शुक्रबार, वैशाख १४, २०८१

उहिले !

कुमार खत्री २०७९ भदौ २५ गते ८:३७

नौमती बाजाका रागसँगै
जुरुकक उठ्थ्यो पहाड
मादलु घिन्ताङसँगै
सोरठी गाउँथे खोलाहरू
एकादशी बजारमा नाचेथें मैले मारुती
ढल्की-ढल्की चिहाउँथे मलाई हेर्न तरुनी
ऐले हेर त दिदी,
यो लामो लस्कर कहाँ जाँदै छ ?
ढाकरभरि पहाड बोकेर,
आँसु बग्ने कुलो खन्न,
किन झर्दै छ ओरालो ?
पहिल-पहिले,
आरा काट्न जानेहरू,
आरासँगै मुगलान भासिए
माला मधेस जानेहरु,
काला मधेस जानेहरु
उतै घरजम बसाए
अझै पनि,
टहार बारी र सिमखेत बझ्याएर
छानामाथि पिपल हुर्काउँदै
किन झर्दै छन् अधेंरीघाट
हेर त, ए… मझिनी,
त्यो ढाकरको पहाडबाट
कसले गाउँदै छ हाक्पारे धुन् !
हाम्रा बाजेहरुले,
थाप्लाको भरमा बरियो तन्काएर
तोक्माको विश्वासमा थकाइ मार्ने
ढाकरले,
कैयौंचोटि बोकेकै हुन् धरानको नुन
अझै पनि, सुनबालुवाको बगरमा
भेटिँदै छन् पुर्खाका पाइलाहरू
छाल बनेर नदीहरू सुमसुम्याउँदै छन्
पाइलाका डोबहरू !
त्यसैले होला दिदी,
मलाई चौतारीमा हरेक साँझ
साउती मार्न आउँछ बतास
समातेर हातगोडा दिँदैन सार्न पाइलाहरु
चिसो स्पर्शले, छामिदिन्छ गालाहरु
भन त दिदी,
अब मैले कसरी छोडुँ
मेरो प्यारो पहाड

प्रतिक्रिया