‘राष्ट्रपतिले संविधान र स्वाधीनताको रक्षा गर्न सक्नुपर्छ’

नेपालखोज २०७९ फागुन १८ गते १६:१४

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अब बन्ने राष्ट्रपतिले संविधानको रक्षा र राष्ट्रिय स्वाधीनतालाई केन्द्रविन्दुमा राखेर आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । उनले कसैको लहडमा लागेर संविधान मिच्ने राष्ट्रपति जनताले नखोजेको बताएका छन् । आठ दलीय गठबन्धनका सांसदहरुका लागि बिहीबार आयोजित अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपतिको भूमिकाबारे नेपालले यस्तो बताएका हुन् ।

उनले संविधानको रक्षा,आफुले निभाउनुपर्ने कर्तव्य र जिम्मेवारीहरुका बारेमा सबैभन्दा पहिले अबको नयाँ राष्ट्रपति प्रष्ट हुन जरुरी रहेको बताए । राष्ट्रि हित, राष्ट्रिय स्वाधीनता र संविधानको संरक्षणलाई केन्द्रविन्दुमा राखेर संविधानको रक्षा गर्नुपर्ने कुरालाई केन्द्रविन्दुमा राख्नुपर्यो भन्ने कुरा आफुले राखेको अभिमुखीकरणपछि संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले बताए ।

उनले राष्ट्रिय चुनौतीहरुलाई ख्याल गर्ने र एकताबद्ध भएर सबैलाई लैजान सक्ने भूमिका राष्ट्रपतिबाट हुनुपर्ने पनि बताएका थिए । उनले चुनावमा नेकपा एसका तर्फबाट सबै सांसदहरुको मत कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा जाने प्रतिबद्धता जनाएका थिए । राष्ट्रपतिको चुनाव फागुन २५ गते हुँदैछ । यसका लागि कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा, जनमत, लोसपा, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चा गरी आठ दलको गठबन्धन बनेको छ ।

प्रतिक्रिया