सोमबार, माघ २३, २०७९

तामाकोसीको भँगालोमा कान्छी मायाको पौंठेजोरी

कृष्ण तिमल्सिना २०७९ माघ ७ गते १३:५१

काठमाडाैं । तामाकोसी नदीमा पानीको बहाव कहिले बढ्छ पत्तो हुँदैन। हिमालको हिउँ पग्लिएपछि तामाकोसीको बहाव बढ्छ। हिमाली खोला खोल्छामा आउने वर्षे भेलले पनि कोसीमा पानीको सतह बढिरहेको हुन्छ। जब कोसीमा पानीको बहाव बढ्छ– तटीय क्षेत्रमा एकोहोरो खतराको सूचक साईरन बज्न थाल्छ। किनकी तामाकोसी नदी, कैयौं जोखिमयुक्त हिमतालको पानीमा निर्भर छ।


दोलखा, बैतेश्वर गाउँपालीका बुस्ति की ६५ वर्षीया कान्छी माया तामाङ… कोसीको भेल, स्थानीय प्रशासनको अवरोध र संभावित बाढीको जोखिम छल्दै सबेरै तामाकोसीको भँगालोमा पस्नुहुन्छ। अहिले पानी नपर्ने र नदीमा भेल नआउने मौसम भएकाले प्राकृतिक रूपमा उहाँलाई कत्ति पनि त्रास छैन। खोला भित्र पसेर बालुवा निकाल्दा चिसो हिमाली पानीले हात गोडा कटक्कै पार्छ नि, तप तप पानी चुहिरहेको बालुवाको थुन्छे बोकी रहनुभएकी तामाङले भन्नुभयो– चिसो भन्दा बढी घुमुवा प्रहरीको डर हुन्छ।


झरी नपर्ने मौसममा कोसीमा पानीको बहाव कम हुन्छ। पर परसम्म गएर बालुवा झिक्न पाइन्छ। त्यसैले मौसम सफा भएको दिन कान्छी तामाङको मन बिहानैदेखि गदगद हुन्छ। बिहान झिसमिसे नहुँदै ओढ्ने प्लाष्टिक, थुन्से र बेल्चा बोकेर खोलामा पुग्नु तमाङको दिनचर्या हो। यो चिसोमा पनि, खोलामा आधा शरीर डुबाएर बालुवा निकाल्न उहाँलाई अलिकति पनि डर लाग्दैन। मौसम सफा भएको दिन ९० भारीसम्म बालुवा निकाल्छु, उहाँले भन्नुभयो प्रहरी प्रशासन नआएको दिन पूरै काम गर्न पाउँदा त ‘संसार जिते’ जस्तो लाग्छ। तामाकोसीको भँगालोमा २५ वर्ष बिताइ सक्नुभएकी कान्छी तामाङले भन्नुभयो। हामी तामा कोसीको पुलसँगैको बगरमा तामाङलाई अलमल्याई रहेका छौं तर उहाँमा प्रहरी नआएको मौकामा बालुवा निकाल्ने हतारो मात्रै छ।


बर्खायाममा खोलामा बाढी उर्लेपछि प्रशस्तै बालुवा पाइन्छ तर कोसीमा डुबेर बालुवा निकाल्न सकिन्न। त्यसैले धेरैजसो बाढी रोकिना साथ जोखिम मोलेर कोसीको भँगालोमा पस्छन्। उमेरले ६५ वर्ष काटेको भए पनि कोसीमा पसेर तप–तप पानी चुहिएको चिसो बालुवा थुन्छेभरि बोक्नु तामाङको बाध्यता हो। ‘बालुवा बेचेरै बाँच्नुपर्ने बाध्यता छ, हामीजस्ताका लागि के हिउँद के बर्खा ? बाढी आओस्, झरी परोस् तर यो बगरमा हाम्रो मजदुरीमा लात हान्ने प्रहरी कहिल्यै नआओस्। तामाङको पीडा छ। किनकी पटके घुमुवा प्रहरीले यी मजदुरसँग महिनावारी असुल्छ र समयमा पैसा नदिनेलाई पक्रेर लैजान्छ।


