदन पर्खिइएको छ, नवनियुक्त अध्यक्ष पंकज विक्रम नेम्बाङ र उनको सम्बन्ध जोडिएको छ अनि समग्रमा नयाँ निर्वाचित एन्फा कार्यसमितिको कार्यकुशलता समेत परीक्षामा परेको छ। सबै विषयको निचोडले अझै करिब दुई वर्ष बाँकी रहेको नेपाली फुटबलमा विवादास्पद बन्न पुगेका अल्मुटाइरीको कार्यकालको भविष्य तय गर्नेछ ।
चर्चामा अल्मुताइरी
अल्मुटाइरीले नेपाली फुटबल सम्हालेको एक वर्ष मात्रै भएको छ। तर यो अवधिमा उनी मैदान भित्र र बाहिर दुवै तर्फ चर्चाको पात्र बने । यस अवधिमा उनको टीमले १९ खेल खेल्यो। त्यसमा १३ खेलमा हार, ५ खेलमा जित र २ खेल बराबरीमा टुङ्गिएको छ । यस क्रममा नेपाली खेलाडीहरूले १९ गोल गरे । तर झण्डै दोबर- ३६ गोल खाएका छन् ।
समग्रमा विश्लेषण गर्दा उनको नेतृत्वमा नेपालको प्रदर्शन औसत मानिन्छ । त्यसमा नेपाललाई पहिलो पटक साफ च्याम्पियनशिपको फाइनलमा पुर्याउनु उनको सबैभन्दा ठूलो सफलता रह्यो । यसबाट उनी नेपालमा निकै चर्चित बने । कतिपयले नेपाली फुटबलले सफलताको उत्कर्षमा पुगेको विश्लेषण गरे ।
विश्लेषक सञ्जीव मिश्र भन्छन्, ‘विगतमा चार खेलबाट ७ अंक बटुल्दा नेपाल सेमिफाइनलमा मात्र पुग्थ्यो । यसपालि ५ राष्ट्रले मात्र भाग लिएका कारण नेपाल ४ खेलबाट ७ अंक जोडेर पनि फाइनलमा पुग्न सफल भयो । यथार्थ यही नै हो । त्यसैले विगतमा नेपालले कमजोर प्रतिस्पर्धा गरेको थिएन।’
अल्मुटाइरीको तारिफको अर्को पक्ष चाहिँ युवा खेलाडीहरूलाई मौका दिनु हो । १९ खेलमा उनले १५ जना युवा खेलाडीलाई राष्ट्रिय टोलीमा ‘डेब्यू’ गराइसकेका छन् । एक वर्षमै यति धेरै खेलाडीहरू भित्र /बाहिर हुनुले राष्ट्रिय टोलीमा उथल पुथल नै भएको थियो। यसले युवाहरूलाई उत्साहित बनायो भने त्यहाँ कोही पनि सुरक्षित छैनन् भन्ने सन्देश पनि । उनले थुप्रै समर्थकहरूको साथ पाएको कारण पनि यसैलाई मानिन्छ ।
तत्कालीन वरिष्ठ उपाध्यक्ष नेम्वाङविरुद्ध सामाजिक सञ्जालमा सिधै असहयोगीको आरोप लगाएर अल्मुटाइरी फुटबल विवादको श्रृंखलामा प्रवेश गरेका हुन् । त्यसपछि पनि उनी एकपछि अर्को विवादमा पर्दै आएका छन् । जसमा अधिकांश विवाद आफैले सृजना गरेको देखिन्छ ठान्नेहरू प्रशस्त छन्।
छानबिन समितिको प्रतिवेदन
प्रशिक्षक पदबाट राजीनामा दिन्छु भनेर उनले तीन पटकसम्म सार्वजनिक रूपमा बोले। तर कहिल्यै दिएनन् । जसमा सबैभन्दा संवेदनशील समय साफ च्याम्पियनशिपको फाइनल खेल अगाडिको पत्रकार सम्मेलन थियो । खेलाडीहरू फाइनल खेल्न मैदान छिर्नु अगाडि उनले ‘अव म नेपाल फर्किन्न’ भनेर पत्रकार सम्मेलनमा घोषणा गरेका थिए ।
एउटा राम्रो प्रशिक्षकले छिट्टै राष्ट्रिय टोली छोड्न लागेकोमा उनका समर्थकहरू निराश भएका थिए । तर त्यो एउटा नाटकमात्र साबित भयो किनभने उनले राजीनामा दिएनन् । बरु त्यसपछि उनी थप तीन वर्षका लागि एन्फासँग अनुवन्धित भए, पहिलेको भन्दा राम्रो रकममा । अल्मुटाइरीसँग जोडिएको कान्डमा एन्फा र राष्ट्रिय खेलकुद परिषद्ले समेत छानबिन समिति नै गठन गर्नुपरेको थियो ।
राखेपको छानबिन रिपोर्टमा उनलाई आफ्नो भूमिकामा केन्द्रित हुन सुझाव दिँदै सामाजिक सञ्जालमा नअल्झिन सुझाव दिइएको थियो । यद्यपि उक्त छानबिन समितिको रिपोर्ट कार्यान्वयनमा आएन । पछिल्लो कान्ड उनले राष्ट्रिय टोलीका १० खेलाडीलाई एकसाथ टोलीबाट बाहिरिने ‘आदेश’ दिएपछि आएको हो ।
