शनिबार, जेठ ४, २०८२

यू-१९ विश्वकप छनोटमा नेपालले हङकङलाई हरायो

नेपालखोज २०७९ फागुन १५ गते १६:३७

काठमाडौं । आईसीसी यू–१९ पुरुष विश्वकप एसिया छनोटमा नेपालले हङकङलाई ९ विकेटले हराएको छ । युएईको अजमानस्थित मलेक क्रिकेट मैदानमा सोमबार हङकङले दिएको १२१ रनको लक्ष्य नेपालले २२.१ ओभरमा १ विकेट गुमाएर पूरा गरेर जित निकालेको हो ।

नेपालका लागि ओपनर आकाश त्रिपाठीले अविजित रहँदै सर्वाधिक ६४ रन बनाए भने उत्तम थापा मगरले अविजित ३९ रन बनाए । छक्का प्रहार गर्दै जिताएका आकाशले ७२ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे । ५० बल खेलेका उत्तमले ४ चौका प्रहार गरे ।

२६ रन जोड्दा नेपालले छैटौं ओभरमा पहिलो विकेट गुमाएको थियो । तर आकाशले उत्तम थापा मगरसँग दोस्रो विकेटका लागि अविजित ९८ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाए । ओपनर अर्जुन कुमालले १६ रन जोडे ।
हङकङका डानिएल मोर्गन मपले १ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको हङकङ नेपाली बलरको कसिलो बलिङ सामु ४६.३ ओभरमा १२० रनमा अल आउट भएको थियो ।

सोमबार नै भएको अर्को खेलमा युएईले सिंगापुरलाई ८ विकेटले हराएर लगातार तेस्रो जित निकालेको छ । अपराजित नेपाल र युएईको ३ खेलबाट समान ६ अंक छ । नेपालले अब अर्को खेल मलेसियासँग मंगलबार खेल्नेछ । नेपाल र युएईबीच अन्तिम खेल बिहीबार हुनेछ । सिंगल राउण्ड रोविनको खेलपछि शीर्ष स्थानमा रहनेछ टिम २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपमा छनोट हुनेछ ।

प्रतिक्रिया