मंगलबार, वैशाख ११, २०८१

महिला हिंसा बिरुद्ध स्कुलमा नाटक

नेपालखोज २०७९ मंसिर १२ गते १२:५६

काठमाडाैं । नेपाली समाजमा महिलाले भोगेका धेरै किसिमका हिंसाका बारेमा चेतना बढाउनका लागि नाटक ‘अभिप्सा’ विभिन्न स्कूलमा देखाउने तयारी गरिएको छ। दृश्य सादृश्य नामक नाट्य समूहले यो कचहरी नाटक तयार गरेको हो। नेपाली समाजमा महिला आधा आकाश ओगट्ने भनिए पनि अधिकारबाट वञ्चित हुनु परेकोले हिंसा बढेर गएको दृश्य सादृश्यले जनाएको छ।

दृश्य सादृश्यका अनुसार छोरीलाई स्वतन्त्र अस्तित्व भएको नागरिकको रूपमा नलिने प्रथाले गर्दा सही र न्यायपूर्ण प्रतिनिधित्व अझै हुन सकेको छैन। महिलामाथि हेराइमा, बोलीमा र क्रियाकलापमा हिंसा हुने गरेको छ। यसैलाई मनन गर्दै महिला अब कमजोर छैनन् भनेर समाजलाई देखाउन लैङ्गिक हिंसा विरुद्धको १६ दिवसीय अभियान कचहरी नाटक हुने भएको छ।

यो नाटकले हाम्रो समाज, गाउँ , ठाउँ र परिवार भित्रै हुने हिंसाका विभिन्न किस्साहरू देखाउने छ। नाटक आफैमा स-शक्त हुन्छ। यस नाटकका पात्रहरूले पनि स-शक्त भुमिका निभाएका छन्। उक्त नाटकका लेखक सालिक भण्डारीका अनुसार, कचहरी नाटक अभिप्सा सामाजिक विषयवस्तुमा आधारित हाम्रै समाजको कथा हो। उनले हामीले देखेका भोगेका कथा नै नाटकमा प्रस्तुत गरिएको बताएका छन ।

नाटकका निर्देशक सरस्वती अधिकारीले अभिप्सालाई काठमाडौंका विभिन्न विद्यालयहरूमा देखाइने जानकारि दिईन । उनले नाटकले महिला भएकै आधारमा महिलामाथि हुने विभेदलाई देखाउन खोजेको समेत बताइन । यो नाटकमा सुवास सुवेदी, सुशील सिंह ठकुरी, सगुन पोख्रेल, शान्ति भट्टराई, सरस्वती अधिकारी, अस्मिता ढकाल, कुलदीप अधिकारी, रामकुमार थामी , उन्नत उप्रेती आदि कलाकारहरूले अभिनय गर्दैछन ।

श्रोत : आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया