मंगलबार, पुष ८, २०८२

‘सहकारी संस्थाहरुलाई जिम्मेवार बनाउनु सवैको साझा दायित्व हो’

नेपालखोज २०७९ साउन ३१ गते १७:२८

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी संस्थाहरु आफ्ना सदस्यहरुप्रति जिम्मेवार बन्नु पर्नेमा जोड दिएकी छन् ।

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेडको ३५ औं स्थापना दिवसका अवसरमा आज (मंगलबार) आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले मुलुकको आर्थिक विकास तथा विस्तार, राष्ट्रिय पूजी निर्माण, वचत परिचालन र लगानीको लागि सहकारी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताईन् ।

मन्त्री श्रेष्ठले पछिल्लो समयमा सहकारीको संलग्न त उत्पादन, उत्पादकत्व र स्वरोजगारीको क्षेत्रमा नभई बचत तथा ऋण कारोवारमा बढी केन्द्रित हुँदै गईरहेको बताइन् । सहकारीका सिद्धान्त, मूल्य तथा मान्यता अनुसरणको कमजोर अवस्था र वितीय सुशासनको कमजोर हुदा सहकारीप्रति आमनागरिकको विश्वास र भरोसा घट्दै गइरहेको देखिएको पनि बताईन् ।

सहकारी क्षेत्रलाई मर्यादित, दिगो र विश्वसनीय बनाउनु पर्ने आवश्यकता र जिम्मेवारी आएको समयमा दोष अरुलाई देखाएर आफू पन्छिने प्रवृत्ति सहकारी अभियान्ताहरुमा देखिएको उनले बताइन् । मन्त्री श्रेष्ठले सहकारी ऐन नियमावलीमा भएका व्यवस्थाहरको पूर्ण परिपालन, सहकारी मूल्य, मान्यता र सिद्धान्तको सही परिपालनबाट मात्र सहकारी क्षेत्रको समस्या समाधान गर्न सकिने बताईन् ।

मन्त्री श्रेष्ठले अहिलेको सरकार सहजीकरण, नियमन र उत्प्रेरकको भूमिकामा आफूलाई केन्द्रित गर्दै साझेदारी प्रवर्द्धनको दिशातर्फ अघिबढीरहेको भन्दै समग्र राष्ट्रिय विकासका लक्ष्यहरु प्राप्त गर्न सहकारी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न आफू प्रतिबद्ध रहेको पनि बताईन् ।

प्रतिक्रिया