यो तामाकोसीको बगर झट्ट हेर्दा बगर मात्रै हो तर यहाँका कान्छी तामाङहरूका लागि यही बगर जिन्दगी हो। यही कोसीले कान्छी तामाङहरूलाई धेरै पटक घरबारविहीन पारेको छ। हेर्दा हेर्र्दै कोसीमा बालुवा खोज्न पसेकाहरू भँगालोमा हराएका छन् तर बाध्यताः बालुवा खोज्न यही ज्यानमारा कोसीको भेललाई कान्छी तामाङहरूले अन्नदाता सम्झेर पच्छ्याइ रहेका छन्। ज्यान हत्केलामा राखेर पेटको जोहो गर्नेहरू तामाकोसीको बगरमा बाक्लै देखिन्छन्।तामाकोसीको भँगालोमा जोखिम मोलेर रमाउन बानी परेकी स्थानीय २४ वर्षिया रश्मीला थामी…। गर्भवती अवस्थामा पनि रश्मीला, तामाकोसीको भँगालो पस्न छाडेकी छैनन्। श्रीमान् सुजन थामी पनि यही तामाकोसीबाट निकाल्ने बालुवा बेचेर घरखर्च चलाइरहेका छन्।


सुजन र रश्मीलाका दुई सन्तान….आयुस र सुरानी….। यही बगरमा चिसो पानी र बालुवामा खेल्दा खेल्दै हुर्किसके। दोलखाको भिमेश्वर नगरपालिका सुर्केबाट अहिले तामाकोसी बसाइसरेका सुजनका छोरा आयुष पढाइमा निकै सिपालु छन्। पढ्दै नपढी परीक्षा दिन्छ– सँधै कक्षामा पहिलो हुन्छ, पसिना पुछ्दै सुजनले सुनाए। सुर्केको स्कुलमा झगडा गरेर, साथीभाई कुटेर हैरान बनायो, त्यसैले यही छोराको भविष्यका लागि हामी अहिले तल झरेका छौं….। ट्रकमा बालुवा लोड गरिरहेका सुजनले छोरालाई देखाउँदै भने तर राम्रो पढ्छ, हिसाबमा तगडा छ…। ८ वर्षीय छोरा आयुष नजिकै, बाबु आमाले दिनभरि चिसो पानीमा पसेर बोेकेको बालुवा बेचेर कमाएको पैसा गनिरहेका छन्। पढ्नुपर्छ, खानु पर्छ यो जाबो बालुवा बेचेर कति कमाइ हुन्छ र ? पुलिस आएर लखेट्छ, गाउँपालिकाका सरहरू पैसा उठाउन आउँछन्, ८ वर्षका आयुषले बगरमा खेल्दा खेल्दै देखेको र भोगेको अनुभव सुनाए। उनको हातमा हजार हजारको ५ वटा नोट थिए।


सुजन थामी दम्पतीलाई पनि कान्छी तामाङलाई जस्तै तामाकोसीको भँगालोमा पसेर बालुवा निकाल्ने बानी परिसकेको छ। जब कोसीमा ठूलो बाढी आउँछ, थामीको परिवार थुन्छे र बेल्चा बोकेर कोसी पस्छ। बाढी आएपछि अथवा बिहान सबेरै खोलाबाट बालुवा निकाल्न सजिलो हुन्छ, थामीले सुनाए, रातभरि जम्मा भएको बालुवा निकाल्न पाइन्छ। पुलिसले दुःख दिएन भने हामी दिनमा सय थुन्छेसम्म बालुवा निकाल्छौं। गाउँपालिकाले बालुवा तथा अरु उत्खननजन्य पदार्थको नयाँ ठेक्का नलगाएसम्म यी मजदुरहरू यसैगरी बालुवा बेचेर बाँच्छन्। ठेक्का लागेपछि बगरमा लोडर र ट्रिपर पस्न थाल्छ।

हामी एक घनमिटर बालुवा बराबर पालिकालाई ३२० रुपैयाँ कर तिरिरहेका छौं–तर प्रहरीले लखेट्छ। गर्भअवस्थामा शरीरलाई धपेडी हुने काम गर्नुहुँदैन भन्ने मान्यतालाई बाध्यताको बर्कोले छोपेर अहोरात्र कोसीको भँगालोबाट चिसो बालुवा बोकी रहेकी रश्मिला थामीले भन्नुभयो– छोराछोरीको शिक्षादीक्षा र पालनपोषणका लागि खर्च जुटाउन यो सब गरिरहेको छु। यो मेरो बाध्यता हो। श्रीमान् एक्लैको कमाइले खान लाउन र बच्चालाई पढाउन सकिन्न। तामाकोसीको व्यस्त बजार २०७२ सालको विनासकारी भूकम्पपछि सुनसान छ। यहाँ जसोतसो अस्थायी टहरो बनाएर गुजारा चलाइरहेकाहरू तटीय क्षेत्रमा खतराको सूचक साईरन बजेपछि सबथोक छाडेर भाग्छन् तर जोखिम कै बीचमा, पुस्तौंदेखि यही थलोमा यस्तै कर्ममा रमाइरहेकाहरूसँग आम्दानीको अर्को स्रोत छैन।

बालुवा बेचेरै परिवार धान्दै आएकी कान्छी तामाङ जस्ता थुप्रै विपन्न समुदाय तामाकोसीको भँगालो भित्रबाट बालुवा जोहो गरिरहेको देखिन्छ। यी मजदुरहरू– राम्ररी बालुवा निकाल्न पाए वर्षमा तीन लाख रुपैयाँसम्म कमाइ हुने बताउँछन्। त्यही कमाइले धेरैले उच्च शिक्षा लिइरहेका छन्। सार्वजनिक बिदाको दिन, बालुबा बेचेरै उच्च शिक्षा आर्जन गरेका र सानोतिनो रोजगारी गरिरहेकाहरू समेत बालुवा निकाल्न निस्कन्छन्। कान्छी तामाङसँगै तामाकोसीमा बालुवा निकालिरहेका तारा चोङ्बाङले थपे– बालुवा मेरो विगत हो। यही बालुवा बेचेर उच्च शिक्षा पढें, यही बालुवा बेच्दा बेच्दै म शिक्षक भएँ र अहिले पनि म यो बालुवासँग खेल्न धक मान्दिन…। किनकी यो मेरो जीवन हो, कोसी भित्र चुर्लुम्म डुबेर बेल्चा चलाइरहेका तारा चोङ्बाङले भने– खोलामा बालुवा निकाल्नेहरूलाई राज्यले वैधानिकता दिनुपर्छ नत्र कर उठाउन पाईंदैन। केटाकेटीको पढाइ र घरखर्च चलाउन बाढी आएको खोलामा पस्नु कसैको रहर हैन। यही सडकको किनारमा छाप्रो हालेर बस्दै आएका माछा मार्ने र यसरी बालुवा बेचेरै बाँची रहेकाहरूलाई सरकारले अनागरिक जस्तै व्यवहार गरेको छ, पेशाले शिक्षक रहेका ताराको गुनासो छ।

ताराका अनुसार तामाकोसी नदिको माथि सडकको डिलमा सानो टिनको छाप्रो हालेर बसेकी ६५ बर्षीया कान्छी तामाङ तिनै मजदुरहरूको एउटा प्रतिनिधि हुन्। जो २५ वर्षदेखि यही खोलाको बालुवामा आफ्नो भाग्य र भविष्य खोजी रहनुभएको छ। ताराका अनुसार यहाँका करिब चार सय स्थानीयले बालुवा बेचेरै जीवनयापन गरिरहेका छन् । खोलामा करेन्ट लगाएर माछा मार्नेहरू बढेपछि, माछा मारेर गुजारा चलाउने अर्को समुदाय पनि यही बालुवा निकाल्ने काममा जोडिएको छ।


असारदेखि तीन महिना खोलामा प्रशस्त मात्रामा बालुवा पाइने भएकाले जोखिम मोलेर उनीहरू बालुवा निकाल्न व्यस्त हुन्छन्। मुख्य सिजनमै स्थानीय प्रशासनले बालुवा निकाल्न रोक लगाउने गरेकाले बालुवा बेचेर गुजारा चलाउनेहरूलाई समस्या पर्ने गरेको छ। स्थानीय प्रशासनले बालुवा निकाल्न रोक लगाएको छ तर स्थानीय सरकारले प्रतिनिधि पठाएर बालुवा उत्खनन्को कर उठाइरहेको हुन्छ।


नदीजन्य वस्तु उत्खनन् गर्न नपाउने मापदण्ड रहे पनि स्थानीय सरकारले ठेक्का लगाएको हुन्छ। ठेक्काको अवधि सकिएपछि नयाँ ठेक्का प्रक्रिया नटुंगिदासम्म स्थानीय मजदुरहरू समस्यामा पर्छन्। जोसँग बालुवा निकाल्नुको विकल्प छैन। परिवार चलाउन बालुवा निकाल्नुपर्ने बाध्यता छ, ६५ वर्षकी कान्छी तामाङ भन्नुहुन्छ– यो ज्यान थला नपर्दासम्म म यही काम गर्छु।
‘गरी खाने अरु उपाय नभएर बालुवा बेचेर खानु परेको छ तर यही बालुवा खन्दा–खन्दा बाढी आउँछ कि भनेर वर्षायाममा रातभर निन्द्रा लाग्दैन,’ तामाङले थप्नुभयो– घरछेउमा यही खोलो छ, यसैले गुजारा चलेको छ। पानी, विद्युत् तथा स्वास्थ्य शिक्षा लगायतका आधारभूत आवश्यकताबाट बञ्चित तामाङ, परम्परागत रूपमा आफूहरूले तान्दै आएको बालुवा उत्खनन्को काम ठेकदारको हातमा पुगेपछि नदी धेरै भासिएको अनि पुल र बस्ति जोखिममा परेको बताउनु हुन्छ।

त्यसो त बालुवा–गिटीको ठेक्का लागेपछि ठेकदारले खोला मै ट्रिपर लगेर नदीजन्य पदार्थ निकाल्ने गरेकाले तामाकोसी नदीको सतह निकै भासिएको छ। तामाकोसी नदीमाथिको पुरानो पुल दुबैतर्फबाट जोखिममा परेको छ, नयाँ पुल बनाउन ठेक्का लागेको वर्षौं पुग्दा पनि ठेकदारले काम गरेको छैन।


‘टेन्डर गर्दा बाहिरबाट ठेकेदार आएर सबै बालुवा लैजान्छ। नत हामी सुरक्षासहित बस्न सक्छौं, नत हाम्रो बिहान बेलुकीको छाक टर्छ,’ तामाकोसीको बगरमा बालुवा लोड गरिरहेका सुजन थामी भन्न्ुहुन्छ– प्रहरी प्रशासनले ठूला ठेकदारको धन्दामा आँखा चिम्लेर, बेल्चा बोकेर नदी भित्र पस्ने हामी मजदुरलाई सँधै दपेटिरहन्छ। हामीसँग जीविकोपार्जनको विकल्प छैन, हामी जोखिम मोलेर खोलामा पस्न विवश छौं।


रोजगारीका अवसर नपाउँदा दोलखा जिल्लाको भिमेश्वर र बैतेश्वरका धेरै विपन्न परिवार जीवन निर्वाहका लागि यसरी नदीजन्य वस्तुमा निर्भर रहंदै आएका छन्। जो आर्थिक रूपमा विपन्न छन् तर दैनिक निर्वाहसँगै आफ्नो सन्ततिको उज्यालो भविष्य यही बगरको बालुवामा खोजी रहेका छन्।

स्थानीय नदी नालाबाट यसरी नदीजन्य पदार्थ निकाल्नु गैरकानुनी हो तर यही नदीजन्य पदार्थको भरमा बिहान बेलुकीको छाक टारिरहेकाहरूका निम्त सरकारी नियम भन्दा आफ्नो पेट र परिवारको भविष्य महान लाग्छ– भन्छन्, सरकारले ल्याएका रोजगारमूलक कार्यक्रममा हामी कहिल्यै अटाएनौं। हामीसँग छ त केवल यही तामाकोसी नदीको बालुवा। यही बालुवाका लागि हामी यो भँगालोसँग पौठेजोरी खेलिरहेका हुन्छौं।

श्रोत: कृष्ण तिमल्सिना / आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया