सोमबार, वैशाख २४, २०८१

नयाँ जंगबहादुरले के गर्छ होला ?

आदित्य मान श्रेष्ठ २०८० जेठ ५ गते १२:५८

काठमाडौं । नयाँ जंगबहादुर त निकाल्ने अवस्था आई नै सक्यो। अराजकता र अनिश्चितताको बीचमा यस्तो मानिस न जन्मिने त कुरै भएन । तर उसले के गर्छ होला भनेर कसैले अनुमान गर्न सक्दैन ।

किनभने कुन मानिस अन्यायमा पर्ने हो र उसको प्रतिक्रिया के हुन्छ भनेर तर्क गर्न सकिन्न । यो तर्कहीन कुरा हो । नेपालमा तर्क गर्ने दिन गइसकेको छ। अब बल र हिंसाले आफ्नो ठाउँ बनाउँछ। नेपालको इतिहासले त्यही कुरा बताउँछ।

इतिहासकार शिरोमणि बाबुराम आचार्यले यही कुरा बुझेर होला ‘यस्तो अब कहिले नहोस्’ भनेर किताब लेखे । तर नेपालमा यसतो घटना बराबर भएको छ। इच्छा गर्नु एउटा कुरा हो ।

वास्तवमा हुनु अर्को कुरा हो । तर्क भनेको एउटा व्यवस्थापछि अर्को व्यवस्था आउँदा गर्न सकिन्छ । जस्तो, विसं २०१७ सालमा पूरा प्रजातन्त्र आएका बेला अर्को व्यवस्था कस्तो आउँछ होला भनेर गर्न सकिन्छ ।

किनभने त्यसबेला नेपालमा राजा थिए र संविधानले पनि उनलाई अनेक अधिकार दिएको थियो। उनले कुनै असंवैधानिक काम गरेका थिएनन्। संक्रमणकाल घोषणा गर्ने उनको अधिकार थियो ।

संक्रमण त्यसबेला थियो कि थिएन भनेर अनेक वादविवाद हुन सक्छ। तर संक्रमणकाल घोषणा गर्ने अधिकार राज्यप्रमुखलाई दिइएको थियो। त्यसपछि पूरा प्रजातन्त्र आयो र प्रजातन्त्र ल्याउनुपर्यो भनेर आन्दोलन पनि भयो । नयाँ संविधान पनि बन्यो ।

यसले राजाको अधिकार धेरै कटौती गर्यो। त्यो सबै मानिसले सोच्न सक्दथ्यो किनभने त्यसबेला त्यति अधिकारका लागि संघर्ष भएको थियो। आन्दोलन पनि भएको थियो। सो प्रजातन्त्र केही वर्ष चल्यो पनि। तर त्यसै प्रजातन्त्रमा धेरै बेथिति र भ्रष्टाचार भयो भनेर युद्ध भयो। हिंसा भयो। हिंसा राम्रो कुरा होइन तर भइछाड्यो ।

त्यो युद्ध पनि १० वर्षसम्म चल्यो। हुन त त्यो युद्ध प्रजातान्त्रिक व्यवस्थाले काम गरेन जनवादी व्यवस्था चाहिने रहेछ भनेर भएको थियो तर त्यो जनवादी व्यवस्था नेपालमा कहिले आएन। युद्ध गर्ने साम्यवादीहरू सत्तामा आउनेछन् र परिवर्तन गर्नेछन् भनेर अनुमान गर्न सकिन्थ्यो ।

नेपालीले ती दिन पनि देखे। २०६२ सालमा ठूलो आन्दोलन भयो। राजाले परिस्थिति सम्हाल्न खोजे। तर सकेनन् र पन्छिए । अन्ततः गणतन्त्र घोषणा भयो । कति मानिसलाई यो कुरा चित्त बुझेको थिएन। तर आँखाले देखेको परिवर्तनकारी परिस्थितिलाई मानेर बसे ।

त्यसपछि आएर शान्ति सम्झौता भयो। अब त पुराना प्रजावादीको आँखा पनि खुल्यो र नयाँ साम्यवादी माओवादीसित काम गर्न थाले। समाजवाद के हो ? साम्यवाद के हो ? वैज्ञानिक समाजवाद के हो ? प्रजातन्त्र, लोकतन्त्र, राजतन्त्र के हो भनेर मानिसले बोलेको खुब सुनियो।

त्यसो त गणतन्त्र पनि दुई–तीन वर्ष लगाएर आयो । अब त नेपालीको भाग्य बदलिन्छ र काम गरेर खान पाउँछन् भन्ने आशा पलायो । तर त्यो पनि सम्भव भएन। साम्यवादी र प्रजातन्त्र आपसमा मिले । राजालाई एकातिर फाले र आफूखसी शासन चलाउन थाले । राजा त फाले र गणतन्त्र घोषणा भयो । तर ढुकुटीमा रजाइँ चल्न थाल्यो । देशले धान्नै नसक्ने प्रथा ल्याए, सात टुक्रामा बाँडे ।

सरकार खडा गरे तर पैसा बाँड्नु र खुवाउनुसिवाय अरु केही भएन । नयाँ व्यवस्थाअन्तर्गत नयाँ स्वनामधन्य निस्के । नेपालमा घर त खुबै बन्यो। त्यसैलाई विकास भन्ने हो र मान्ने हो भने नेपालले खुबै विकास गरेको देखियो । हुँदा हुँदा नेपालमा खेति योग्यजग्गा नै छैन भनेर पनि भनियो।

युवा विदेशतिर लाग्ने लहर नै आयो। नेपालमा यसै सम्बन्धमा धेरै कम्पनी पनि बने। मानिसहरु धेरै ठगिए। उनीहरु कराउँदै गरे तर नेपाल सरकारले सुने पनि नसुनेझैं गर्यो। नेपाली युवायुवती विदेशमा गएर दुःख पाए । नेपाल सरकारले उनीहरुको क्रन्दन सुनेन ।

खालि उनीहरुले पठाएको पैसा कति जम्मा भयो भनेर मात्र हेरेर बस्यो। बाहिरबाट रेमिट्यान्स घट्न लाग्यो भनेर आत्तियो। जब विदेश पलायन हुनेको संख्या बढ्दै गयो तब नेपाली सरकार दंग पर्यो। अब त हामी विदेशी मुद्राको सञ्चितिमा बलियो भयौं भनेर गर्व गर्न थाल्यो।

नेपालीहरु पनि बोल्न पाइन्छ, लेख्न पाइन्छ भनेर जति अन्याय–अत्याचार भए पनि सहेर बस्ने बानी लाग्यो । त्यसैले होला जति अन्याय भए पनि जति अत्याचार भएपनि र जति भ्रष्टाचार भए पनि बोलेर मात्र सन्तोष गर्न थाले । आफूले गरेको मिहेनत र परिश्रमको मूल्य नै बिर्सेर बसे।

सरकारमा बसेकाले पैसा कमाउनेतिर भन्दा अरु तिर ध्यान दिनै छाडे। यसै बेलामा नक्कली भुटानी शरणार्थीको कुरा निस्क्यो । ५० लाख सम्मदिन सक्यो भने भुटानी भएर अमेरिका जान पाइन्छ भनेर मानिसले पैसा खन्याउन थाले । लिने मान्छे पनि नेपाली ढुकुटीको कुनै हानि–नोक्सानी नगरीकन पैसा कमाउन पाइन्छ भने किन नकमाउने भनेर पैसा बटुल्न थाले ।

सरकारमा बसेका मानिस पनि लोभिए। कसैलाई चोटपटक नदिईकन पैसा कमाउन पाइन्छ भने किन नकमाउने भनेर कागजसम्म मिलाउने मात्र न हो भनेर यसै धन्दामा लागे । यो त एउटा मात्र होइन पाँच–पाँचओटा कानुनको खिलाफ हुने रहेछ भनेर कसैले पत्तै पाएन ।

करोडाैं रुपैयाँ आउने भएपछि किन नलाग्ने भनेर एक–से–एक मन्त्री पनि लागे। नेपालमा चाँडै सरकार बदलिने भएकाले भनेजस्तै काम गर्न सकेनन्। काम गर्न नसक्दा कुरा बाहिर आइहाल्यो। अमेरिका उड्छु भनेर आश गरेका मान्छे नै कराउँदै प्रहरीमा उजुरी दिन थाले। त्यसपछि एक कान दुई कान सबैले थाहा पाए।

अहिले यो नक्कली भुटानी बनाउने काण्ड यसरी चर्किएर आयो कि अरु काण्ड पनि यसरी नै खुल्ने डर भयो। अरु काण्ड त सरकारले दबाएकै हो। जनताले थाहा पाएर पनि थाहा नपाएको जस्तो गरी बसे। तर नक्कली भुटानीको काण्ड निस्कँदा मानिसले सहन सकेनन् । संसद् पनि तात्यो, सडक पनि तात्यो ।

धेरैले यो काण्ड कसै गरेर पनि दबिनु हुँदैन भनेर भन्न थाले । हुन पनि सरकार पनि संकटमा पर्न थाल्यो । चल्न दिऊँ यसले क–कसलाई तान्ने हो भन्न नसकिने भयो । चल्न नदिऊँ जनताले धेरै चासो लिइसके, के गर्ने के गर्ने भनेर यताउति हेर्दै छ।

यो काण्ड यति धेरै चर्किएला भन्ने परेको थिएन। तर यो यस्तो अवस्थामा आयो जतिबेला मान्छे जागरुक बनिसकेका थिए। अब त नेता भनाउँदा जिल्ला भ्रमणमा जान पनि डराउँछन्। एक जना नेतालाई झापामा झण्डै लछारपछार गरेका थिए ।

यस्तो बेला कोही मानिस जंगबहादुर भएर निस्के भने केही भन्न सकिन्न । उसले के गर्छ भनेर पनि यकिन छैन। तर त्यस्तो मानिस नजन्मिकन छाड्दैन भन्ने अनुमान गर्न सकिन्छ ।

INS

प्रतिक्रिया