पहिलो रोजाइका १० खेलाडी र उनीहरूको पक्षमा बोलेको भन्दै कप्तान किरण चेम्जोङ गरी ११ जना पहिलो रोजाई (अधिकांश) लाई टीमबाट हटाइयो । यसकै लागि बनेको छानबिन कमिटीको कठघरामा अहिले अल्मुटाइरी उभिएका छन् । छानबिन समितिले पनि एन्फालाई अल्मुटाइरीको विकल्प खोज्न एन्फालाई सुझाव दिइसकेको छ ।
अल्मुटाइरीको सम्भावित कदम
अल्मुटाइरीले एन्फामा नयाँ नेतृत्व आएपछि आफू नेपाल नआउने आशय सामाजिक सञ्जालमा व्यक्त गरे । ‘हरेक कुराको अन्त्य हुन्छ’ कर्मा छिरिङ शेर्पा पराजित भए लगत्तै उनले यस्तो अभिव्यक्ति सार्वजनिक गरे । केही समयपछि त्यसलाई मेटाए पनि । तीन महिना बिदामा बसेका अल्मुटाइरीको नेपाल फर्किने वातावरण अनुकूल पनि देखिएको छैन ।
पहिलो कुरा एन्फाको बागडोर अहिले नेम्वाङको हातमा छ, जोसँग अल्मुटाइरीको ठूलै विवाद चलेको थियो । अर्को उनले कर्मा छिरिङ शेर्पाबाहेक अर्को नेतृत्वसँग काम नगर्ने बताइसकेका छन् । फेरि एन्फाको पहिलो कार्यसमितिको बैठकले उनले हटाएका १० खेलाडीलाई राष्ट्रिय टोलीमा समावेश गर्ने निर्णय गरिसकेको छ ।
कुवेतमा रहेका अल्मुताइरी नेपाल फर्किएलान् ?
राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक ध्रुव केसी भन्छन्, ‘उनी फर्किनु नै बुद्धिमानी हुन्छ। यहाँ आएर आफ्नो अडान कायम राख्नुपर्छ ।’ अल्मुटाइरीको पछिल्लो सामाजिक सञ्जालमा फेरिएको स्ट्याटसले पनि त्यही संकेत गरेको देखिन्छ । उनले आफ्नो अबको लक्ष्य सन् २०२६ को विश्वकप छनोट, २०२७ को एसियन कप छनोट र साफ च्याम्पियनसिप २०२३ रहेको लेखेका छन् ।
के गर्ला एन्फा ?
एन्फाको निर्वाचनपछिको पहिलो कार्यसमिति बैठकले १० खेलाडीलाई राष्ट्रिय टोलीमा बोलाउने निर्णय त गर्यो तर प्रशिक्षकको बारेमा निर्णय गर्न हतार गरेन । एन्फासँग विकल्पहरू छन् । पहिलो छानबिन समितिको सुझाव कार्यान्वयन गर्दै अल्मुटाइरीको विकल्प खोज्ने ।
तर त्यसो गर्ने हिम्मत एन्फा पदाधिकारीहरूमा नहुन सक्ने बताउनेहरू पनि छन् । किनकि अल्मुटाइरी कतार फुटबल संघले पठाएका प्रशिक्षक हुन् । कतार अहिले नेपाली फुटबलको बलियो सहयोगी संस्था हो । जोसँग एन्फा सम्बन्ध बिगार्न चाहँदैन । सहिद स्मारक ए डिभिजन लीगमा डेढ करोड रुपैयाँको प्रायोजन, कतारमा प्रो लाइसेन्स कोर्सको सुविधा, खेलाडीहरूको उपचार, बन्द प्रशिक्षणको व्यवस्थामा कतारले मद्दत गर्दै आएको छ।
मिश्र भन्छन्, ‘कतारसँग सम्बन्ध बिग्रिए ए डिभिजन लिग जस्तो ठूलो प्रतियोगिताको आयोजनामा असर पर्न सक्छ। हिजोको दिनमा शेर्पा मौन बस्नुको कारण पनि त्यही नै त थियो ।’ एन्फासँग भएको अर्को विकल्प भनेको विगतलाई बिर्सिनु हो । एन्फा अध्यक्ष नेम्वाङले त्यसको छनक पनि देखाइसकेका छन् । उनले भने, ‘म विगत बिर्सिएर सहमतिमा अगाडि बढ्न चाहन्छु। उनले विगतमा गल्ती गरेकै हो । अब सच्चिनुपर्छ।’
एन्फा महासचिव किरण राई पनि त्यही बाटोमा छन् । उनी भन्छन्, ‘हामीले सम्पर्क गर्यौँ । उनी अहिले बिरामी छन् र आराम गरिरहेका छन्। त्यसैले हामीले केही कुरा अगाडि बढाएका छैनौँ ।’ अनि छानबिन कमिटीको सुझाव के हुन्छ ? महासचिव राई भन्छन् , ‘यसबारे एन्फा पदाधिकारीहरूबीच छलफल हुन्छ र हामी एउटा निर्णयमा पुग्नेछौँ ।’ एन्फाको आगामी बैठक श्रावण २ गते बस्दै छ।-बीबीसी
प्रतिक्रिया