तीस वर्षअघि !
रमण घिमिरे
२०७९ फागुन २७ गते ९:५९

कविता
म तीस वर्षअघि
फर्किन चाहन्छु
र फेरि सुरुवातबाटै
सम्बन्धलाई नयाँ आयाममा
डोर्याउन चाहन्छु
त्यस वेला भन्न छुटेको ती सबै कुरा
हरफ-हरफ मिलाएर
भन्न चाहन्छु
नहेरेजस्तो गरेर चोरीचोरी हेर्दा
धित नमरेका तिम्रा नसालु नयनलाई
बिस्तारै अधरले स्पर्श गर्न चाहन्छु
तिम्रो हात समाएर
सुकिला पेटीमा दिनभरि नै डुल्न मन छ
नयाँ धरहराको टुप्पोमा उभिएर
तिम्रा काँधबाट चिहाउँदै
रानीपोखरीलाई हेर्ने रहर छ
तिम्रो ओठमा लतपतिएको लिपिस्टिक
आफ्नो रुमाल झिकेर
मिलाइदिने इच्छा छ
तिम्रो चुल्ठोमा नयाँ क्लिप सिउरेर
तिमीलाई चिटिक्क पार्ने मनसा छ
सबैभन्दा ठूलो रहर
म तीस वर्षअघि फर्किन पाए
अभाव र गरिबीमा पूरा गर्न छुटेका
तिम्रो एकएक सङ्ल्पहरू
पूरा गरिदिने थिएँ र
सोध्ने थिएँ– भन प्रिय !
तिम्रा खुसी रसाउने मुहानमा
अब कुन मायालु सपनाको
कुलो बगाइदिऊँ !
सम्बन्धित
प्रतिक्रिया