शुक्रबार, जेठ ४, २०८१

आज वीरेन्द्र र ऐश्वर्यको विवाह भएको दिन

सुनिल उलक २०७९ फागुन १६ गते १८:४३

आज फागुन १६, ५३ वर्ष अगाडि आजकै दिन तत्कालीन युवराज वीरेन्द्रको शुभ विवाह भएको थियो ।

यो विवाह यति धेरै बिलासी थियो कि संसारको सबैभन्दा खर्चालु विवाहको सूचीमा पर्न सक्यो । २०२५–२६ मा नेपालको वार्षिक बजेट मुस्किलले ६७ करोड पुगेको समयमा विवाहको सम्पूर्ण खर्च १६ करोड भन्दा बढी भएको थियो । समयको परिवर्त्य मूल्यको आधारमा आजको मूल्यमा तुलना गर्ने हो भने यो रकम झन्डै १२ अरब हुन जान्छ । साथै सिंहदरबारका १२ सय वटा कोठा खाली बनाएर दुलहीको परिवार र विवाह समारोहको लागी सजाइएको थियो ।

विवाह समारोहको लागी सहभागी हुन ५० देशका राष्ट्र प्रमुखलाई निम्त्याइएको थियो । तर केवल भारत, श्रीलङ्का र लाओसका राष्ट्र प्रमुख मात्र आए भने अन्यले प्रतिनिधि पठाए । ३ सय जना विशिष्ट विदेशी पाहुनाको लागी काठमाडौँका ठुला होटल सबै बुकिङ गरिएका थिए । नौ दिन लामो कार्यक्रममा देशभरबाट पनि पञ्चायतका अग्रणीहरूलाई निम्त्याइएको थियो ।

काठमाडौँ उपत्यकाको सिँगार्ने काम ६ महिना अगाडिबाट थालिएको थियो । सडक सुधार देखी लिएर गरिबी देखिने बस्ती छेक्न ठुला ठुला इटाका पर्खालहरू पनि खडा गरिएका थिए । बिजुली बत्तीको व्यवस्थाको लागी पनि ठुलै रकम राज्यबाट खर्चिएको थियो ।

विवाह समारोहमा आउने विशिष्ट पाहुनाको लागी जापानबाट २ सय वटा गाडी ल्याइएको थियो भने भारतको दिल्लीबाट दुई वटा जहाज भरि खानेकुरा ल्याइएको थियो । १५० वेटरहरू पनि भारतबाट नै आएका थिए भने कोकाकोला पनि भारतबाट नै ल्याइएको थियो । सयौँ क्विन्टल बास्नादार फूल निडरल्याण्डबाट ल्याइएको थियो । विवाह समारोहको विशेष बग्गीको लागी चार वटा विशेष प्रजातिको अरबी घोडा बेलायतबाट ल्याइएको थियो । साथै चितवनबाट नौ वटा तालिम प्राप्त हात्ती पनि लगिएको थियो । यही अवसरमा विदेशबाट आउने पर्यटकलाई लक्षित गर्दै दुई होटल खुलेका थिए ।

(माथिको विवरणको श्रोत फेब्रुअरी२५, १९७० को न्यु योर्क टाइम्स)

हिप्पीहरूको बिस्तारै बाहुल्यता बढ्दै गरेको काठमाडौँको प्रमुख स्थानहरू फ्रिक स्ट्रिट झोछे तथा स्वयम्भू क्षेत्रमा तीन महिना अगाडी देखी नै ह्यासिस बिक्री तथा उपभोगमा प्रतिबन्ध लगाइएको थियो । साथै हिप्पीहरूलाई देश बाहिर जान लगाइएको थियो ।

विवाह समारोहका अधिकांश कार्यक्रम सिंहदरबारमा नै गरिएको थियो । दुलाहा युवराज वीरेन्द्रको सवारीको लागी चाँदीले ढाकिएको विशेष प्रकारको हौदा बनाइएको थियो । नारायणहिटी देखी सिंहदरबार सम्मको वरियताको कार्यक्रममा हजारौँ सहभागी भएका थिए । दुई दिन लामो वैवाहिक कार्यक्रममा सयौँ पुरोहितहरू खटिएका थिए । अग्निमा सात फेरे लिए पछि विवाहको प्रथम चरण समाप्त भएको थियो । दोस्रो दिन करिब २०० जना परिवारका सदस्यले दुलाहा दुलहीको पाउको जल खाने कार्यक्रम गरिएको थियो ।

विवाहको महत्त्वपूर्ण कर्म सप्तपदीमा युवराज वीरेन्द्रले भावी युवराज्ञी ऐश्वर्यको दाहिने खुट्टाको बुढी औला छोएर सप्तपदीको लागी लावा छरेर बनाइएको मण्डपमा जान आग्रह गरेका थिए । यसरी सप्तपदी कर्म पछि मात्र पत्नीले पतिको गोत्र प्राप्त गर्ने, अर्धांगिनीको रुपमा बाँया तर्फको आसनको अधिकार प्राप्त गर्ने तथा पतिले जीवनको सहयात्री बन्ने कसम खाने गरिन्छ । यस फिल्ममा पनि सप्तपदी कर्मको लागी युवराजले आफ्नो दाहिने हातले भावी युवराज्ञीको दाँया खुट्टाको बुढी औला छोएको देख्न सकिन्छ ।

अन्तत, विवाहको कार्यक्रम पश्चात् विदेशबाट आएका विशिष्ट पाहुनाहरूले नव विवाहित युवराज तथा युवराज्ञीलाई शुभकामनाको साथ नेपालको पनि प्रशंसा गर्दै फर्किएका थिए । यसरी फर्केन विशिष्ट पाहुना मध्य जर्मनका प्रधानमन्त्रीले जर्मन चान्सलरको विशेष इच्छामा युवराज्ञीलाई दाइजो स्वरूप भक्तपुरको पुजारी मठ मर्मत गरी यसको चाबी युवराज्ञीलाई हस्तान्तरण गरेका थिए । पछि यही योजना नै विस्तृत योजनामा परिणत भएर भक्तपुर विकास परियोजनाको सुरुवात भएको थियो ।

प्रतिक्रिया