आइतबार, जेठ ६, २०८१

कुनै बेला नेपालको गौरव, नेपालको रोपवे

सुनिल उलक २०७९ फागुन २१ गते १९:२५
सुनिल उलक

राणा प्रधानमन्त्री चन्द्र शमशेरको शासनकालमा पहिलो विश्व युद्ध भएको थियो । यही युद्धमा नेपालको तर्फबाट पनि बेलायती सरकारलाई सैनिक सहयोग गरेको हुँदा पनि बेलायती सेनालाई हौसला पुगेको थियो । अन्ततः युद्धमा बेलायतको जित भयो । विश्व युद्धको समाप्ति पछि बेलायत सरकारले नेपाललाई सहयोग गर्ने बाचा गरे । करिब २० हजार गोर्खालीको मृत्यु भएको यस युद्धमा मृत्यु हुने कैयौँ नेपाली अज्ञात थिए । मृत्यु भएका अज्ञात गोर्खालीहरूको आफन्त भेटिएनन् ।

मृत सैनिकले पाउनुपर्ने आर्थिक सहयोगलाई बेलायती सरकारले नेपाल र नेपालीहरूको लागी नै खर्च गर्ने उद्देश्य स्वरूप नेपाल सरकारलाई वार्षिक १० लाख रुपैयाँ उपलब्ध गराउने भयो । यही सहयोगको रकमबाट नै भारतीय सहर रक्सौलबाट अमलेखगन्जसम्म रेलवे पनि चलाइएको थियो । बेलायती इन्जिनियर आर. एस. अन्डर हिललाई रक्सौल देखी भैँसे ढोरसिंग हुँदै काठमाडौँ पुग्न सकिने सडकको लागी सर्वेक्षण गर्ने जिम्मा लगाइएको थियो ।

चन्द्र शमशेर काठमाडौँ उपत्यकामा सस्तो खाद्यान्न आपूर्तिको लागी पनि यो सडक निकै आवश्यक रहेको हुँदा छिट्टै बनाउने सोचमा थिए । अन्डर हिलले १९७९ मा नेपाल सरकारलाई बुझाएको रिपोर्टमा भीम फेदी र थानकोट दुबैमा ९०० मिटर अग्लो ठाडो डाँडा भएको हुँदा कुनै पनि गाडी चलाउन सकिने बाटो बनाउन नसकिने भनेर जानकारी गराए । तर बिजुलीबाट चल्ने रोपवेबाट भने सामग्री ढुवानी गर्न सकिने जानकारी गराए ।

अमलेखगन्जसम्मको रेलवेसँगै काठमाडौँबाट भीम फेदी जोडिने रोपवेको पनि तैयारी सुरु भयो । इन्जिनियर आर. एस. अन्डर हिलले बुझाएको सर्भे रिपोर्ट अनुसार करिब १ लाख पाउन्डमा १४ माइल लामो रोपवे तैयार गर्न सकिने थियो । पहिलो स्टेसन भिमफेदी नजिकैको धुर सीङ र अन्तिम काठमाडौँ नजिकैको किसिपिदी थियो । ५ cwt अर्थात् ५०० पाउन्ड (२५४ केजी तौल) ४.२५ माइल प्रति घण्टाको दरले एक घण्टामा ८ टन सामग्री ढुवानी गर्न सकिन्थ्यो । यसको लागी हरेक २४० गजको दुरीमा २९ टन भार क्षमताको ७/८ इन्च मोटो तारलाई १० फिट ब्यासको गोलो चक्कामा घुमाइन्थ्यो । यी तारहरूलाई हरेक १३०० गजको दुरीमा बनाइएका १०६ वटा स्टिलको ढाँचामा अड्याइएको थियो ।

यस रोपवेको सम्पूर्ण सामग्री मेसर्स, किमर, सन एन्ड कम्पनी लन्डनले तैयार बनाएको थियो भने जडान गर्नको लागी दुई इन्जिनियर मेसर्स आर. पियरसन र ए. जे. नाइट आएका थिए । रोपवेको लागी आवश्यक बिद्युत् आपूर्तिको लागी फर्पिङ जलविद्युत केन्द्रबाट उत्पादित बिद्युत् नै उपयोग गरिएको थियो । यसरी सुरु गरिएको रोपवेले नेपालको ढुवानी क्षेत्रमा निकै सहयोग गरेको थियो । २०२१ सालमा अमेरिकी सहयोग संस्था USAID को सहयोगमा हेटौडा सम्म विस्तारित गराइ ४२ कि.मि. लामो बनाइयो । यसरी प्रतिघण्टा २५ टन सम्म सामान ढुवानी गर्न सक्ने रोपवेले २०४५ सालको भारतीय नाकाबन्दीमा निकै सहयोग गरेको थियो ।

२०५० मा अत्यधिक वर्षातले सडक यातायात बन्द हुँदा समेत यसले खाद्यान्न आपूर्तिमा निकै सहयोग पुर्‍याएको थियो । निकै लामो अवधिसम्म सञ्चालित यो रोपवे सेवा २०५६ साल वैशाखमा भैँसे स्थित सवस्टेशनको ट्रान्सफर्मर पड्कँदा बन्द भयो । केही समय पछि तारहरू पनि चुँडिए । सवस्टेशनले सरकारलाई मर्मत खर्च बापत ४ लाख उपलब्ध गराइदिन पत्र लेख्यो । तर शेरबहादुर देउवाको सरकारले मर्मतको लागी रकम उपलब्ध गर्नुको साटो २०५९ सालमा रोपवे सेवालाई नै खारेज गरिदियो । बन्द हुनु अगाडी सम्म प्रति केजी ३४ पैसामा हेटौडाबाट काठमाडौँ दैनिक २२० टनसम्म सामान ओसारपसार गर्दथ्यो ।

दैनिक १० घण्टा सञ्चालन गर्न करिब ९०० जनाले रोजगारी पाएका थिए । केवल ४ घण्टामा हेटौडा काठमाडौँ सामग्री ढुवानी गर्ने रोपवे सेवालाई देउवा सरकारले कसको सल्लाहमा किन बन्द गरेको थियो थाहा पाउन नै सकिएन ।

प्रतिक्रिया