शुक्रबार, जेठ ४, २०८१

चितवन क्षेत्र नं १ : दिग्गज भिडन्त डा. विश्व पौडेललाई सहज बन्दै !

टिका पौडेल २०७९ कार्तिक १६ गते १४:४५

प्रकृती तथा संस्कृती प्रेमी विश्व पर्यटकहरुको प्रमुख रोजाइमा पर्ने नेपालको तेस्रो पर्यटकिय गन्तव्यको केन्द्रमा पर्ने चितवन क्षेत्र नं १ को मंसिर ४ मा हुने चुनावी भिडन्त रोचक बन्दै गइरहेको छ । चुनावी दिन नजिकदै जाँदा नेपाली राजनितीका अत्यन्त चतुर खेलाडी मानिने, पटक पटक सत्ता र राजनीतिक लाभको पदमा पुगिसकेका पूर्व अर्थमन्त्री तथा निर्वतमान सांसद सुरेन्द्र पाण्डे तथा चितवनमा जन्मिएर स्कुल जीवन यही पूरा गरेर विश्व अर्थतन्त्र तथा नेपालको अर्थतन्त्रलाई सुक्ष्म विश्लेषण गर्न सक्ने खुबी भएका तथा चितवन क्षेत्र नं १ को विकासको गणित बुझेका अर्थशास्त्री डा. विश्व नाथ पौडेल बीच चुनावी प्रतिस्पर्धा हुँदैछ । दुई पटक चुनाव जितेर अर्थमन्त्री जस्तो पदमा पुगेका सुरेन्द्र पाण्डे सबै मतदाता माझ परिचित अनुहार हुन् । चितवनबाट ह्याट्रीक गर्न तम्सिएका उनी एमाले भित्र अर्थतन्त्रमा बहस गर्न सक्ने थोरै अनुहार मध्ये एक हुन् । अन्यत्रभन्दा तुलानात्मक रुपमा सचेत मतदाता भएको चितवन जिल्लामा पश्चिम चितवनले मारेको विकासको फड्को तथा प्रशस्त सम्भावना बीचमा विकासमा पूर्व चितवन पछाडि पर्नुले यो चुनाव उनको लागि फलामको चिउरा चपाए सरह हुँदैछ ।

आफै स्थानीय प्रयासमा माथि उठेको सौराहा क्षेत्र र स्व. गिरीजा प्रसाद कोइरालाको योगदानमा बनेको लोथर सौरहा तटबन्धन बाहेक सुरेन्द्र पाण्डेले देखाउने केही छैन । यो कुरा उनका परम्परागत मतदाताहरुको गुनासो हो । झण्डै दुई तिहाइको बहुमत प्राप्त एमाले भित्रको आन्तरिक समस्या, ओम्नी, यती र बालवाटार काण्डले ओली सरकारको ओज क्षिण हुदाँ उनी विचलन र ढुलमुलमा परे । सोही कारण रुष्ट एमालेको संगठित तप्का उनको पक्षमा अझै खुल्न सकेको छैन । विपक्षी भोट तान्नु पर्नेमा आफ्नै पार्टीका कार्यकर्ता समाल्नु पर्ने स्थितीले उनको चुनावी अभियान रक्षात्मक बन्न गइरहेको देखिन्छ । वाम राजनीतिक विरासतका उनी एउटा भाइ समाजवादी पार्टीमा गएर मुख्य मन्त्री बन्दा उनी एमालेमै रहनुले नेपाली राजनीतिमा आफ्नो परिवारिक बर्चस्व कायम राख्ने प्रयास भनेर ओलीलाई बा देवता मान्नेहरु सन्तुष्ट हुन सकेका छैनन् । पूर्वी चितवनको मतमा निर्णायक मत मानिने श्रमजिवी जिल्लाका मुल निवासी थारु समुदायको सामूहिक उत्थान लागि कुनै प्रष्ट देखिने कार्यक्रम दिन नसक्नुले सुरेन्द्र पाण्डेको चुनावी रौनक विगतमा जस्तो देखिदैन ।

पूर्वदेखी पश्चिमसम्म विश्वको जुनसुकै विश्व विद्यालयमा आफ्नो बौद्धिकता बेचेर आरामदायी विलासी जिवनयापन गर्ने सामर्थ हुदाँहुदै अर्थविद् विश्व पौडेले नेपाली माटोले लगाएको ऋण तिर्न स्वदेश रोजेका छन् । पौडेल आम युवा माझ बौद्धिक व्यक्तित्व भनेर परिचित छन् । छोटो समय राष्ट्रिय योजना आयोगमा रहेर यस क्षेत्रमा दिर्घकालीन महत्वको कार्य गर्न सफल हुनुले उनको यस क्षेत्रमा ओजपूर्ण उपस्थिती देखिन्छ । पूर्वी चितवनको जैविक विविधताको लागी वरदान तथा मानव बसोवासको लागि प्रमुख समस्या रहेको नदीनालको व्यवस्थित तटबन्धनमा बजेट छुट्याउन सफल हुनु, पूर्व पश्चिम राजमार्गको चितवन खण्डको ४/६ लेन सडक योजनामा समेटिनु, पूर्वी चितवनको लोथरदेखि चितवनसम्मको भूभागलाई विश्व स्तरीय पर्यटक मार्गको परिकल्पनासहितको कार्यको सुरुवातले उनलाई आफू राजनितीमा आउनुको उद्देश्य देखाउन मद्दत गरेको देखिन्छ ।

