बिहीबार, वैशाख २०, २०८१

डिमेन्सियाको उच्च जोखिममा फुटबल खेलाडीहरू

नेपालखोज २०७९ चैत ९ गते ९:०६

काठमाडाैं । फुटबल खेलाडीहरू अल्जाइमर रोग र अन्य प्रकारका डिमेन्सियाको उच्च जोखिममा भएको एउटा नयाँ अध्ययनले देखाएको छ। यद्यपि, गोलकिपरहरू त्यस्ता न्यूरोलोजिकल विकारहरूबाट केही हदसम्म टाढा भएको देखिएको छ। ठूला प्रतियोगिता वा टोलीमा खेल्ने फुटबल खेलाडीहरूलाई सामान्य जनसंख्याको तुलनामा डिमेन्सिया हुने सम्भावना बढी हुन्छ मेडिकल जर्नल द ल्यान्सेटमा प्रकाशित नयाँ अध्ययनमा भनिएको छ ।

डिमेन्सिया एउटा रोग हो जसले स्मरणशक्ति लगभग नष्ट गर्छ । डिमेन्सियाको प्रारम्भिक चरणमा बिर्सने, समयको ट्र्याक गुमाउने र परिचित ठाउँहरू सम्झन नसक्ने जस्ता समस्या हुन्छन । चिन्ता र अवसादले पनि प्रारम्भिक संकेतका रूपमा काम गर्न सक्छन , विशेष गरी युवा बिरामीहरूमा ।

यो नयाँ अनुसन्धानका लागि १९२४ देखि २०१९ को बीचमा ६ हजार भन्दा बढी शीर्ष-स्तरका स्वीडिस पुरुष फुटबल खेलाडीहरूको मेडिकल रेकर्डलाई फुटबल बाहेक अन्य खेलका ५६ ,००० भन्दा बढी खेलाडीसँग तुलना गरिएको थियो । स्वीडेनको कारोलिन्स्का इन्स्टिच्युटका अन्वेषकहरूले पत्ता लगाए अनुसार फुटबलरहरूलाई अल्जाइमर रोग र अन्य प्रकारका डिमेन्सिया हुने सम्भावना डेढ गुणा बढी हुन्छ ।

कारोलिन्स्का इन्स्टिच्युटका पेटार उएडाले अनुसन्धानको नेतृत्व गरेका थिए। उनीहरूको अनुसन्धानले भन्छन्-वृद्ध पुरुष खेलाडीहरू डिमेन्सियाको विकासको “महत्वपूर्ण जोखिम” मा छन् । यो अध्ययन अनुसार गोलकिपरहरूले विरलै आफ्नो टाउकोले बल हिर्काउने भएकाले उनीहरू यो जोखिममा पर्दैनन् ।

गत वर्ष ग्लासगो विश्वविद्यालयको नेतृत्वमा गरिएको एक अध्ययनले भूतपूर्व रग्बी खेलाडीहरूलाई सामान्य जनसंख्याको तुलनामा १५ गुणा बढी मोटर न्यूरोन रोग लाग्ने सम्भावना भएको पत्ता लगाएको थियो ।

२०१७ मा भएको बोस्टन विश्वविद्यालयको अध्ययनले १११ मृत राष्ट्रिय फुटबल लिगका पूर्व खेलाडीहरू (जसले आफ्नो मस्तिष्क दान गरेका थिए) मा क्रोनिक ट्राउमेटिक एन्सेफ्यालोप्याथी (CTE) जस्ता रोगको प्रमाण फेला पारेको थियो । टाउकोमा धेरै चोटपटक लागेपछि सिटिइ विकसित हुन्छ र व्यवहारमा परिवर्तनसँगै दीर्घकालीन डिमेन्सिया हुन सक्छ ।
एएफपी

प्रतिक्रिया