शनिबार, जेठ ५, २०८१

हिमालयन र एभरेष्ट इन्स्योरेन्सको एकीकृत कारोबार सुरु

नेपालखोज २०७९ साउन १ गते १४:३७

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको एकीकृत कारोबार सुरु भएको छ । दुवै कम्पनीले आज (आइतबार) बाट हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीका नामबाट एकीकृत कारोबार सुरु गरेका हुन् । एकीकृत कारोबारको शुभारम्भ बिमा समिति अध्यक्ष सूर्यप्रसाद सिलवालले गरेका हुन् ।

बिमा क्षेत्रमा भएको यो पहिलो मर्जर हो । कार्यक्रममा सिलवालले वित्तीय क्षेत्रमा स्थायित्व कायम गर्ने सफल मर्जरका लागि गौरव महसुस गरेको बताएका थिए । आफू बिमाको विज्ञ नभएको तर समितिको अध्यक्ष बन्दै गर्दा बिमा कम्पनीको संख्या धेरै हुँदा अस्वस्थ प्रतिस्पर्धा बढी हुने गरेको भन्दै मर्जर र पुँजीवृद्धिमार्फत सबल र दायरा विस्तार गर्ने लागिपरेको उनको भनाइ थियो ।

कार्यक्रममा अध्यक्ष सिलवालले बिमाको पोलिसी सबैले बुझ्ने खालका बनाउनुपर्ने र गरिबले पनि एक–दुई रुपैयाँ तिरेर बिमा गर्न सक्ने पोलिसी चाहिने बताए ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले मर्जरमार्फत सूचीकृत संस्था बलियो बन्दा बजार विकासमा थप योगदान पुग्ने धारणा व्यक्त गरे । दुवै कम्पनीले वैशाख २३ गते एभरेष्टको एक सय कित्ताबराबर हिमालयन जनरलको ८५ अर्थात १ः०.८५ को स्वाप रेसियो कायम गर्दे मर्जरका लागि तयार भएका थिए । मर्जरअघि हिमालयन जनरलको चुक्ता पुँजी एक अर्ब १७ करोड ३५ लाख रुपैयाँ र एभरेष्टको चुक्ता पुँजी एक अर्ब २५ करोड ४६ लाख रुपैयाँ रहेको थियो ।

मर्जरपश्चात बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी दुई अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया