‘कांग्रेससँग सहकार्य नगर्ने कसम खाएको छैन’

नेपालखोज २०७९ फागुन २५ गते १४:२३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनपछि नेपाली कांग्रेस र एमालेबीच सहकार्य हुन सक्ने संकेत गरेका छन् ।

बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रपति निर्वाचनमा मतदान गरेपछि पत्रकारहरुसँग कुरा गर्दै कांग्रेससँग सहकार्य नगर्ने कसम नखाएको बताए । उनले राजनीतिमा जे पनि सम्भव हुने बताएका छन् । ‘राजनीतिमा जे पनि सम्भव छ, केही पनि सम्भव छैन भन्छन् नि, त्यही हो । एक ठाउँमा नआउने भनेर कसम खाएको छैन’ उनले भने ।

बिहीबार निर्वाचित हुने राष्ट्रपतिले देशको हित, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानको रक्षा, जनताप्रति उत्तरदायी, संविधानको पक्षमा उभिने र देशको अभिभावकको भूमिका वहन गर्नुपर्ने बताए ।

ओलीले विगतमा संकीर्ण स्वार्थ बोकेकाहरुले सानो स्वार्थ पूरा भएन भनेर राष्ट्रपतिको आलोचना गरेको पनि बताए । यसअघिका राष्ट्रपतिहरु डा. रामवरण यादव र विद्या भण्डारी दुबैले राम्रो काम गरेको ओलीको भनाइ छ ।

प्रतिक्रिया