सोमबार, वैशाख १७, २०८१

नमेटिएका याद

अभिषेक सापकोटा २०७९ फागुन २ गते ६:००

कोरियामा नयाँ वर्ष (सलनाल) सुरु भयो । संयोग नै भन्नुपर्छ यो नयाँ वर्षको विदा र भ्यालेन्टाइन एकैपटक पर्यो । बजारमा रंगीन माहोल सुरु भइसकेको थियो । कोरोनाको कारणले समूहमा भेटघाट हुन प्रतिबन्ध लगाइएको थियो । लामो समयदेखि नेपाली र हाम्रो गाउँले गुल्मेली साथीरूसँग भेटघाट भएको थिएन ।

यसपालीको विदामा हामीले सउल जाने योजना बनायौँ । कारण, नेपाली साथीहरूसँग कहिलेकाहिँ भेटिदा पनि घरको नियास्रो निकै कम हुन्थ्यो । विप्लव, हरिश, राहुल र म सउल जान तयार भइसकेका थियौँ । हामीसँग एउटै कम्पनीमा काम गर्ने कोरियन साथी हान छुङ यङले पनि सउल जाने इच्छा ग¥यो । ऊ अहिलेसम्म सउल गएको रहेनछ । त्यसो त ऊ पनि कोरोना र कामको चापले निकै नियास्रिएको हुँदो हो ।

हामी पाँच जनाको टिम वुसान ट्रेन स्टेशनबाट केटीएक्स एक्सप्रेस ट्रेन चढ्यौँ । ट्रेन चलेपछि एक मन त रमाइलो लाग्यो । फेरि अर्को मनले आफ्नै देश सम्झियो ।

म कोरियाको विकास र आफ्नो देशको राजनीतिक अवस्था देखेर निकैै भावनात्मक भएँ । सरकारको ‘सुखी नेपाली र सम्वृद्ध नेपाल’को नारा नारामा मात्र सीमित रह्यो ।

कोरियाका आकाश छुने भवन । आश्चर्य चकित हुने गरी आकाशमै बनेका नागबेली बाटो । अन्डग्राउनभित्रको सहर । कठै ! मेरो देश कहिले होला विकास ? कहिलेसम्म बन्ला पूर्वपश्चिम रेलमा जाने वातावरण ? कहिले जान पाइएला झापाबाट अछाम ? केरुङ, काठमाडौँ पोखरा रेल कहिले चल्ला ? मनोरेल चलेर कहिले हट्ला काठमाडौँको दिकदार लाग्दो जाम र धुलो ?

चलीस पचास वर्ष पहिला नेपालले कोरियालाई खाद्यान्न पठाउने कुरा सुनेको थिएँ । अहिले पचासौँ हजार बेरोजगार युवा पठाउँछ । कोरिया सहरको विकास र नेपालको अवस्था देखेर दुःखी नहुने को नेपाली होला र ? साथीहरू ट्रेनमै निदाएका थिए । म देशको बारेमा सोच्दै बाहिरको मनोरम दृश्य हेर्दै कहिले खुसी त कहिले भावुक हुँदै थिएँ । केटीएक्स एक्पप्रेस ट्रेन सउल आइपुगेछ ।

सउल कोरियाको राजधानी हो । हामी पुग्दा साँझ भैसकेको थियो । साँझमा सउल सहर झन् रमाइलो देखिने रहेछ । सहरभरि भ्यालेन्टाइन सप्ताह चलिरहेको थियो । प्रेमिल अँगालोमा बाँधिएका धेरै जोडीहरू देखिन्थे । चाहे लिप्टमा तलमाथि गर्दा होस्, चाहे ज्रेबा क्रसको रातो लाइटमा एकछिन पर्खिदा होस् । यिनीहरू एक अर्काको अँगालोमा कसिएर चुम्बन गर्न भ्याइसक्थे । त्यो दृश्य मलाई निकै रमाइलो लाग्यो । प्रेम त यस्तो होस्, जहाँ स्वतन्त्रता होस् । कुनै डर नहोस, कुनै बन्दन नहोस् । यिनीहरूको प्रेम आर्दश लाग्यो । हाम्रो देशमा प्रेम गर्न कति धेरै डराउनुपर्छ । अहिले पनि नेपालमा खुलेआम प्रेम गर्ने वातावरण छैन । कतिपयले त प्रेम गर्नु अपराध जस्तै मान्छन् ।

कतिपय नेपाली जोडीहरूले प्रेमलाई सस्तो खेलौँना सोचिदिन्छन् । भावनामा बहकिन्छन् । अनि एक जुनी पनि खुसी र प्रेमले नबाँचेका जोडीहरू अर्को जुनी सँगै हुने वाचा गर्छन् । धेरै प्रेमिल जोडीहरूको हातमा रातो गुलाव थियो । प्रायः सबै रेष्टुरेष्टहरू भरिभराउ थिए । एकजोडीले जेब्रा क्रसमा बसिरहँदा चुम्बन गरे । हान छुङ यङले त्यो दृश्य आँखा नझिम्काई हेरिरहेको थियो । हामी नेपाली साथीहरू रेष्टुरेष्टमा रमाइलो गर्ने र त्यही बस्ने कुरा भयो । सँगै जोडिएका अर्को डान्सबारमा विदेशीहरू व्यापक देखिन्थे । युवतीहरू डान्स गरिरहेका थिए । उनीहरूको सस्तो नजर जो कोही माथि सहजै पर्न सक्थ्यो । पनि छि¥यौँ ।

साथीहरू मस्त गफिन थाले । हान छुङ यङ भने निकै भावुक देखियो । उसले हाम्रो भाषा बुझ्दैनथ्यो । कुनामा चुपचाप बस्यो । हामीले कहिलेकाहिँ बेस्सरी हाँस्दा ऊ पनि मुस्कुराउने असफल प्रयास गथ्र्यो । तर पटक्कै उसको ओठमा मुस्कान सुहाएन ।नेपाली साथीहरू कोरियन र विदेशी केटीहरूसँग डान्स गर्न थाले । मैले पनि थोरै साथ दिएँ । हान छुङ यङको मधुर अनुहार देखेर मेरो मन खुलेन । शरीर साथीहरूसँग भएपनि मन उसैसँग पुग्थ्यो । केही समयको रमाइलो पछि खाना खाने बेला भयो । सबैको अनुहारमा तारा चम्केका थिए तर उसको मुहारमा ग्रहण लाग्यो । सुत्ने बेलामा नेपाली साथीहरूले खुब हल्ला गरे । उसले हाम्रो भाषा बुझ्थेन । मलिन अनुहार लगाएर मसँगै बस्यो । मैले कोरियन भाषामा किन निरास भएको सोधेँ । सुरुमा त बताउन चाहेन निकै कर गरेपछि उसले आफ्नो कुरा यसरी राख्यो ।

मेरो उमेर पैतीस बर्ष भयो । अहिलेसम्म म अविवाहित छु । कारण, म निम्न वर्गीय परिवारको मान्छे । त्यसो त उसले कोरियामा पनि जातीय भेदभाव रहेको र आफू निम्न जाती रहेको कुरा पनि लुकाएन । ऊ बोल्दै गयो, मसँग चाहेजति सम्पति छैन । केही समय अगाडि म कसैसँग रिलेशनशीपमा थिएँ । उसका लागि प्रशस्त खर्च गर्न नसकेपछि मलाई छोडेर गई । मैले उसलाई आफैँलाई भन्दा बढी प्रेम गरेँ, उसले मलाई भन्दा बढी पैसालाई प्रेम गरी । तपाईँले यो सउल सहरभरि गुलावको फूल बोकेर हिँडेको जोडी देख्नुभो हैन ? त्यो सबै अभिनय हो ।

कोरियामा वास्तविक प्रेम पाउनु भनेको कहिल्यै नदेखेको मान्छेलाई सम्झनु जस्तै हो । यहाँ मानवता, आफ्नो पन केही छैन । प्रेम छ त देखावटी छ । यहाँ भावनालाई भन्दा बढी आर्थिक प्राथमिकतामा पर्छन् । कोरिया महिला प्रधान देश हो । यहाँ प्रायः पुरुषहरू महिलाको दास जस्तै छन् । नियम कानुन महिलाकै पक्षमा बढी छ । यहाँ कुनै केटीले प्रेम नगरेसम्म केटाको विवाह सम्भव छैन ।

म दिनभरि रातभरि काम गर्छु । जेनतेन जिन्दगी चल्छ । काममा थाकेको बेलामा कसैको न्यानो स्पर्शको आस लाग्छ तर कल्पनामा मात्रै सीमित छ । बढ्दो यौवन र अत्यासलाग्दो मनलाई विसाउन वेश्यालय जानु बाहेक मेरो अर्को विकल्प छैन । बोल्दाबोल्दै ऊ अलि भावुक देखियो । काम गर्दा सबैभन्दा बलियो देखिने कोरियनको मुटु कति कमजोर रहेछ ।

ऊ बोल्दै गयो । तपाईँलाई थाहा छैन होला ? कोरिया आत्महत्या गर्ने एसियाकै उच्च स्थानमा पर्छ । यहाँ आफ्नो जीन्दगीसँग कोही पनि खुसी छैनन् । मिल्ने भए प्रायजसोले यहाँको नागरिकता त्याग्न चाहान्थे । यहाँ उल्लेखनीय रूपमा पुरुषहरू अविवाहित नै छन् कारण, आर्थिक अवस्था कमजोर नै हो । सम्पन्न हुनु र खुसी हुनु निकै फरक कुरा हो । प्रेम दिवसमा गुलावकोे फूल बोकेर सहरमा डुलेजस्तो सहज छैन, यहाँ प्रेमिल भएर बाँच्न ।

उसका कुरा सुनेर म त निकै अचम्ममा परेँ । हामीले नेपालबाट देख्ने र नेपाली आँखाले हेर्ने कोरिया र वास्तविक कोरियामा आकाश जमिनको अन्तर रहेछ । नेपाल कोरियाभन्दा मानवता र भावनात्मक हिसाबले निकै माथि रहेछ । भौतिक रूपमा देश सम्पन्न भएपनि आफ्नो देशको मौलिकता र संस्कृति बचाएर जनताहरूमा खुसी ल्याउन नसकिने हो भने कोरा विकास हुनु र नहुनुमा खासै फरक नहने रहेछ । उसका कुरा निकै नयाँ र चाखलाग्दा थिए । अरू पनि सुन्ने रहर लाग्यो ।

एउटै कोठामा सुतेका साथीहरूलाई निकै बोर लागेछ क्यारे चुपचाप सुत्न आग्रह गरे । सायद, कोरियनको दुःखको भाषा उनीहरूलाई मन परेन । निदाउन खोजेँ तर सकिनँ । फेसबुक खोलेँ । इन्वक्समा धेरै मेसेज जम्मा भएछन् । रश्मीले ठट्यौली पारामा दुई ओठले गुलावको फूल च्यापेको फोटो पठाउन भ्याइछे । एक समय म उसलाई धेरै मन पराउँथे तर समय हाम्रो पक्षमा उभिएन । जस्तो भएपनि उसलाई म असल साथीको रूपमा हेर्थेँ । उसका ओठले गुलाव च्यापेर पठाएको निकै प्रिय लाग्यो । इन्वक्सका अरू मेसेजहरू त्यतिकै छोडिदिएँ । रश्मीसँग मेरो दुई दिन अगाडि मात्रै कुरा भएको थियो । उसँग भएका संवादहरू कानमा ठोक्किरहे । भिडियो कलमा मैले उसलाई जिस्क्याउँदै सोधेको थिएँ, के छ प्रेम, प्रणय दिवसको योजना ?’

