सोमबार, वैशाख १७, २०८१

त्यो केरकार !

नेपालखोज २०७९ फागुन २ गते १२:४४

आज १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन डे । प्रेमिल जोडीको लागि विशेष दिन वा प्रणय दिवस । विहान सवा ११ बजे, कान्ति बाल अस्पताल छेउको सामान्य होटल । जहाँ यसअघि नान, रोटी पाइन्थ्यो । भोकले च्याप्न थालेपछि रोटी खाने सुरले होटल छिरे । त्यो बेलासम्म मेरो मस्तिष्कमा भोक र रोटी थियो । जब होटल छिरे, तब ‘भ्यालेनटाइन डे’को झल्को । नआउन पनि कसरी ? यसो कुनाको टेबलमा एक प्रेमिल जोडी सामिप्यता दर्शाएर एक अर्का केरकारमा व्यस्त थिए । युवतिको खुला मुहार, युवकको मुहारमा कालो मास्क । उनीहरु प्रेमिल वातावरणमा कुनै प्रवाह विना अफिदै थिए ।

म सरासर किचन पुगे । रोटी सोधेँ । होटल सञ्चालकले रोटीको सुविधा नभएको बताएपछि अन्त जाने सोच पलाएन । खाना छ ?सोधे । उनीहरुले मलाई फर्काउन चाहेनन् । आफैँले खान लाको खाना खानुस् भने । मैले स्विकारे । भर्खरका युवायुवति गफिएको दृष्यले मन तानिरहेकै थियो । उनीहरुको वार्तालापलाई सुन्ने र हाउभाउलाई निहाल्न सकिने गरि ठिक विपरित कर्नरको टेवलमा बसेँ । त्यो बेला म भित्र रसिक भावना पलाइहाल्यो । म पुग्दा उनीहरुले प्रेमप्रस्ताव राखिसकेका थिए । स्विकार गर्ने काम पनि सकिसकेको थियो । त्यो सब उनिहरुको वार्तालापले पुष्टि गर्थ्याे ।

उनीहरु लङट्रम रिलेसनका लागि एक अर्कालाई केरकार गर्दै थिए । युवकले भन्दैथियो, ‘मैले कुनै गल्ती गरेँ भने गाली त गर्दैनौ नी ?’ युवतिले सोधिन्, ‘कस्तो गल्ती ?’ युवकले प्रष्टीकरण दिदैँ भन्यो, ‘जानीजानी गल्ती गरे भने त म आफैँ भनिहाल्छु । कहिलेकाँही नचाँहदा नचाँहदै गल्ती हुँदा भनेको के ? युवतिले विनम्रता पूर्वक भन्दै थिई, ‘त्यस्तो अवस्थामा त मैले मात्र हैन्, तिम्ले पनि त बुझ्नुपर्छ नी ।’ त्यसपछि युवकले मुन्टो हल्लाएर सहमति जनायो ।

मैले सुन्न भ्याएको यत्ति थियो । त्यसपछि उनिहरुले अन्य गफ त्यो लोकेसनमा गर्न चाहेनन्, सायद । युवतिले पिठ्यूमा असहज भएको बताइन् । तत्काल युवकले प्रेमिल सहानुभूति देखाइहाले । युवतिको पिठ्यूमा सुमसुमाएर माया प्रकट गर्यो । त्यो दृष्य लामो चलेन । त्यसपछि उनीहरु पालैपालो बाथरुम गए । त्यहि बेलामा युवतिले होटलको चियापानको बिल तिरी । युवति र होटल सञ्चालक बिचको कुरा सुन्दा यस्तो लाग्थ्यो, उनीहरु त्यो होटलमा यसअघि पनि पटक पटक आइनै रहन्थे । तर आजको भेट प्रपोजकै लागि थियो । त्यो यसअघिको दृष्य र वार्तालापले प्रष्ट पार्थ्याे ।

उनिहरुलाई गोप्यता पनि चाहिएको थिएन । कुनै एकान्त वातावरण पनि आवश्यक थिएन । थियो त उनीहरु नर्मल होटलमा चियाको चुस्की लिदै पिरतीको हुस्की खाने तयारी गर्दैनथे । उनीहरुमा ‘तातै खाँउ जलि मरु’ भन्ने हुटहुट पनि थिएन । त्यसो थियो त, उनिहरुले अन्य लोकेसन प्रयोग गर्थे ।

उनिहरु निस्कदासम्म मैले खाना आधा–उदी खाइसकेको थिए । उनिहरु निस्किएपछि गाँसको रफ्तार बढाए । एकछिनमै होटलबाट निस्किए । त्योबेला सम्म पनि उनीहरु सडकको छेउमा गफिदै थिए । उनीहरु झट्ट छुट्टिने मुडमा देखिदैनथे । सायद, प्रेमिल भाव मिसाएर कुनै विषयमा गफ हुदैँ थियो । वा अर्को गन्तव्यको बारेमा सल्लाह हुदैँ थियो । सबै कुरा सुन्ने कुरा पनि भएन । मात्र अड्कलको कुरा हो । त्यसपछि म मोटर चढेर अफिल हुइँकिए ।

प्रतिक्रिया