सोमबार, जेठ ७, २०८१

के हुँदैछ बर्लिन फिल्म फेस्टिभलमा

नेपालखोज २०७९ फागुन ६ गते ११:५१

युरोपका तीन ठूला महोत्सवमध्येको एक बर्लिन फिल्म फेस्टिभल सुरु भएको छ । राजनीति र कलालाई एकसाथ ल्याउने यो महोत्सवमा यसपटक युक्रेनको युद्ध तथा इरानको सत्ता विरोधी प्रदर्शनमा केन्द्रित छ ।

राजनीति र कला यी दुवै विषयले परापूर्वकालदेखि नै मानिसलाई आकर्षित गर्दै आएका छन् । यी दुई कुराले नै मानिसलाई मानिस हुनुको विशेषता दिन्छन् ।

बर्लिनेल संसारका पाँच ठूला चलचित्र महोत्सव मध्ये एक ह‍ो र यो राजनीतिक प्रवृत्तिका लागि प्रसिद्ध छ । शाहरुख खानको ‘माई नेम इज खान’ र रणवीर सिंहको ‘गली ब्वाय’ पहिलो पटक यहिँ प्रदर्शन भएका थिए । अहिले विश्वको सबैभन्दा ठूलो राजनीतिक मुद्दा युक्रेनमाथि रुसको आक्रमण , इरानमा स्थापना विरोधी प्रदर्शन तथा अफगानिस्तानमा तालिवानको कठोर कानुन भएकाले यो फिल्म फेस्टिभल पनि यिनै विषयहरूमा घुमिरहेको छ ।

राजनीति र कलाको सन्तुलन

चलचित्र महोत्सवको सुरुवात रमाइलो भयो । कला र राजनीतिको उत्कृष्ट सन्तुलन देखाउँदै महोत्सवको उदघाटन युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको मन्तव्यबाट भएको थियो भने उदघाटन समारोहमा रोमान्टिक फिल्म ‘शि कम टु मी’ प्रदर्शन गरिएको थियो । युक्रेनमा रुसले गरेको आक्रमणको एक वर्ष पूरा भैरहेका बेला यो फिल्म फेस्टिभलको आयोजना गरिएको हो । यस्तो अवस्थामा उत्सवका कतिपय घटना युक्रेन युद्धको वरिपरि घुमिरहेका छन् ।यसमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीमाथि बनेको फिल्म ‘सुपरपावर’को वर्ल्ड प्रिमियर पनि समावेश छ । ‘इनटू द वाइल्ड’ जस्ता उत्कृष्ट फिल्म बनाएका सिन पेन नै ‘सुपरपावर’का निर्देशक हुन् । फेस्टिभलको उदघाटनमा जेलेन्स्कीको भर्चुअल भाषणका बेला उनि स्वयं पनि स्टेजमा उपस्थित थिए । उदघाटनमा जेलेन्स्कीले भने, “चलचित्रले संसार बदल्न सक्दैन तर यसले संसारलाई परिवर्तन गर्न सक्नेहरूलाई प्रभाव पार्न र प्रेरित गर्न सक्छ ।”

रुसी तथा इरानी सरकारसँग सम्बद्ध व्यक्तिहरू माथि प्रतिबन्ध

उद्घाटनमा जर्मन संस्कृतिमन्त्री क्लाउडिया रोथले युक्रेन, इरान तथा अफगानिस्तानका जनतासँग ऐक्यबद्धताको कुरा गरिन । यो महोत्सवमा रूसी तथा इरानी सरकारहरूसँग प्रत्यक्ष सम्बन्ध भएका निर्देशक, उत्पादन कम्पनी तथा पत्रकारहरूलाई भाग लिन प्रतिबन्ध लगाइएको छ । यो फिल्म फेस्टिभल २६ फेब्रुअरीमा अवार्ड वितरणसँगै समापन हुनेछ । यी ११ दिनमा विश्वभरका करिब ३ सय चलचित्र प्रदर्शनमा आउनेछन् ।

प्रतिक्रिया