आइतबार, जेठ ६, २०८१

५१ वर्षपछि खुलेको चेत

कृष्ण पोखरेल २०७९ फागुन ३ गते ७:३७
कृष्ण पोखरेल

अनेरास्ववियूको तेइसौं सम्मेलनको उद्घाटन भाषणमा मन्तव्य दिंदै एमालेका अध्यक्ष केपी ओलीले भने, ‘पहिला पहिला हाम्रो पालातिर बुर्जुवा शिक्षा बहिस्कार गरौं कसैले भने । कसैले क्या मौका मिल्यो पढ्न गाह्रो भइरहेको थियो, बुर्जुवा शिक्षा बहिस्कार गरौंको नारा च्याप्प समात्यो’ । उनले फेरि भने– ‘वास्तवमा त्यो बुर्जुवा शिक्षा बहिस्कार गरौं भन्ने नारा विल्कुल नचाहिने काम थियो र त्यो संस्थागत रुपमा कसैले दिएको पनि होइन।’

उनको यो कथन अखवारमा पढ्दै गर्दा उनीसँग आज भन्दा एकाउन्न वर्ष अघि अर्थात २०२८ सालमा झापाको घैलाडुब्वा स्कूलको एक कोठामा भूमिगत अवस्था मै जुरेको भेट र त्यहाँ भएको वार्तालापको सम्झना भयो । म मेची कलेजको फुटबल टिम लिएर त्यहाँ पुगेको थिएँ । त्यसबेला उनी केपी भन्दा पनि खड्गजी भनेर चिनिन्थे । कुरा गर्न बस्दा मेरा साथमा थिए, आइ.ए.का मेरै विद्यार्थी जनार्दन न्यौपाने । उनीहरु पूर्वपरिचित रहेछन् । मेरो भने उनीसँग त्यो पहिलो भेट थियो ।

परिचयपछि म सँग त विश्व राजनीतिका विषयमा केही कुराकानी भए । उनको मुख्य निशानामा जनार्दन थिए । उनी जनार्दनलाई आफुहरुले समाएको क्रान्तिको बाटोमा हिंड्न कन्भिन्स गर्न थाले । उनको तर्क थियो– हेर, बुर्जुवा शिक्षा पढेर के हुन्छ ? त्यसले समाजको मुक्ति हुँदैन क्यारे ! कि राजनीति बुझेको छैन भन, म बुझाउँछु । बुझेका छौ भने हामीसँग क्रान्तिमा हिँडिहाल । बुझ्यौ, बुर्जुवा शिक्षाले मानिसमा भएको क्रान्तिकारी भावनालाई समेत भुत्ते बनाउँछ । पेट्टी बुर्जुवा मेन्टालिटी जगाउँछ । र अन्ततः प्रतिक्रियावादी कित्तामा पु¥याउँछ । त्यसैले हामीले त वुजुर्वा शिक्षा बहिष्कारको नारा दिएका छौं ।

तिनताक जनार्दन तत्कालिन मेची कलेजमा अनेरास्ववियूको सक्रिय विद्यार्थी नेता थिए । कलेजको स्ववियूमा प्यानलै अनेरास्ववियूले जितेको थियो र सभापति थिए सीपी मैनाली । तर त्यसबेला सम्ममा उनी भूमिगत भइसकेका थिए । र स्ववियूको पनि नयाँ निर्वाचन हुने बेला आइसकेको थियो । जनार्दनले साथीहरु मार्फत खड्गजी सँग पनि एस.एल.सी. पास गरेका साथीहरुलाई कलेजमा भर्नाका लागि पठाउन खबर गरेका रहेछन् । त्यै कुरा समाएर जनार्दनलाई उनी भन्दैथिए,– यहाँ क्रान्तिकारी राजनीति अंगीकार गरेर साथीहरु समाज मुक्तिको बाटोमा हिँडिसके, तिमीहरु चाहीँ तिनलाई कलेज भर्ना हुन पठाउ भन्छौ । किन भन्दा स्ववियू चुनाव जित्न । स्ववियूको चुनाव जितेर क्रान्ति हुन्छ ? त्यो त संसदीय बाटो हो र त्यसले क्रान्तिकारी धारलाई भुत्ते मात्रै बनाउँछ ।

केपीजी एकाउन्न वर्षपछि भए पनि चेत खुलेकोमा बधाई । जब जागे तब सवेरा । तर आफ्नै नारालाई अरु कसैको ढेस्सा किन लगाउनू ? त्यो बेला त्यै बुझेका थियौं त्यै भन्यौं भन्दा पनि त हुन्थ्यो नि !

प्रतिक्रिया