वर्षमान पुनको कलेजो प्रत्यारोपण गर्न सुझाव

नेपालखोज २०७९ माघ ४ गते १४:१०

काठमाडाैं । चिकित्सकहरूले नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनलाई कलेजो प्रत्यारोपण गर्नुपर्ने सुझाव दिएका छन् ।

कलेजो ८५ प्रतिशतभन्दा बढी बिग्रिइसकेको हुनाले उनको अबको उपचार प्रत्यारोपण नै रहेको सुमेरु सिटी अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ प्राध्यापक डा‍‍.युवराज शर्माले जानकारी दिए ।

नेता पुन हाल ललितपुरको सुमेरु अस्पतालमा उपचाररत छन् । विगत १२ वर्षदेखि पुनको उपचार गर्दै आइरहेका डा. शर्माले भने–‘उनको कलेजोमा कमजोरीपन देखिएको छ । पेटमा आइसकेको हुनाले प्रत्यारोपण नै राम्रो विकल्प हो ।’

डा. शर्माका अनुसार नेपालमा कलेजो प्रत्यारोपण त्यति सहज नभएकाले भारत वा चीनमा कहाँ गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए । ‘कता प्रत्यारोपण गर्ने भन्ने छलफल भइरहेको छ । नेपालमै पनि हुन्छ तर दक्षताको पनि कुरा छ। सर्पोटिभ ट्रिटमेन्ट विदेश र यहाँ फरक छैन । नेपालमै उपलब्ध छ,’ उनले भने ।

पुनले यसअघि थाइल्यान्ड र चीनमा उपचार गराउँदै आएका थिए । केही दिनअघि उनी आफ्नो निर्वाचन क्षेत्र रोल्पामा पुगेका थिए । त्यहाँ कार्यक्रमकै सिलसिलामा उनलाई अहसज भएपछि हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया