‘नयाँ संस्था खोल्न लागेका हौँ, समानान्तर हैन’

काठमाण्डौं । लोक गायक विष्णु खत्रीले समग्र लोक संगीतको बृहत्तर विकास र संवद्र्धनका लागि नयाँ संस्था स्थापनाको तयारीमा लागेको बताएका छन् ।
विभिन्न सञ्चारमाध्यममा लोक दोहोरी प्रतिष्ठानको समानान्तर संस्था गठनको तयारी आशयको समाचार प्रकाशित भएपछि गायक खत्रीले नयाँ संस्था खोल्न लागेको बताएका छन् । सामाजिक सञ्जालमा प्रष्टीकरण दिदै उनले लेखेका छन्, ‘न्यूज पनि भ्युजका निम्ति लेखिन थालेछन् । समानान्तर संस्था रे ! हामी कसैका बिरुद्ध संस्था खोल्दैनौ । खोल्छौ त धेरै नयाँ, भिन्न, बृहत, समाबेशी र पारदर्शी संस्था खोल्छौँ ।’
उनले संस्कृतिको लागि आफ्नो जीवन अर्पण गरेका अग्रजका अनुभवलाई व्यवहारमा उतार्न, अध्ययन र अनुसन्धानका लागि प्लेटफर्म तयार पार्न, नयाँलाई मार्गनिर्देशन दिन र प्रोत्साहन गर्न, संस्कृतिको संरक्षण र प्रवद्र्धन गरी अन्तराष्ट्रियकरण गर्न नयाँ संस्था गठनको तयारीमा लागेको बताए ।
उनले भनेका छन्, ‘हामी संस्थाको नाममा ‘लोक’ शब्द राखेर संस्थालाई साँघुरो घेरामा सिमित राख्ने पक्षमा छैनौँ ।’ हामी जिल्ला, उपत्यका, प्रदेश र विदेशमा विस्तारित हुनेछौं ।’ उनले भन्किएको आवाजमा बानी पारेकाहरु भुनभुनाउने आवाजलाई अनौठो मान्ने बताएका छन् ।
लोक गायक खत्री राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्वमहासचिव समेत हुन् । अध्यक्ष बन्नका लागि ३ पटकसम्म निर्वाचन लडे तर निरन्तर पराजित बने । चन्द्र शर्मा, बद्रि पंगेनी र रमेश विजिसँग पराजित बनेका खत्री यो पटक प्रतिष्ठानबाट बाहिरिने अन्तिम तयारीमा छन् । उनीसहित अग्रज गायक बम बहादुर कार्की, वैकुण्ठ महत लगायतको टीम संस्था गठनको अन्तिम तयारीमा छन् । खत्रीले भने, ‘हामी विधानलाई अन्तिम स्वरुप दिदैछौँ ।’
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिबेशन फागुन १२ देखि १४ सम्म धादिङमा सम्पन्न हुदैँछ ।
प्रतिक्रिया