शनिबार, जेठ ५, २०८१

कोरियामा कोभिडबाट एकैदिन ७१ जनाको मृत्यु

नेपालखोज २०७९ भदौ १४ गते १२:२७

सोल । दक्षिण कोरिया, न्युजिल्याण्ड र मलेसियामा कोभिड-१९ संक्रमणबाट ज्यान गुमाउनेहरूको सङ्ख्या अप्रत्यासित रूपमा बढेको छ । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार सोमबार दक्षिण कोरियामा ७१, मलेसियामा आठ र न्युजिल्याण्डमा अनुसार ११ जनाको मृत्यु भएको छ ।

न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयले मंगलबार जनाएअनुसार अघिल्लो महिनाको तुलनामा नयाँ संक्रमितको सङ्ख्या लगातार घटेको छ । एक महिनाअघि न्युजिल्याण्डमा दैनिकरूपमा १० हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका थिए । बिरामीहरुको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच, मलेसियामा सोमबार मध्यरातसम्मको विवरणअनुसार आठ जनाले कोभिड-१९ बाट ज्यान गुमाएका छन् । हालसम्म मलेसियामा ३६ हजार दुई सय ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

दक्षिण कोरियामा भने महामारी साम्य हुने लक्षण देखिएको छैन । सोमबार एकै दिन ७१ जनाको मृत्यु भएको छ । सोमबार मध्यरात सार्वजनिक गरिएको विवरणअनुसार देशमा एक लाख १५ हजार ६ सय ३८ जना नयाँ सङ्क्रमित थपिएका छन् । हाल दक्षिण कोरियामा कोभिड-१९ संक्रमितको सङ्ख्या दुई करोड ३१ लाख ४२ हजार चार सय ७९ पुगेको सरकारी अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया