आइतबार, जेठ ६, २०८१

प्रेम दिवस : नेपालको ताजमहल

सुनिल उलक २०७९ फागुन २ गते ९:२१


तेजमहल अर्थात रानी तेजकुमारीको सम्झनामा खड्गशम्शेरले बनाइदिएको महल जसलाई सबैले रानीमहल भनेर चिन्ने गर्दछन् । साथमा नेपालको ताजमहल पनि भन्ने गरिन्छ । आखिर यो महल किन बन्यो, यसको चर्चा यहा गर्दैछु ।

खड्गशम्शेर, धिरशम्शेरको साँहिली रानी नन्दकुमारीबाट जन्मेको प्रथम सन्तान थिए । बि.सं. १९४२ मंसिर ९ गते आइतवार पुर्णिमाको उज्यालो रात खड्गशम्शेरले आफ्नै काका रणोदीप सिंह कुँवरलाइ गोली हानेका थिए । यस रात केवल काका रणोदीपको मात्र हत्या भएन, सिङ्गो जङ्ग खलकलाइ नै निशाना बनाइयो । यस रात कति मारिए कति भागे । यसरी ४२ साल पर्वको घटना पछि शम्शेर खलक सत्तामा पुग्यो । धिरशम्शेरका जेठा छोरा वीरशम्शेर प्रधानमन्त्री बने । काकालाइ पहिलो गोली हान्ने खड्गशम्शेर प्रधान सेनापति बने ।

यसरी प्रधान सेनापति बनेका खड्ग माथि आफ्नै दाजु वीरशम्शेरले शंकाको दृष्टीकोणले हेर्न थालेका थिए । खड्गशम्शेर जंगबहादुरकी छोरी बाग कि कान्छी मैया दीपकुमारीको नजिक थिए । ४२ साल पर्वमा जंगका खलक सबैमा हत्या वा देश निकाला गरिए पनि दीपकुमारी बालक राजा पृथ्वी वीर बिक्रमको सानीआमा भएको कारणले पनि उनलाई कुनै सजायँ दिइएको थिएन । उनकै उक्साहटमा खड्गले जंग खलक माथि भएको अन्यायको बदला लिन सक्ने शंका भएको कारणले पनि खड्ग माथि आफ्नो हत्या गरि सत्तामा आउन खोजेको आरोप लगाइएको थियो ।

यसरी सजायँ पाएका खड्गशम्शेर बि.सं. १९४३ फागुन २० गते कैद गराइ ठाडा (पाल्पा देखी पश्चिम दुर्गम गाँउ) मा नजरबन्दमा राखे । उनलाई काठमाडौबाट पोखरा हुँदै ठाडा लगिएको थियो । त्यसको केही समय पछि नै खड्गले माफी मागि पठाए पछि बि.सं. १९४५ मा पाल्पाकै वडाहाकिम बनाइएको थियो ।

पाल्पाको वडाहाकिम भए पछि परिवार सहित पाल्पा गौडामा बस्न थाले । यहि बसाइमा बि.सं. १९४९ मा उनका प्रिय कान्छी रानी तेजकुमारी बिरामी भइन् । नेपाल भारतका धेरै बैध्य तथा डाक्टरको उपचार पछि पनि निको भएन । उनलाई घाट चलाइयो, बौघागुम्बा गाँउको काली किनारको शिलामा राखियो । यहि शिलामा नै उनको देहावसान भयो । यस शोकले गर्दा व्याकुल रहेका खड्गशम्शेरले रानी तेजकुमारीले अन्तिम स्वास फेरेको त्यहि स्थानलाई रानीघाट नामाकरण गराए तथा सोही स्थानमा महल बनाउने निधो गरे ।

भारतबाट बोलाइएका अंग्रेज डिजाइनर तथा आर्किटेक्टबाट दरवार तैयार भयो । यस दरवारमा २४ वटा कोठाको साथमा सुसारे कोठा, घोडाको लागी तवेला, भान्सा घर, भक्तिनी घर, खण्डमुक्तेश्वर महादेवको मन्दिर, दुईवटा पोखरी, शितल पाटी तथा बगैचा बनाइएको थियो । तेजमहल नामाकरण भएको यस दरवारको सबैभन्दा माथिल्लो बुर्जामा “रानी तेजकुमारी शरणम्” लेख्न लगाए । १९५० मा निर्माण थालिएको यस दरवार तैयार हुन झण्डै चार वर्ष लाग्यो । दरवारको लागी अत्याधुनिक सजावटका सामग्रीहरू पनि बिदेशबाट ल्याइएको थियो । महलको सजावटका लागि इटालीबाट मार्बल मगाइएको थियो । कोठामा सजाउनका लागि झुमरहरु इटालीकै मुरानोबाट ल्याइएको थियो । महंगा र आकर्षक एडवार्डियन फर्निचरहरु बेलायतबाट मगाइएका थिए । इरानबाट कार्पेटहरु ल्याइएका थिए । साथमा बगैचाहरु बेबिलोनको झुन्डिएको बगैचाको शैलीमा बनाइएका थिए ।

बि.सं. १९५३ मा अंग्रेज सरकारको तर्फबाट त्यसबेलाको Archaeological Survey of India को लखनउको म्यूजियममा कार्यरत Alois Anton Fuhrer लाइ नेपालको लुम्बिनीको अध्ययन गर्दा खड्गशम्शेरले निकै सघाएका थिए । उनकै सक्रियतामा शाक्यमुनि बुद्धको जन्मस्थल भेटिएको थियो । अहिलेको लुम्बिनीका लागि खड्गशम्शेरलाई हामीले सम्झनै पर्दछ ।

चन्द्रशम्शेरले दाजु देवशम्शेरलाइ सत्ताच्युत गरि धनकुटा धपाए । तर देवशम्शेर धनकुटा धेरै बसेनन् । त्यसपछि खड्गशम्शेर वडाहाकिम भएर धनकुटा पुगे तर बि.सं. १९५९ मा स्थानिय कामदारबाट श्रीपेच बनाउन लगाएको आरोपमा चन्द्रशम्शेरले धनकुटाबाट मात्र नभै देशबाटै निस्कासित भएपछि उनलाई देश छोडेर जान भनियो । खड्गशम्शेर र देव शम्शेरका लागि भारतमा बस्ने ब्यबस्था मिलाइदिन अंग्रेज भाइसरायलाई अनुरोध गरिएको थियो । खड्गशम्शेरले धार्मिक स्थल हरिद्वारमा बस्ने इच्छा ब्यक्त गरे पनि उनलाई हरिद्वार बस्न अनुमति दिइएन । चन्द्रशम्शेर दाजु खड्गसंग बढि सशंकित रहेको हुँदा नेपालसंग सहजै सम्पर्क हुन नसक्ने अति बिकट ठाउँ भारतको मध्यप्रदेश भोपाल देखी १७२ कि.मी पूर्वमा रहेको सागरमा गएर बस्ने ब्यबस्था मिलाइ दिएका थिए । त्यहाँ उनले नेपाल दरवार नामाकरण गरेर दरवार पनि बनाए । जीवनको उकाली ओराली देखेका खड्गशम्शेर कतिपय षडयन्त्रको शिकार भए । सागरमा उनको सम्पूर्ण परिवार सुखपूर्ण रूपमा रहे । प्रजातन्त्र पछि नेपाल फर्केका उनको छोरा नाति उच्च पद ओगट्न सफल रहे ।

खड्गशम्सेरको साहिली छोरी चुडा दिव्यश्वरीको बिबाह ठाकुर महेन्द्रसिंहसंग भएको थियो । उनिहरूका एक मात्र छोरी लेख दिव्येश्वरीको विवाह ग्वालियरका राजा जिवाजीराव सिंधियासंग भएको थियो । खड्गशम्सेरका नातिनी लेख दिव्येश्वरी नै विजय राजे सिंधियाको नामले भारतिय राजनीतिमा निकै छाए । उनका छोरा माधवराव सिंधिया पनि भारतका प्रमुख राजनीतिज्ञ हुनुहुन्थ्यो । उनको विवाह जुद्धशम्शेरका नाति युवराजशम्शेरको छोरी किरण राज्य लक्ष्मीसंग भएको थियो भने छोरी उषा राजेको चन्द्रशम्शेरका नाति बिजयशम्शेरका छोरा पशुपति शम्शेरसंग बिबाह भएको थियो अर्की छोरी वसुन्धरा राजे राजस्थानको मुख्य मन्त्रीका रुपमा दुइ कार्यकाल रहेका थिए ।

प्रतिक्रिया