‘जीवनभरि तपाइँले गरेको सलामको इज्जत राख्छु’

काठमाडौं । माननीय उप–प्रधान तथा गृहमन्त्री रवि लामिछानेले शनिबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमण गरी सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
निरीक्षण भ्रमणको क्रममा उप–प्रधान तथा गृहमन्त्री लामिछानेले संगठनमा रहँदा नजिक र पराई तथा भित्र र बाहिर भन्ने प्रवृत्तिलाई हटाई म्याण्डेटअनुसार काम गर्नुपर्ने बताउँदै विगतमा भएका कमजोरीहरुलाई सुधार्दै लैजाने र प्रशासनिक एवं व्यवस्थापकिय पक्षमा शुन्य कमजोरीकासाथ कार्यसम्पादन गर्न निर्देशन दिए ।
तराईको चर्को गर्मीदेखि हिमालको ओलाङ्गचुङगोला र छाङगरुको कठ्याङग्रीदो चिसो सँगै तैनाथ भएका अधिकृत तथा जवानहरुको बसाईका लागि भौतिक पूर्वाधार कमजोर हालतमा रहेको बताउँदै आवश्यक पूर्वाधारसँगै थप व्यावसायिक बनाउन आफ्नो क्षमताले भ्याएसम्म लाग्ने प्रतिवद्धता व्यक्त गर्दै उनले भने, ‘नागरिकको जनधनको सुरक्षा गर्ने नेपाल आमाका बीर सपुत तपाईहरुलाई सलाम छ, मेरो कार्यकालभरी मात्र हाेइन जीवन कालभरि तपाईँले गरेको सलामको इज्जत राख्ने छु ।
जागिर गर्नु भनेको मातृभूमिको सेवा गर्ने अवसर समेत रहेको तथा युद्ध गरेर वा सहिद भएर मात्र देशभक्ति नहुने बताउँदै उप–प्रधान तथा गृहमन्त्री लामिछानेले भने, ‘अधिकतम गर्मी वा चिसो ठाउँमा खटिएर अनवरत गर्ने खबरदारी र ड्यूटि वास्तवमा देशप्रतिको सेवा र राष्ट्रभक्ति हो । उनले मनमा जहिले पनि हामी थोरै छाैं तर पनि विशेष छौँ त्यसैले त ‘बल’ हो, भन्ने कुरालाई हरेक कर्मचारीले हृदयमा राखि सोही अनुसार कार्यसम्पादन गर्न सकियो भने हामी पनि भन्ने छौ ‘हामीसंग बल छ, त्यसैले त हामी बलिया छौ, हामी जे गर्ने छाैँ राम्रो गर्ने छौ, कानुन सम्मत गर्ने छौ, आफ्ना लागि मात्र हाेइन जनताका लागि गर्ने छौ र राष्ट्रका लागि गर्ने छौ भन्ने भावना लिएर अगाडी बढ्नु जरुरी रहेको बताए ।
उप–प्रधान तथा गृहमन्त्री लामिछानेले सरकार बलियो हुनु भनेको जनताले विश्वास गर्नु हो, भरोषा राख्नु हो, त्यसैले सुरक्षा फौजसँग साधारण नेपालीले आँखा जुधाएर कुरा गर्न सकोस् तर कानुन विपरीत कृयाकलाप गर्ने सधै डराओस् र कहिल्यै शीर नउठाओस् भन्ने हामी सबैको चाहना रहेको बताए ।
उनले सेवामा रहँदा सरुवा र बढुवाको विषयले धेरै राष्ट्रसेवकहरुको मन अमिलो भएको हुन सक्छ भने केहि घमण्डको गुलियो र हिनतावोधको कारण एकै ठाँउमा कार्यगर्दा व्यावसायिक क्षमतामा ह्रास आउन सक्ने भएको हुँदा सरुवा, बढुवा लगायतका कार्यहरु क्षमता, व्यावसायिकता, नैतिकता र ज्ञानमा आधारित रही सम्पादन गरिने समेत बताए ।
धन्यवाद ज्ञापनको क्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्पूर्ण राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई पेशागत प्रशिक्षणद्वारा व्यावसायिक, नैतिक र चरित्रवान बनाई राज्यप्रदत्त जिम्मेवारीहरुलाई प्रभावकारी रुपमा निर्वाह गर्दै आईरहेको बताउँदै नागरिकको सेवा, सुरक्षा, सहयोग र आपद् विपद्मा परेकाहरुको उद्वार तथा सीमानाको सुरक्षार्थ दरिलो खम्बा बनेर अहोरात्र परिचालित रहँदै आएको बताए ।
उनले आन्तरिक प्रशासनलाई प्रणालीगत गर्दै निश्चित पद्धतीमा संगठनलाई चल्ने अवस्था श्रृजना गर्नको लागि पारदर्शीता र जवाफदेहिता सहितको पूर्वानुमानयोग्य सरुवा, बढुवा, कमाण्ड, तालिम, यूएन मिशन तथा कल्याणकारी कार्यक्रम एवं विभिन्न अवसरहरुलाई न्यायसंगत वितरणको प्रक्रिया थालनी गरिएको बताए ।

प्रतिक्रिया