वैज्ञानिक समाजवादी व्यवस्थामा सहमत हुने पार्टीसँग विप्लवले एकता गर्ने

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि सहमत हुने पार्टीहरुसँग एकता गर्ने बताएका छन् । विप्लवले आज काठमाडौंमा पार्टीको नवौं केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् ।
उनले नेकपाले वैज्ञानिक समाजवादी सत्ताका लागि विचार मिल्ने र वैज्ञानिक सत्ता संचालनका लागि तयार हुने पार्टीसँग एकता गर्ने बताए । उनले मुद्दा र एजेण्डा मिल्नेसँग संयुक्त मोर्चामार्फत कार्यगत एकता गर्ने नीति पार्टीले लिएको बताए । पार्टीले नेता कार्यकर्ताको वैचारिकीकरण एवम् जन नेतृत्व निर्माणका लागि कम्युनिस्ट कलेज सञ्चालन गर्ने भएको जानकारी दिए ।
कपिलवस्तुको विगढीमा सम्पन्न बैठकले ‘जन आधारित पार्टी र जन आधारित नेता कार्यकर्ता’ भन्ने नीति पारित गरेर जनताको सुख दुःखमा पुग्ने योजना अगाडि सारेको बताए । आगामी दिनमा राष्ट्रिय स्वाधीनता र जनताका राजनैतिक एवं आर्थिक अधिकार र जनजीविकाका क्षेत्रमा केन्द्रित संघर्ष चलाउने पनि पत्रकार सम्मेलनमा जानकारी दिए । निर्णय सार्वजनिक गर्न उनले आज मुख्यरुपमा १४ बुँदा समेटिएका ५ पृष्ठ लामो प्रेस वक्तव्य जारी गरेका छन् ।
शहरमा शैक्षिक बेरोजगारीका कारण युवा पुस्ता विक्षिप्त रहेको बताउँदै क्याम्पस र विश्वविद्यालयबाट निस्केका युवाहरु बेरोजगारको ठूलो ताँती निस्केको पनि विप्लवले टिप्पणी गरे । ठूला उद्योगी व्यवसायीले पुँजी विदेश लगिरहेको तर राष्ट्रिय उद्योगी व्यवसायीहरु ऋणको ठूलो मारमा परेर टाट पल्टिन लागेका उनकाे भनाइ थियाे । जीवन उकास्न ऋण काढेका साना किसान मिटरब्याज र लघुवित्तको ऋणको पासोमा परेको बताए ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनप्रति टिप्पणी गर्दै उनले भने, ‘‘यो चुनाव इतिहासकै सबैभन्दा फितला र कमजोर भए, जनताले कम मतदान गरे र नयाँ विकल्पको खोजीमा हिँडे ।’ चुनावमा नयाँ दल उदाउनु सकारात्मक कुरा भएकाे उनकाे भनाइ थियाे ।

प्रतिक्रिया