बिहीबार, वैशाख २०, २०८१

नेपालको गौरवमय दिन

सुनील उलक २०७९ फागुन २६ गते ११:१४

काठमाडौं । आजकै दिन ६७ वर्ष अगाडि नेपालको राष्ट्रिय झन्डा संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा पहिलो पटक फहराइएको थियो । वि.सं. २००६ साउन ७ गते लेफ्टिनेन्ट जनरल विजय शमशेर राणा विदेशी विभागको डाइरेक्टर जनरलको रूपमा संयुक्त राष्ट्र सङ्घ पुगेका थिए । २००२ कार्तिक ८ मा स्थापना भएको संयुक्त राष्ट्र सङ्घमा केवल ५१ राष्ट्र मात्र सदस्यहरू थिए । जसमध्ये ५० राष्ट्रले २००२ को असार १३ मा हस्ताक्षर गरेका थिए भने पोल्यान्डले गठनको एक हप्ता अगाडि मात्र हस्ताक्षर गरेका थिए ।

यसरी गठन भएको संयुक्त राष्ट्र सङ्घमा नेपालले पनि राणाकल नै भएको भए तापनि चार वर्ष पछि नै सदस्यताको लागी आवेदन गरेको थियो । संयुक्त राष्ट्र सङ्घ पुगेका विजय शमशेरले २८ पृष्ठ लामो आफ्नो निवेदनमा सदस्यता पाउनु पर्ने आधारहरू सबै लेखेका थिए । तर भारतीय दबाब तथा सल्लाहमा सोभियत सङ्घले २००६ को भदौ २२ मा भएको महासभामा भिटो लगाएर खारेज गरिदिए ।

सुरक्षा परिषद्का ९ राष्ट्रको सहमति हुँदा पनि सोभियत सङ्घको भिटोको कारणले नेपाल सदस्य बन्नबाट वञ्चित भयो । यस पछि पनि निरन्तर प्रयासहरू भइरहे । अन्ततः २०१२ को मङ्सिर २९ मा भएको संयुक्त राष्ट्र सङ्घको दशौँ महासभाको ५५५औँ बैठकले नेपाललाई अन्य १५ राष्ट्रको साथ सदस्यताको लागी स्वीकृति प्रदान गर्‍यो ।

त्यति बेला नेपालमा राजा महेन्द्रको प्रत्यक्ष शासन थियो । तसर्थ त्यस सभामा कसैले पनि भाग लिएनन् । सदस्यता प्रदान गरेको तीन महिना पछि २०१२ फागुन २६ मा संयुक्त राष्ट्र सङ्घको मुख्यालय रहेको बाहिर सदस्यता राष्ट्रको झन्डा फहराइने क्रममा त्यसै वर्ष संयुक्त राष्ट्र सङ्घको सदस्यता पाएका १६ राष्ट्रको झन्डा फहराइएको थियो । अल्वानिया, अस्ट्रिया, बुल्गेरिया, कम्बोडिया, फिनल्यान्ड, हंगरी, आयरल्यान्ड, इटली, जोर्डन, लाओस्, लिबिया, पोर्चुगल, रोमानिया, स्पेन तथा श्री लङ्काको साथ नेपालको पनि झन्डा फहराइएको थियो ।

एघारौँ महासभामा भने टङ्कप्रसाद आचार्यको मन्त्रीपरिषद्का परराष्ट्र मन्त्री चूडाप्रसाद शर्माले संयुक्त राष्ट्र सङ्घको महासभामा पहिलो पटक भाग लिएका थिए । साथै सदस्यताको लागी धन्यवाद दिएका थिए । त्यस महासभामा हिमालय विक्रम शाह पनि सहभागी हुनुहुन्थ्यो । यस पछि भने ह्रषिकेश शाहलाई संयुक्त राष्ट्र सङ्घको स्थायी प्रतिनिधि नियुक्त गरिए पछि भने महासभामा हृषीकेश शाहले प्रतिनिधित्व गरेका थिए ।

प्रतिक्रिया