उसले हाहा.. लगेर लामो हाँसो हाँसी । मेरो खासमा तीन जना प्रेमी छन् । म भने कसैसँग सिरियस छैन । उनीहरू म भनेपछि हुरुक्कै हुन्छन । एउटा अमेरिका छ । एउटा जापान छ । एउटा मेरो नजिकै बस्छ । मलाई यी तिनै जना खास लाग्दैनन् ।
यो संसारमा प्रेम भनेको केही हैन । सबैथोक आवश्यकता हो । आफ्नोे आवश्यकता जता पूरा हुन्छ मेरो प्रेम पनि उतै हुन्छ । म सबैलाई आफ्नै किसिमले समय मिलाउँछु । उनीहरूले मेरो दैनिकी धानिदिएका छन् । मेरो त प्रेम यही हो । विवाह त म यी तिनैजना तोरीहरूसँग गर्दिनँ । काठमाडौँमा आर्थिक हैसियत सम्पन्न भएको केटासँग मात्रै गर्छु । जसले मेरो सबै आवश्यकता पूरा गरोस् । पूरै शरीर गहनाले ढाकिदेओस् । यी प्रेमी त समय विताउने माध्यम र व्याकअप मात्र हुन् । जसलाई म जतिवेला, जसरी पनि प्रयोग गर्न सक्छु । पुतली बत्तीको नजिक आएपछि डडाउनु बत्तीको धर्म होे । उसले मलाई यस्तो जवाफ लगाएकी थिई ।

घडी हेरेँ । रातको बाह्र बजेछ । प्रेमबारे केही लेखुँ भन्ने हुटहुटी चलिरह्यो । जानुका अनलाइन रैछ । ऊ मेरो फेसबुकको साथी थिई । ऊ आधुनिक टाइपकी केटी हो । सामाजिक संजालमा निकै मिठा र माथिल्लो स्तरको स्टाटस लेख्थी । कहिलेकाहि स्याड पनि लेख्थी । मैले च्याट सुरु गरेँ । उसले पनि रिप्लाई गरी हाली । सामान्य कुरापछि प्रेम बारे तिम्रो धारणा के छ भन्दा उसले लेखी, प्रेम हावा रहेछ उडाएर गयो । प्रेम शीत रहेछ पग्लिएर गयो । प्रेम नदी रहेछ किनारा लगायो । म हावा शीत र नदी बनेर उसैमा समाहित भइरहेँ । मैले उसलाई अथाहा प्रेम गरेँ, मुनाले मदनलाई जतिकै । आगोले चितालाई गरेजस्तै उसको रूप नहेरी उसका औकात नहेरी । अपसोच ! उसले आफ्नो औकात देखायो । मेरो हार्दिक प्रेमलाई गलत अर्थ लगाइदियो ।

सहनशीलतालाई कमजोरी ठान्यो । शरीरलाई उच्च र मनलाई निम्न स्तरकोे तराजुमा जोख्यो । मुटुबाट सुरु भएको सम्बन्ध आँखामा पुगेर सकियो । ऊ मसँग उज्यालोमा प्रेम गर्न डराउँथ्यो । अँध्यारोमा गरेको प्रेम सम्झौतामा छुटियो । अब बाँकी जीवनको उसैको नाममा समर्पण गर्छु ।

कति फरक छ यी दुई नारीको प्रेममा । जानुकाको कुराले मन विझायो । लाग्यो प्रेम गर्न पनि ठुलो छाती हुनु पर्ने रहेछ । जानुकासँग कुरा गर्दागर्दै कोरियाको विहान हुन लागेछ । त्यसो त कोरियाको समय नेपालकोभन्दा तीन घन्टा अगाडि छ । म चुपचाप उठेर बाहिर कौशीमा निस्केँ । म उठेर बाहिर आएको थाहा पाएपछि राहुल पनि मेरो पछिपछि आयो । मेरो नजिकै बसेर चुरोट सल्कायो । हिजो कोरियनसँग गरेको सबै संवाद सुनेको रहेछ । प्रेमका वारेमा हाम्रो केही बेर वहस भइरहे ।

उसले चुरोटको लामो सर्को तानेर भन्यो, कहानी मेरो पनि उस्तै हो । फरक परिवेश फरक भुगोल भएपनि प्रेममा टुट्ने मान्छेको मन उस्तै हुदो रहेछ । तिमीहरूको रातिको संवाद सुनेँ । रातभरि निद्रा लागेन । तिमी कतिवेला उठ्छौ भनेर कुरी बसेको थिएँ । मेरो कहानी पनि उस्तै छ सुन्छौ नि ? मैले इसाराले हुन्छ भने । उसले आफ्नो कहानी भन्दै गयो ….

त्यतिबेला म त्रिचन्द्र कलेजमा आइ ए.सी पढ्थेँ । ऊ विएस्सी फस्ट इयर पढ्थी । साइन्स पढेपनि त्रिचन्द्र कलेजमा धेरै साहित्यिक कार्यक्रम हुन्थ्यो । उसमा निकै कला थियो । उसको प्रस्तुति र रचना मन परेर मैले उसलाई फलो गरेको थिएँ । केही समयमै हामी निकै नजिक भयौँ । ऊ मसँग घुम्न, नाटक हेर्न र पानीपुरी खान खुब मन पराउँथी । मैले उसका ती इच्छा पूरा गरिदिन्थेँ । यी हर्कत हुँदाहुँदै हामी कति छिटै एक अर्काको प्रेममा परेछौँ थाहै भएन ।

हामीमा खुब प्रेम थियो । दुई वर्षको अन्तरालमा ठूलो स्वरले बोलेको पनि याद छैन । झगडा त निकै परको कुरा । मेरो आइस्सी सेकेन्ड इयरको परिक्षा चल्दै थियो । उसको घरमा विवाहको कुरा चलेछ । उसले एकदिन रुँदै भनी, बरु म मृत्यु स्वीकार्छु, विवाह गर्दिनँ भनी । म आइस्सी पढ्दै गरेको मान्छे । मेरो आफ्नै टुङ्गो थिएन । उसलाई कसरी स्वीकार गर्नु ? केही समय पर्खन निकै अनुरोध गरेँ । उसको परिवारले जबरजस्ती उसको अन्तै विवाह गराइदियो । उसको विवाह पछि म आफू, आफू रहिन । दुःख र पीडाको जञ्जालमा फसेँ । परीक्षा नमज्जासँग बिग्रियो । निकै समय डिप्रेसनको सिकार भएँ । जिन्दगी रोएर मात्रै नचल्ने रहेछ । काठमाडौँका हरेक गल्लीगल्लीमा उसका याद थिए । त्यसकारण कोरियन भाषा पढेर कोरिया आएँ ।

कोरिया आएपछि काममा धेरै व्यस्त भइयो । ऊ बेलाबेलामा मेसेज गरिरहन्थी । मैले रिप्लाई गर्न समेत भ्याउँदैनथे । एक विदाको दिन उसँग धेरै समय भिडियो कल भयो । उसले धेरै बाध्यताका कथा सुनाई । अर्को विहान उसले मलाई मेसेज गरी । हिजोको भिडियो कलले घरमा रडाको मच्चियो । श्रीमााको मस्तै गाली खाएँ ।

ऊ पीडामा छे भन्ने ठानेर उसलाई व्लक गरिदिएँ । ब्लक गरेको एक हप्तामै उसले सुसाइड गरिछे । यति धेरै प्रेम गरेको मान्छेको लास पनि देख्न पाइनँ भाइ । जेनतेन आफ्नो मन सम्हालेर बाँचिरहेँ । कोरिया आएको तीन वर्ष पछि विदामा नेपाल गएँ । घरकाले केटी खोजेर राखिदिएका रहेछन् । नचाहदा नचाहदै मागी विवाह भयो ।

विवाह भयो शरीर साटियो तर मैले श्रीमतीसँग मन साट्न सकिनँ । श्रीमतीलाई कहिल्यै प्रेम गरिनँ, गर्न सक्दिनँ र गर्ने पनि छैन । म वैवाहिक जीन्दगीसँग सम्झौता गरिरहेछु । अहिले हाम्रो एउटा बच्चा छ । घरमा बाआमा खुसी छन् । समय समयमा पैसा पठाइरहन्छु ।