राजनितिक बहसमा उनले यस पर्यटन मार्गले थारुजाती र थारु संस्कृतीको विकासको लागि महत्वपूर्ण योगदान दिने, पर्यटन मार्गसँगै बन्ने थारु होम स्टेले पर्यटक बसाइ लम्बिएर नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने, पहाडी भेगका चेपाङ्गहरुको विकासका लागि चेपाङ्ग मार्ग तथा पहाडी पर्यटनको अवधारण बारम्बार उठाइ रहेका छन् । स्वच्छ पानी स्वच्छ नदीनाला, मानव तथा जंगली जीव जन्तुको भविष्यको लागि अपरीहार्य व्यवस्थित ढल तथा ढल प्रशोधनको अवधारणा सहितको पर्या पर्यटकिय (इको) शहरको रेखाचित्रको लागि विश्व पौडेलले गरेको प्रयासको लागि यहाँका सर्वसाधरणदेखि बौद्धिकवर्ग उनी प्रति सकारात्मक हुनुले चुनाव केही सहज बन्दै गएको देखिन्छ । चितवनबाट काठमाडौ जोडन ६३ किलोमिटर बाटो छोटो बनाउने शक्तिखोरबाट शुरुहने सुरुङ्गमार्ग निमार्णको सम्भाव्यता अध्ययन र निर्माण देशलाई दूरगामी प्रभाव पार्ने योजना उनका लेखहरुमा देख्न पाइन्छ । उनी यसको पायोनिएर बनेका छन् ।

सादगी पूर्ण जिवनमा विश्वास गर्ने यही हुर्केको स्थानिय युवा हुनु, कांग्रेसको गुटगत राजनीतिबाट टाढा रहनु तथा छोटो समयमा नै राष्ट्रिय राजनितिमा आफ्नो उपस्थिति देखाउन सक्नु डा. विश्व पौडेलको सबल पक्षहरु हुनु । एमाले विभाजनको दोष लिएर एमालेमै रहनु, दुई पटक निर्वाचित हुँदा पार्टीको अन्तरीक खिचातानिले यस क्षेत्रमा खासै उपलब्धी पूर्ण कार्य गरेर देखाउन नसक्नु सुरेन्द्र पाण्डेको दुर्बल पक्ष हुन । पुष्पकमल दाहालको गोरखा पलायन पछि सर्वाधिक चासो साथ हेरिएको चितवनको क्षेत्र यही हो । देशको अर्थतन्त्र असहज भएको वर्तमान अवस्थामा आगामी ५ वर्षका सम्भावित अर्थमन्त्रिहरुको चुनावी भिडन्त बाजी कसले मार्ने हुन् यो हेर्न हामीले मंसिर ४ नै कुर्नु पर्छ । भिजन सहितको युवा खोज्ने अहिले देशव्यापी बन्दै गएको अभियानले आम मतदाता र युवाको मनोविज्ञानमा युवा अर्थशास्त्री डा. विश्व पौडेलको पक्षमा पर्ने देखिए पनि राजनीतिक सरल रेखामा नहिड्ने हुँदा पौडेल र पाण्डे बीचको प्रतिस्पर्धा रोचक बन्ने निश्चित छ । बाजी नयाँ वा पुरानो अनुहार जसले मारे पनि भोलिको उज्वल नेपाल निमार्णमा चितवन क्षेत्र नं १ ले प्रभाव छोड्ने नै छ। देश भरका सबै मतदाताहरुमा अहिले खडा भएका उम्मेदवारबाट नै राम्रो व्यक्ति छान्ने भन्दा अर्को विकल्प छैन । नेपालको राजनीतिमा अक्सर भनिने तोस्रो श्रेणी (थर्ड डिभिजन), तेस्रो पुस्ता (विरासतवाल), तेस्रो परिक्षार्थी (अरुलाई परिक्षा दिन लगाएर पास हुने) हरुको बोलबला भएको अहिलेको समयमा उत्कृष्टहरु सधैँ विदेशिने तथा सामजिक सञ्जालमा असन्तुष्टी मात्र पोख्ने प्रवृतीलाई रोक्न डा. विश्व पौडेल जस्ता अब्बल दर्जाको युवाको प्रयोग कति प्रभावकारी देखिन्छ चितवन क्षेत्र नं १ का जनतामा निर्भर रहनेछ । नयाँले पुरानोलाई प्रस्तिथापन गर्ने, सबल र सक्षमको उपस्थिती देखिने सनातन विज्ञान हो । राम्रो र हाम्रो बिचको छनोटमा दिन मंसिर ४ मा सबैले आफ्नो बुद्धि विकेकको सफल प्रयोग गर्ने नै छन् । लोकतन्त्र संस्थागत र मर्यादित बनाउन तथा नेपालको देखिने र अनुभव गर्न सकिने विकासको लागि यस चुनावले महत्वपुर्ण योगदान दिन सामर्थका साथ बौद्धिक पलायन र श्रमको पलायन रोक्न सकोस् दुवै उम्मेदवारहरुलाई जितको अग्रिम शुभकामना ।

प्रतिक्रिया