शुक्रबार, जेठ ४, २०८१

चलचित्र महापुरुष सम्बन्धी दुई टिप्पणी !

नेपालखोज २०७९ कार्तिक १५ गते १५:५३

अहिले सफल मानिएको चलचित्र महापुरुषका सम्बन्धमा साहित्यकार अमर न्यौपाने तथा पत्रकार कुसुम बिन्दासको दृष्टिकोण :

महापुरुष हेर्नै पर्ने सिनेमा !
अमर न्यौपाने, साहित्यकार

प्रायः महिलाका पीडामा सिनेमा धेरै बन्छन्, साहित्य धेरै लेखिन्छन् । मैले पनि सेतो धर्तीमा बालविधवाको कथा लेखेँ । महापुरुषमा विधुरको कथा छ । कथा मात्र छैन व्यथा पनि छ । कथाव्यथालाई असाध्यै कलात्मक तरिकाले घटनाक्रम र संवाद मिलाएर प्रस्तुत गरिएको छ । यथार्थवादी प्रस्तुतिसँगै केही नाटकीयता छ । विशेष गरी अन्तिमका दृश्यहरु । कहिलेकाहीँ सिनेमामा यस्तो चाहिन्छ होला।

पटकथा र संवादमा असाध्यै मिहिनेत गरिएको छ । कलाकारहरुको अभिनयले मन हल्लाउँछ । जस्तो अभिनयमा पनि अब्बल हरिवंश आचार्यको आँखामा पीडाको अभिनय सबैभन्दा शसक्त छ । उहाँको अभिनयको शक्ति आँखामा देखिन्छ । जतिखेर पनि उहाँको आँखामा हेरिरहन मन लाग्छ । मदन कृष्ण श्रेष्ठ को अभिनय स्वाभाविक र सरल लाग्छ । रवीन्द्रसिंह बानियाँको कठोर अभियन अन्तिममा उत्कर्षमा पुग्छ र उहाँले उल्टो टोपी लगाएर सिँढी झर्दै गर्दा मन हल्लाउँछ । गौरी मल्लको बोल्डनेसले छुन्छ ।

जात्रा र जात्रैजात्रा हेरेपछि प्रदीप भट्टराई जीलाई नेपालका राजकुमार हिरानी भनेको थिएँ । त्यो फेरि पनि सार्थक भएको छ । आँसु र हाँसोको दूरी टाढा हुँदैन । यो सिनेमा आँसुको कथा भए पनि हाँसको शरीर छ । आँसु मन, हाँसको तन भएको सिनेमा ।

अति अभिनय र चोरी चकारीवाला
कुसुम बिन्दा, पत्रकार

मह जोडीको अभिनयको ओज धेरै घटेछ । अचेल अली नाटकीय र कृत्रिम भावभंगीमा बढी देखिन्छ । अस्ति सिस्नो पानी नेपालमा उहाँहरुको प्रहसन पनि झुर थियो । हालै प्रदर्शित चलचित्र ‘महापुरुष’मा त झन अति अभिनयको शिकार उहाँहरू हुनुभएको पाएँ ।

चलचित्र ‘महापुरुष’को कथा र केही वर्षपहिले प्रदर्शनमा आएको हिन्दी चलचित्र ‘मेरो बाप पहले आप’को कथा करिब करिब मिल्दोरहेछ । दुवै कमेडी जनराको चलचित्र हुन् । यसैगरी मल्यालम चलचित्र ‘इस्टम’को कथालाई पनि जोडजाड गरिएको रहेछ ।

एकातिर हलहरुमा दक्षिण भारतीय चलचित्र ‘कान्तारा’को उधुम छ । आउँदो महिना हलिउड चलचित्र ‘अवतार–२’ले बजार पिट्दैछ । यस्ता उम्दा चलचित्र हेरेका हामी नेपाली दर्शक मह जोडीको अति अभिनय र चोरी चकारीवाला कथा बोकेको चलचित्र हेरेर आफुलाई ‘महापुरुष’ ठान्न विवश छौं ।

प्रदीप भट्टराईजीले एक पटक गतिलै इन्स्टिच्यूटमा गएर चलचित्र लेखन, निर्माण र निर्देशनको तालिम लिनुपर्ने देखिन्छ । सेलिब्रेटी भेटरान कलाकारलाई राख्दैमा चलचित्र उम्दा बन्छ भन्ने छैन । हाम्रा दर्शकको के कुरा, मह जोडीले हाँसे पनि, रोए पनि, नाचे पनि, खोके पनि रमाएर हेरिदिन्छन् । नेपाली चलचित्रप्रति दर्शकको यही अनुरागले मात्र हो, तपाईंहरु टिकेको ।

प्रतिक्रिया