मैले आजसम्म श्रीमतीसँग प्रेमको अनुभूति गर्न सकेको छैन । कहिलेकाहिँ लाग्छ म उसलाई विवाह नामको सामाजिक बन्धनमा बाँधेर शारीरिक र भावनात्मक बलात्कार गरिहरहेछु । सुर्य र अग्नी साक्षी राखेर, दुइचार वटा मन्त्र फूकेर विवाहको नाटक मञ्चन गर्दैमा प्रेम नहुने रहेछ । सामाजिक बन्धन र घरपरिवारको इज्जतको नाममा चलिरहेको हाम्रो यो प्रेमहीन सम्बन्ध खै कति समय टिक्ला उसले चुरोटको लामो सर्को तान्यो । उसको कुरा सुनेपछि लाग्यो मान्छेहरू यति धेरै बाध्यता र यति धेरै प्रेमहीन सम्बन्धमा पनि बसिराख्न सक्दा रहेछन् । उज्यालो भइसकेछ । सबै साथीहरू फ्रेस भइसकेछन् । त्यसदिन हामीले सउल घुम्ने योजना थियो ।

कोरियाका विशेष चाडपर्व र लामा विदामा सउलको दोङदेमुन सहरमा नेपालको राजधानी काठमाडौँको असनमा जस्तै नेपालीहरूको भीडभाड हुने गथ्र्यो । नयाँ वर्षमा यहाँका सामाजिक संस्थाहरूले नेपालबाट राष्ट्रिय कलाकार बोलाउँथे, भव्य कार्यक्रमहरू हुन्थे । तर यो वर्ष न त कुनै प्रोगाम न त त्यो भीडभाड । प्राय : सुनसान देखिन्थ्यो नेपालीहरूको प्रमुख गन्तव्य स्थल दोङ्देमुन बजार । नेपाली समाजका धेरै व्यवसायीहरू दोङ्देमुन बजारमै रेष्टुरेष्ट र पसल व्यवसाय गर्छन् । तर यो वर्ष कोरोनाले धेरैको व्यापार चौपट भएछ । कतिपय रेष्टुरेन्टहरू त बन्द भइसकेछन् । हामीहरूले विहानको खाना दोङ्देमुन बजारको नेपालीमाझ प्रख्यात तीन नम्बर गेटको आडैमा रहेको एभेष्ट होटलमा खायौँ । त्यहाँबाट ट्याक्सी चढेर सउलको १६३ तले बिल्डिङको भ्रमणमा निस्कियौँ ।

१६३ तले बिल्डिङ कोरियाको सबैभन्दा अग्लो बिल्डिङ हो । हामीले त्यही बिल्डिङको १६३ औँ तलाबाट सउल सहर नियाल्यौँ । अहो ! कोरियाको त्यो चमात्कारी विकास । सहरको माथिमाथि चलेका मनोरेलहरू । साँच्चिकै मनमोहक र सुन्दर देखियो । साथीहरूसँगको गफमा नेपाल र कोरियाविच धेरै तुलना गरियो । दिनभरि हामी सउलकै सउल टावरदेखि सङ्ग्रहालयसम्म घुम्यौँ । बेलुका राहुलको साथी गोरखातिरका एकजना दाइको कोठामा पुग्यौँ । साथीहरू सबै मोवाइलमा व्यस्त भए । म दाइलाई खाना पकाउन सहयोग गर्न थालेँ । उनले सोधे, भाइ अविवाहित हो ? मैले हाँसेर भने, नेपालमा प्रेमिका मलाई पर्खेर बसेकी छ । अब छिटै गएर विवाह गर्छु होला । उनले भावुक हुँदै भने, सबैको भाग्यमा प्रेम हुँदैन भाइ । माया गर्ने मान्छेलाई कहिल्यै धोका नदिनू । मैले पनि कसैलाई प्रेम गरिराछु । तर मेरो प्रेम म भन्दा धेरै टाढा भागिसक्यो । उनको कहानी सुन्न मन लाग्यो । दाइले आफ्नो कहानी सुनाए ।

म त्यतिबेला आरआर कलेजमा एम.ए. पढ्थे । ऊ मेरो क्लासमेट थिई । उसको घर दाङ, मेरो गोरखा । ऊ बाहुन परिवारकी थिई, म क्षेत्री । पढ्नमा अब्बल भएकीले मैले राम्रो मान्थे।

एउटै क्लासमा भएकाले छिटै नजिक भइएछ । उसले एकदिन प्रेम प्रस्ताव राखी । मैले हुँदैन भन्दिएँ । कारण हामीविच जात फरक थियो । त्यसपछि उसले सम्झौतामा प्रेम गरौँ भनी । जति समय सँगै बस्छाैँ । एक अर्काको भएर बाँच्ने कुुरा भयो । म मास्टर्सको क्लासदेखि उसको बेडरुमसम्म पुगेँ । उसले खुब माया गर्थी । मलाई भने उसको खास माया लागेन । मैले उसको प्रेमलाई जवानीको प्यास सम्झिँरहेँ । हाम्रो मास्र्टस सकियो । उसको घरमा विवाहको कुरा चल्यो । मैले विवाह गर भनेर सम्झाएँ । ऊ धेरै रोई । घरमा विवाहको कुरा चलेपछि मसँग फोनमा रोइरहन्थी । मलाई उसको आँसु देखेर वाक्क लाग्थ्यो ।

ऊ रोएपछि फोन काटेर अफ गरेर सुतिदिन्थेँ । उसले अति गरेपछि मोवाइलमा सीम चेन्ज गरिदिएँ । फेसबुकमा पनि ब्लक गरेँ । पछि उसको विवाह भएछ । विहेमा सबै साथी गएछन् । मलाई पनि खुब सोध्थी अरे । उसको विवाह भएको एक दुई महिनापछि मलाई उसको बेस्सरी याद आउन थाल्यो । भेट्न मात्रै पाए हुन्थ्यो जस्तो लाग्थ्यो तर सम्भव थिएन । पुरानो सीम चलाएर फोन गरेँ फोन लागेन । फेसबुकमा अनब्लक गरेँ तर उसले डिएक्टिभ गरिछे । धेरै पछि थाहा भयो । ऊ उसको श्रीमानसँग अमेरिका उडिसकिछे ।

मलाई उसँग हुँदा उसको महत्व भएन । जब ऊ टाढा भई उसका सम्झनाहरू नजिक भए । अहिले मलाई निकै पछुतो छ । अब त मैले चाहेर पनि ऊ मेरी हुन सक्दिनँ । उनको कहानी पनि सबैको जस्तै रहेछ । अपवाद बाहेक प्रेमको अर्थ बुझेको मैले महसुश गरिनँ । मैले अहिलेको प्रेम प्रेमजस्तो देखिनँ । जात, धर्म, वर्ण, औकात, सम्पति हेरेर गरिने प्रेम । प्रेम हो कि सम्झौता ? खै कहाँ छ रोमियो जुटियटको जस्तो आत्मीयता ? राधा र कृष्णमा राधाको जस्तो समर्पण ? मुना र मदनको जस्तो पर्खाइ ? दुई दिनमा मन पराएर तेस्रो दिन ब्रेकअप गर्नेहरू मायामा धोका पाए भनेको सुन्दा अचम्म लाग्छ । प्रेम त एउटा यस्तो खेल हो, जहाँ कुनै प्रतिद्धन्द्धी हुँदैन, दुवै पक्षको हार हुँदैन । जहाँ जीत नै जीत र खुसी नै खुसी हुन्छ ।

आजभोलि धेरैले आफ्नो आवश्यकता र क्षणिक आकर्षणलाई प्रेम भन्दा रहेछन् । एउटा गुलावमा र तीनवटा चकलेटमा प्रेमको किनबेच गर्नेहरूले आत्मिक प्रेमको अर्थ कति बुझे होलान् ? प्रेमको अर्थ बुझेर प्रेम गर्नेहरूलाई कुनै प्रेम दिवस आवश्यक पर्दैन । र पनि नेपालमा करोडाँैको गुलाव विदेशबाट मगाएर प्रेमहीन सस्तो बजारीया प्रेम दिवस मनाउनेहरूले शारिरिक सामिप्यता र क्षणिक आर्कषणले मात्र जोडिएको सम्बन्ध प्रेम हैन, भनेर कहिले बुझ्ने ?

प्रतिक्रिया