सोमबार, वैशाख १७, २०८१

खुलेको गगन

अम्बिका धिताल २०७९ साउन ७ गते १०:००

धेरै पछिको साथीहरूको जमघट हुँदा हाँसोको बास्नाले भित्तो छेडेर बाहिर पुग्यो तर नित्याको चेहरा उही धुम्मिएको आकाश जस्तो । धेरैको चासो उनैमा गयो । किन उनी चिन्तित छिन् । उनीहरू एकआपसमा कानेखुसी गर्न थाले ।

तर बिनाले मुखै खोलेर सोधिन्, “यति मिठा, खुसीका र रमाइला कुराहरू गुन्जिरहेको ठाउँमा पनि तिमी किन चुप छौ ? तिमीलाई केही समस्या पर्यो कि?” नित्याले मधुर स्वरमा जवाफ दिइन्,”केही भएको छैन ।” “हामीले देख्दा पनि केही नभएझैँ लाग्छ । सहरमा घर,बालबच्चा,जागिर,धनसम्पत्ति सबै कुराले तिमी भरिपूर्ण छौ तर तिम्रो व्यवहार र मुहारले खुसीको झलक दिन सकिरहेको छैन,हामी त्यसको रहस्य थाहा पाउन चाहन्छौँ।” बिनालाई जवाफ दिदै नित्या बोलिन्,”हो मलाई कुनै चिन्ता छैन तर पनि खुल्न सक्दिन । म पनि चाहान्छु कि तिमीजस्तै हँसिलो पात्र बनूँ ।

मलाई त्यसको भेउ बताऊ । म पनि जान्न चाहान्छु तिमीहरू सबै यति हँसिला र रसिला हुनुको कारण ?” समूहको बिचबाटै कुसुम हाँस्दै बोलिन्,” मर्दा लिएर जानु केही छैन । यही हाँसो छोडेर जाने हो ।सबैसँगको भेटमा सकारात्मक सोचका साथ बिना सङ्कोच मनदेखि हाँस्दा मेरो मनै फुरूङ्ग हुन्छ।” बिनाले थपिन्,” हजारौँ पीडा एकै मुस्कानले भुलाइदिन्छ ।

सफा, स्वच्छ र खुलेको गगनजस्तै बनेर चेहरामा मुस्कानका रङ्गहरू भर्दा यो प्रकृतिले पनि नतमस्तक भई चियाइरहेको हुन्छ ।यसलाई निरन्तरता दिए त्यसको फाइदा कति हुनेछ एकपटक ठण्डा दिमागले कल्पना गर त!

प्रतिक्रिया