हवाई ट्याक्सीको उडानमा होड

काठमाडौं । गत बिहीबार पेरिसमा फ्लाइङ ट्याक्सीको पहिलो परीक्षण गरिएको थियो । यो इलेक्ट्रिक हेलिकप्टरले पेरिस नजिकै पहिलो उडान गरेको थियो । यो भोलोकोप्टर आठ वटा पखेटा भएको विशाल ड्रोन जस्तो देखिन्छ। परीक्षण उडानका क्रममा यो फ्लाइङ ट्याक्सीमा यात्रु पनि सवार थिए ।
उनीहरू पेरिस बाहिर पोन्टोइस(कोर्मेलिस एयरपोर्टबाट उडेका थिए र वरपरको क्षेत्रको चक्कर लगाएर फर्किएका थिए । जर्मन कम्पनी भोलोकोप्टरका सीईओ डर्क होकले आगामी १८ महिनामा आफ्नो गाडी दर्ताका लागि तयार हुने बताए । उनले सन् २०२४ को पेरिस ओलम्पिक खेलकुदमा छोटो दुरीको व्यवसायिक उडान सुरु हुने आशा समेत व्यक्त गरे ।
यो कम्पनी आफ्नो दुई सिटर गाडी पूर्ण रूपमा अटोमेटिक बनाउन चाहन्छ तर, त्यसका लागि अझै धेरै काम गर्न बाँकी रहेको होके स्वीकार गर्छन् । यसमा सुविधाहरू विकास गर्नेदेखि एयरफिल्डलाई यी सुविधासँग जोड्ने र जनताको स्वीकृति प्राप्त गर्ने चुनौती पनि समावेश छन् । पेरिसको उडानमा रहेका पाईलट पल स्टोनले यो फ्लाइङ ट्याक्सी चलाउन निकै सजिलो भएको बताए । डिजिटल फ्लाई बाई वायर सिस्टम र आठ वटा पखेटा भएकाले यो ट्याक्सी परम्परागत हेलिकप्टरको तुलनामा निकै सहज भएको उनको अनुभव छ ।
अहिले विश्वका धेरै कम्पनीहरू उडान ट्याक्सी सुरु गर्ने पहिलो हुन प्रतिस्पर्धा गरिरहेका छन् । यी कम्पनीमा लिलियम, जोबी एभिएसन तथा एयरबस पनि छन् । सबै कम्पनीले जतिसक्दो चाँडो उडान-ट्याक्सी सेवा सुरु गर्न पहल गरिरहेका छन्, जसका लागि प्रमाणपत्र लिने काम तीव्र गतिमा भइरहेको छ ।
पेरिस भन्दा पहिले, विश्वका अरु थुप्रै शहरमा उडान ट्याक्सीको परीक्षण उडा सम्पन्न भैसकेको छ। यस्ता परीक्षण बर्लिन, ब्राटिस्लाभा, बेइजिङ, टोकियो, दुबई तथा मेलबर्नमा भएका छन् । दुबईमा, भोलोकोप्टरले तीन वर्ष पहिले नै परीक्षण गरिसकेको थियो । हालै चिनियाँ कम्पनी एक्सपेङले आफ्नो पहिलो उडानका लागि दुबईलाई रोजेको छ । कम्पनीका महाप्रबन्धक मिङगुआन क्यूले आफ्नो हवाई कारमा अनुसन्धान जारी रहेको र कम्पनीले पहिलो उडानका लागि दुबईलाई रोजेको बताए ।
गएको जनवरीमा, स्लोभाकिया सरकारले उड्ने कारको मोडेल एयरकारलाई हवाइ योग्यकन रूपमा प्रमाणित गर्ने प्रमाणपत्र जारी गर्यो । यसको अर्थ कारलाई व्यावसायिक उत्पादनतर्फ लान सकिन्छ भन्ने हो । यो कार क्लाइनभिजन नामको कम्पनीले डिजाइन एवं निर्माण गरेको हो । -रोयटर्स

प्रतिक्रिया