आइतबार, जेठ ६, २०८१

कोदारी राजमार्ग र भारतको पहिलो नाकाबन्दी

नेपालखोज २०७९ फागुन २३ गते ७:२६
सुनिल उलक

सदियौँ देखी नेपाल र चीन बिच सम्बन्ध बलियो हुँदै आएको छ । देशमा प्रजातन्त्र आएपछि विभिन्न देशसँग सम्बन्ध बनाउने क्रममा नेपाल र चीन बिच दौत्य सम्बन्ध राख्ने प्रयास भयो । चिनिया प्रधानमन्त्री चाउ एन लाइले २०११ को असोजमा नेपालसँग दौत्य सम्बन्ध राख्न चाहेको वक्तव्य दिएका थिए, जसको कारणले भारतका लागी चिनिया राजदूत जनरल युआन झुयानसुन तथा भारतका लागी नेपाली राजदूत दमन शमशेर जबरा बिच २०११ सालको कार्तिकमा दिल्लीमा भेटघाट भयो । तर कुनै निर्णय बिना नै वार्ता समाप्त भयो । यसको करिब एक वर्ष पछि साउन २०१२ मा चीन सरकारले जनरल युआनलाई ६ जना उच्च स्तरीय प्रतिनिधिको साथ वार्ताको लागी काठमाडौँ पठायो । ५ दिन लामो गहन छलफल पछि साउन १७, २०१२ मा नेपाल र चीन बिच दौत्य सम्बन्ध स्थापना भयो ।

हजारौँ वर्ष देखि सम्बन्ध रहँदै आएको नेपाल र चीन बिच कूटनीतिक सम्बन्ध स्थापना भए पछि पहिलो पटक चिनिया उच्च पदस्थको रूपमा उप प्रधानमन्त्री उलान्हु राजा महेन्द्रको शुभ राज्याभिषेकमा पाहुना भएर २०१३ को वैशाखमा काठमाडौँ आएका थिए । २०१३ को माघमा चिनिया प्रधानमन्त्री चाउ एन लाई नेपाल भ्रमणमा आएका थिए । यस बिच चीनले तिब्बतलाई आफ्नो एक राज्यको रूपमा समाहित गर्न सफल भयो । यता नेपालमा पनि आम चुनाव पछि प्रजातान्त्रिक सरकार गठन भयो । साथै सरकार प्रमुखको हैसियतले बिपी कोइरालाले २०१६ को चैत्रमा चीनको भ्रमण गरे । त्यस भ्रमणको समय चिनिया पक्षले नेपालमा विभिन्न सहयोगको इच्छा देखाएको थियो । २०१८ असोज १९ मा राजा महेन्द्र र चिनिया समकक्षी राष्ट्रपति ल्यू शाआची द्वारा सीमा तथा मैत्री सन्धि भएको १० दिन पछि नेपालका परराष्ट्र मन्त्री तुलसी गिरी र चिनिया विदेश मन्त्री चेन ई ले कोदारी राजमार्ग निर्माण सम्झौतामा हस्ताक्षर गरेका थिए ।

नेपाल र चीन बिचको यस सम्झौताको भारतले विरोध गर्न थाल्यो । यसरी चीन सरकार नेपाल सँगको सम्बन्ध प्रगाढ बढाउन अघि सरेको भारतलाई सह्य भएन । भारतले भारतीय सिमामा पहिलो पटक नाकाबन्दी लगायो । २०१९ सालको वैशाखको अन्ततिर सुरु भएको नाकाबन्दी करिब ६ महिना सम्म रह्यो । तर राजा महेन्द्र नेहरुबाट त्रसित भएनन् । त्यसैले राजा महेन्द्रले नेहरुलाई ‘नेपालमा साम्यवाद ट्याक्सी चढेर आउँदैन’ भन्दै हँस्यौली पारामा जवाफ दिएका थिए । हुन पनि नेपालमा कम्यूनिज्मको ‘क’लाई पनि राजा महेन्द्रले भित्रिन दिएनन् । सुरुमा चीनसँगको सम्बन्ध स्थापना गर्न खोज्दा भारतको विरोध सुरु हुँदा वाम विचार धाराका तथा भारत विरोधी टङ्कप्रसाद आचार्यलाई प्रधानमन्त्री बनाएका थिए । तर समयकालसंगै धेरै परिवर्तन भए । देशमा राजा महेन्द्र मात्रै होइन बिस्तारै राजतन्त्र नै गयो । अन्ततः ट्याक्सी चढेर नआउने कम्यूनिज्म नेपालमा बन्दुक बोकेर आयो ।

सम्झौता भए पछि २०१९ फागुनमा नेपाल सरकारले उच्च स्तरीय कोदारी राजमार्ग निर्माण समिति गठन गर्‍यो र कामको थालनी पनि गर्न लाग्यो । चिनिया ठेकेदारले बाटो सम्याउन थाले पछि गाडीहरू पनि गुड्न थाले । काठमाडौँबाट बनेपाका लागी जिपहरू गुडाइन्थ्यो । तस्बिरमा यही केही सम्याइएको सडकमा असारे वर्षातले हिलाम्मे बनाउँदा जिप फसेको देख्न सकिन्छ । जिप फसे पछि सडक नै एक प्रकारले जाम भएको देख्न सकिन्छ ।

चार वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने थियो तर विभिन्न अवरोधले पाँच वर्ष लाग्यो । राजमार्ग निर्माणको कठिन क्षेत्रमा गोप्य रूपमा चिनिया सेनाको सहयोग लिइएको थियो । करिब ५०० चिनिया सैनिकहरूको नेतृत्व लेफ्टिनेन्ट कर्णेल लि ले गरेका थिए । भारतको विरोधको सम्भावनालाई देखेर सैनिक परिचालनको सम्झौता राजा महेन्द्र र माओ बिच गोप्य राखिएको थियो । नेपालको सरकारी स्तरमा पनि यसको जानकारी दिइएको थिएन । चिनिया सैनिकहरूको सुरक्षार्थ तथा निगरानीमा दरबारका विश्वासिला मेजरहरूको कमान्डमा नेपाली सेना, निर्माण स्थलको १०० मिटर दुरीमा क्याम्प बनाएर बस्दथे । यसको रहस्योद्घाटन निकै वर्ष पछि पूर्व चिनिया राजदूत चेङ सुयोगबाट ‘You and Us: Stories of China and Nepal’ मा उल्लेख गरेका थिए । यस पुस्तकमा चीन नेपाल सम्बन्धको विषयमा १६ चिनिया कूटनीतिज्ञ तथा सात नेपाली लेखकका लेखहरू समावेश गरिएको छ । सुयोग राजमार्ग निर्माणको समय चिनिया सेनाका कमान्डर लेफ्टिनेन्ट कर्णेल लि का दोभासेको रूपमा कार्यरत थिए ।

यसरी २०१९ मा निर्माण थालनी भएर २०२४ सालमा तैयार भएको राजमार्ग निर्माणको क्रममा १२ चिनिया सैनिकले ज्यान गुमाएका थिए । करिब ३५ लाख पाउन्ड खर्च भएको यस राजमार्गको उद्घाटन राजा महेन्द्रले २०२४ सालको असारमा गर्दा भक्तपुरमा भव्य समारोह गरिएको थियो । चिनिया पक्षले राजमार्ग सम्पन्न भएको अवसरमा भव्य भोजको व्यवस्था गरेको थियो ।

प्रतिक्रिया