शुक्रबार, वैशाख १४, २०८१

हतियार बिक्रीमा लगातार बृद्धि

नेपालखोज २०७९ मंसिर २१ गते १५:२८

काठमाडौं । सन् २०२१ मा विश्वमा हतियार बिक्रीमा लगातार सातौं वर्ष वृद्धि भएको थियो। हतियारको खरिद बिक्रीको अनुगमन गर्ने स्विडिस संस्था सिप्रीले हतियार निर्माताहरुका अगाडि पनि केही चुनौती रहेको बताएको छ ।

स्टकहोम पिस रिसर्च इन्स्टिच्युट, सिप्रीले सन् २०२१ मा विश्वव्यापी हतियारको बिक्रीमा करिब दुई प्रतिशतले वृद्धि भएको जनाएको छ । हतियारको बिक्री बढेको यो लगातार सातौं वर्ष हो । सिप्रीको प्रतिवेदनमा युक्रेन युद्धका कारण गत वर्ष हतियारको बिक्रीमा उल्लेख्य वृद्धि आएको कुरा बताइएको छ । यता यो उद्योगका लागि कच्चा पदार्थको प्रमुख आपूर्तिकर्ता रुस भएकाले युद्धका कारण हतियार उत्पादकहरूको आपूर्ति शृङ्खला टुटेकाले उनिहरु पनि संकटमा परेको सङ्केत समेत पाइएको छ । सिप्रीक‍ो अनुमान छ – आपूर्ति श्रृंखलामा आएको अवरोधले हतियार निर्माणमा असर पार्न सक्छ तथा अमेरिका र युरोपले उनीहरूको भण्डारलाई अझ बलियो बनाउने प्रयास गर्नेछन । दुबै पक्षले युक्रेनलाई अर्बौं डलरको हतियार तथा गोलाबारुद आपूर्ति गर्दै आएका छन्।

“हतियार उत्पादन बढाउन समय लाग्छ। यदि आपूर्ति श्रृंखलाको अवरोध जारी रह्यो भने, युक्रेन युद्धले सिर्जना गरेको माग पूरा गर्न हतियार उत्पादकहरूलाई वर्षौं लाग्न सक्छ,” सिप्रीका वरिष्ठ अनुसन्धानकर्ता डिएगो लोपे सदा सिल्भा भन्छन् । सन् २०२१ मा ५ सय ९२ अर्ब डलर बराबरको हतियार बिक्री भएको थियो, जुन २०२० को तुलनामा १ दशमलव ९ प्रतिशतले बढी हो। यद्यपि यो कोविड अघिको चार वर्षको समग्र औसतभन्दा कम हो। गएको सोमबार प्रकाशित यो प्रतिवेदनमा हतियार उद्योगका धेरै भागहरू महामारी तथा युद्धका कारण अवरोधहरूसँग जुधिरहेको कुरा उल्लेख गरिएको छ जसमा अत्यावश्यक पार्टपुर्जाको अभाव तथा विश्वव्यापी यातायातको रोक समेत समावेश छ ।

ठूला कम्पनीहर : सिप्रीले हतियार वा सेवा प्रदान गर्ने विश्वका १०० ठूला कम्पनीहरूको सूची पनि तयार पारेको छ। तीमध्ये सबैभन्दा बढी ४० वटा कम्पनी अमेरिकामा छन्, जसले २०२१ मा २ सय ९९ अर्ब डलरको हतियार बेचेका छन् । उत्तरी अमेरिकाको हतियार बिक्रीमा भने 0 दशमलव ९ प्रतिशतको गिरावट आएको छ । संसारका सय ठूला हतियार आपूर्तिकर्ता मध्ये २७ वटाको मुख्यालय युरोपमा छ। सन् २०२० को तुलनामा यस क्षेत्रबाट हतियारको बिक्री ४ दशमलव २ प्रतिशतले बढेर कुल १ सय २३ अर्ब डलर पुगेको छ । फ्रान्स र इटालीले रेकर्ड १५ प्रतिशत बढी हतियार बेचेका छन्, जुन अहिलेसम्मकै उच्च वृद्धि हो।

एसिया तथा ओशिनियाका २१ वटा कम्पनी शीर्ष १०० कम्पनीमा पर्छन्। ती कम्पनीहरूले १ सय ३६ अर्ब डलर बराबरको हतियार बेचेका थिए जुन गत वर्षको तुलनामा ५ दशमलव ८ प्रतिशतले बढी हो । यी सय कम्पनीमध्ये ६ वटा रुसका हुन् जसले १७ दशमलव ८ बिलियन डलरको हतियार बेचेका छन्, जुन २०२० को तुलनामा ० दशमलव ४ प्रतिशत बढी हो।

स्रोत: रोयटर्स / एपी

प्रतिक्रिया