उपत्यकाको खानेपानी समस्या दीर्घकालिन रुपमा समाधान गर्छौ : मन्त्री चौधरी

नेपालखोज २०७९ मंसिर २३ गते १३:५१

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले उपत्यकाको खानेपानी समस्याको दीर्घकालीनरुपमा समाधान गरिने बताएका छन् । महाँकालचौरमा आज भएको तेस्रो चरणको मेलम्ची खानेपानी पुनः वितरण कार्यक्रममा मन्त्री चौधरीले काठमाडौँमा अस्थायीरुपमा भए पनि १२ महिना नै पानी वितरण गर्ने दाबी गरे । ‘हामीले पटक-पटक पानी पुनः वितरण गर्नु नपरोस्, हामीले यसलाई दीर्घकालीनरुपमा समाधान गर्नेछौँ,’ उनले भने ।

उनले विज्ञहरुको सल्लाह सुझाव लिएर विगतमा पानी बन्द गरिएको र अहिले बर्षात सकिएपछि पानी वितरण गरिएको बताउनुभयो । वाग्मतीको पानी मेलम्चीको ट्रिटमेन्ट प्लान्टमा ल्याएर वितरण गरेको स्मरण गर्दै मन्त्री चौधरीले विकल्पको रुपमा याङ्ग्री, लार्के, सिस्नेरी, महादेव र ठोस्ने खोला निरीक्षण गरेर मेलम्चीको विकल्पको रुपमा पानी खान सकिने धारणा राखेका थिए। त्यसको लागि आफ्नै कार्यकालमा यसको काम अगाडि बढ्ने उनको भनाइ थियो ।

खानेपानी मन्त्रालयका सचिव मणिराम गेलालले बाढीको कारणले बाटोमा समस्या भएका कारण पानी पुनः वितरण कार्यमा केही ढिला भएको जानकारी दिए । उनले आगामी दिनमा मेलम्ची खानेपानी विगतमा जस्तो बर्सात लाग्ने समय भयो भनेर ज्येष्ठमा बन्द गर्नुपर्ने र हिउँद पर्खेर पानी पुनः खोल्नुपर्ने समस्याको दीर्घकालीनरुपमा समाधान गरिने बताए ।

उनले खानेपानीका लागि तत्काल गर्नुपर्ने कुनै पनि काममा मन्त्रालय सहयोग गर्न सधैँ तयार रहेको जानकारी दिए । केयुकेएलका उपकार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्कीले काठमाडौं उपत्यकाभित्रका १० वटा पानी भण्डारण पोखरीमा पाँच करोड ८३ लाख लिटर पानी भण्डारण गर्ने क्षमता रहेको जानकारी दिए । उनले नयाँ र पुरानो पाइपलाइन मर्मत गर्दै आलोपालो पानी वितरण गर्नेसमेत जनाए ।

मेलम्ची खानेपानी निर्देशनालयका कार्यकारी निर्देशक राजेन्द्र सापकोटाले उपत्यकाभित्र हाल नयाँ पाइपमार्फत पानी वितरण हुने बताए । उनले उपत्यकाभित्र कूल एक हजार १० किलोमिटर पाइपलाइन रहेको बताउँदै पुरानो पाइपलाइन केही महिनाभित्र मर्मत गर्ने जनाए ।

प्रतिक्रिया