शुक्रबार, वैशाख १४, २०८१

वाग्मती प्रदेशमा हस्तकला ग्राम स्थापनासम्बन्धी ऐनको मस्यौदा बुझाइयो, कार्यान्वयन कहिले ?

नेपालखोज २०७९ साउन २६ गते १८:३९

काठमाडौं । वाग्मती प्रदेश उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट नेपाल हस्तकला महासंघको सहकार्यमा आज (बिहीबार) नेपाल हस्तकला महासंघको कार्यालयमा हस्तकला प्रवर्द्धन तथा उद्यमशीलता विषयक अन्तर्क्रिया गोष्ठी गरिएको छ ।

वाग्मती प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठ, राज्यमन्त्री रजनी अमात्य जोन्छे र वाग्मती प्रदेशसभाका सदस्य माधव पौडेल कार्यक्रममा सहभागी थिए । यस्तै मन्त्रालयका सचिव विश्वबाबु पुडाासैनी, उपत्यकाभित्रका घरेलु तथा साना उद्योग कार्यालयका प्रमुखहरू, नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्य, निवर्तमान अध्यक्ष सुरेन्द्रभाइ शाक्य, वरिष्ठ उपाध्यक्ष सनम शाक्य, महासंघका उपाध्यक्षहरू दीपेन्द्र शाक्य, अमृत खड्का, किरणकुमार स्थापित, दिव्यतारा तुलाधर, दिल्लीरत्न तुलाधर र नवीन शाक्य पनि सहभागी थिए । जिल्ला हस्तकला संघ तथा वस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिहरू, अग्रणी निर्यातकर्ताहरू कलाकार गरी ४५ जना सहभागी भएको कार्यक्रममा वाग्मती प्रदेश र नेपाल हस्तकला महासंघको तर्फबाट छुट्टाछुट्टै प्रस्तुति गरिएको थियो ।

अन्तर्क्रिया कार्यक्रममा नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकला उद्योग व्यवसायले राष्ट्रिय अर्थतन्त्रमा पुर्‍याएको योगदान, देशमा विदेशी मुद्रा भित्र्याउन खेलेको भूमिका, रोजगारी, सिर्जना, वाग्मती प्रदेशमा हस्तकला ग्राम स्थापनासम्बन्धी ऐनको मस्यौदा र हस्तकला विकास नीतिको मस्यौदा तयार गरी वाग्मती प्रदेश सरकारसमक्ष प्रस्तुत गरेको उनले जानकारी गराए । उनले सार्वजनिक निजी साझेदारीमा स्थापना हुन लागेको सार्क हस्तकला विकास केन्द्रको भवन तयार भइसकेको हुँदा उक्त केन्द्र जति सक्दो चाँडो सञ्चालन गर्न सहयोग गरी दिन पनि वाग्मती प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसमक्ष विशेष आग्रह गरेका थिए ।

उक्त कार्यक्रममा प्रमुख अतिथि वाग्मती प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले हस्तकला प्रवर्द्धन र उद्यमशीलता विकासका लागि प्रदेश सरकारले सक्दो सहयोग पुर्‍याउने प्रतिबद्धता जनाए । उनले लघु, घरेलु तथा साना उद्योगका रुपमा रहेका हस्तकला उद्योगले रोजगारी सिर्जना र आय आर्जनमा खेलेको भूमिकाको प्रशंसा पनि गरे । साथै देशमा यस किसिमका उद्योगबाट रोजगारीको प्रचुर सम्भावना भएकाले प्रदेश सरकार यी उद्योग व्यवसायहरूको प्रवर्द्धनमा संवेदनशील रहेको र यसमा उपत्यकाभित्रका तीनवटै घरेलु तथा साना उद्योग कार्यालयहरूलाई सक्रिय भूमिका खेल्न निर्देशन दिए ।

उक्त अवसरमा वाग्मती प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रजनी अमात्य जोन्छे र वाग्मती प्रदेश सांसद तथा प्रदेश मामिला समिति सभापति माधव पौडेलले पनि हस्तकला क्षेत्रको विकासमा नेपाल हस्तकला महासंघको भूमिका महत्त्वपूर्ण भएकाले यस क्षेत्रको समष्टिगत विकासका लागि प्रदेश सरकारले महासंघबाट सञ्चालन गरिने प्रवर्द्धनमुखी कार्यक्रमहरू सञ्चालनमा सहकार्य गर्नुपर्ने धारणा राखेका थिए ।

उक्त कार्यक्रमका सभापति तथा वाग्मती प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीले गोष्ठीमा प्रस्तुत भएका सुझावहरू र नीतिगत तथा प्रक्रियागत समस्याहरूको सम्बोधन गर्न प्रदेश सरकारले सक्दो भूमिका खेल्ने प्रतिबद्धता जनाए । साथै उनले जिल्ला तथा वस्तुगत संघहरूको प्रतिनिधिमूलक छाता संस्था नेपाल हस्तकला महासंघसँग प्रदेश सरकारले सहकार्य गर्दा यसबाट यस क्षेत्रको प्रवर्द्धनका लागि परिणाममुखी नतिजा प्राप्त हुने विश्वास व्यक्त गरेका थिए ।

प्रस्तुत गोष्ठीमा नेपाल हस्तकला महासंघका जिल्ला संघ तथा वस्तुगत संघका अध्यक्षहरूले आफ्नो संघसँग सम्बन्धित उद्योग व्यवसायका प्रवर्द्धनका लागि आ-आफ्नो क्षेत्रका समस्या र सुझावहरू प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया