पाचन शक्ति बलियो बनाउन प्राकृतिक जडिबूटि

भनिन्छ पाचन क्षमता मजबुत भएकाहरूलाई ढुङ्गा-माटो खाएपनि पच्दछ र खाएको पचुन्जेल कुनै प्रकारको रोगले पनि सताउन सक्दैन । यसर्थ पाचन क्षमतालाई बलियो बनाई राख्नु रोगहरूको रोकथाम एवं प्रतिकारको महत्वपूर्ण अश्त्र हो। राम्रो स्वास्थ्य र दीर्घ जीवन चाहने हर कसैले पाचन क्षमतालाई अक्षुण राखिरहनु पर्ने हुन्छ। अझ प्राकृतिक स्वास्थ्य विज्ञानको दृष्टिमा त हाम्रा सम्पूर्ण रोगको सुरूवात पेटबाट हुने मानिएको छ अर्थात हरेक रोगहरूको सुरूवात मन्दाग्निबाट हुन्छ र मन्दाग्निको उपचार गरेर नै धेरै रोगहरूबाट छुटकारा पाउन सकिन्छ। यसकारण पाचन शक्तिलाई मजबुत बनाई राख्नु स्वस्थ जीवन चाहने हर कसैको प्रथम दायित्व हो ।
पाचन शक्ति गडबड भएमा अरूची, अस्वाद, अपच, अजिर्ण, छातीमा जलन, पेटको माथिल्लो भाग पोल्ने वा दुख्ने, ¥याल काढिने, अम्लपित्त बढ्ने, थकान महसुस हुने, भारीपन बढ्ने जस्ता लक्षण देखिन्छन् । पाचन शक्ति गडबड हुनुमा मूलतः हाम्रो जीवनशैली कै प्रमूख भूमिका रहेको हुन्छ। जीवनशैली भनेको भोजनशैली, व्यायामशैली, विश्रामशैली, विचारशैली र व्यावहारशैलीको संयूक्त रूप हो । गरिष्ठ भोजनको सेवन, पेट भरेर खानाखाने बानी, असामयिक खाना, सुख्खा, चिसो र भारी खानाको सेवन, प्रशोधित खानेकुराहरूको सेवन, दिनमा सुत्ने र रातमा जागा रहने बानी, अधारणीय वेगहरूको नियन्त्रण, शरीरमा विजातिय द्रव्यहरूको संकलन, मानसिक तनाव, चिन्ता, भय, उदासिनता, क्रोध, ईश्या, अब्रह्मचर्यत्व वा अति मैथून, चिया, कफी, सुर्ती, सुपारी आदिको अत्याधिक सेवन, खाना छिट्छिटो खाने बानी, खाना राम्ररी चपाउनु, धेरै मसलादार खानेकुराको सेवन, मदिरापान, चकलेट सेवन आदि पाचन क्षमतालाई नष्ट गर्ने आनिबानीहरू हुन् ।
पाचन क्षमता कमजोर भएकाहरूले सर्वप्रथम यस समस्याको कारण पत्ता लगाएर ती कारण हरूलाई हटाउनु पर्ने हुन्छ। यसका अलावा केही प्राकृतिक उपचार र केही प्राकृतिक जडिबूटिहरूको सेवनले यो रोग ठिक हुन्छ। पाचन क्षमता कमजोर भएकाहरूलाई निम्नलिखित प्राकृतिक जडिबूटि उपयोग गर्न सल्लाह दिईन्छ।
सौफ : खाना खाईसके पछि सौफ चवाउने चलन पुरानो हो। सौफको सेवनले पाचनशक्ति बलियो बनाउने, अपच, अजिर्ण कमगर्ने, आन्द्राहरूको मांशपेशीमा हुने कडकता कमगर्ने र कब्जियत कमगर्ने, पेटको दुखाई कमगर्ने र ग्याष्ट्रिक एवं अम्लपित्त कमगर्ने गर्दछ । ५ देखि १० ग्राम सौफको दानालाई खालीपेटमा वा खानाखाए पछि चवाएर खादाँ पाचन शक्ति बलीयो हुन्छ तर सौफलाई कहिले पनि चिनी, मिश्री र शक्खरसंग खानु हुदैन।
धनियाँ : धनियाको सेवन पनि पाचन शक्ति बढाउने महत्वपूर्ण उपाय हो। यसले क्षुधा बढाउने, अग्नि प्रदिप्त बनाउने, पेटको गर्मीलाई शान्त गराउँने, ग्यास र एसिडिटीको समस्यालाई समन गर्नुका साथै, कब्जियत र वायू बढ्ने समस्यालाई पनि राम्रो गर्दछ । ५ देखि १० ग्राम धनियाँलाई रातभरी पानीमा भिजाएर पानी सहित खाँदा वा सग्लो दाना चवाएर खाँदा वा धनियाँको दानालाई पिसेर पानीमा मिलाएर पिउदा वा धनियाँको पत्ताको चटनी खाँदा पेटको लागि राम्रो हुन्छ ।
अमला : अमला बहुउपयोगी वनस्पति हो र त्यसमापनि पेट रोगका लागि अमलाको सेवन अत्यन्त अपयोगी छ। अमलाको सेवनले भोक लाग्ने, खाना पच्ने, एसिडीटि कम हुनुका साथै कब्जियत र आपनवायूको समस्यालाई कम गर्ने गर्दछ। अमलाको फल, रस, चूर्ण वा चटनि जे खाए पनि पेटको लागि राम्रो हो तर अमलाको मुरब्बा वा पुरानो अचार भने स्वास्थ्यको लागि त्यत्ति राम्रो होईन। अमला मिश्रीत त्रिफलाको सेवनले पनि पेट सफा गर्न र भोक बढाउन मद्य तगर्दछ।
अदुवाको सेवन : अदुवालाई पनि महत्वपूण पाचक औषधि मानिएको छ। यसको सेवनले खाना नपच्ने, वाकवाकी लाग्ने, पेट सुन्निने, दुख्ने, ढुस्स हुने, जस्ता समस्याबाट राहत मिल्छ। २ ग्राम सूकेको अदुवाको धुलोलाई तातोपानीका हालेर खानाखानु भन्दा पहिले पिउदा वा ५ ग्राम काँचो अदुवालाई नुन वा शक्खरसंग खानाखानु भन्दा पहिले दिनको २ पल्ट खानेगर्दा पेटको समस्यामा फाईदा पु¥याउदछ। अदुवाको चिया पनि पेटरोगको लागि राम्रो हो ।
घ्यूकुमारी : घ्यूकुमारी अथवा एलोभेराको सेवनले पनि पेटको रोगमा निकै फाईदा पु¥याउदछ। यदि तपाई पेट दुख्ने, पेट फुल्ने, अल्सर आदि जस्तौ पेट सम्बन्धी समस्याबाट पिडित हुनुहुन्छ भने घ्यूकुमारीको गुदिलाई पानीमा घोलेर सेवन गर्न सक्नुहुन्छ।
हर्रो : हर्रोको सेवनले धेरै प्रकारका पेटरोगको लागि फाईदा पु¥याउदछ। यसको सेवनले पाचन इन्जाइमहरू बढाएर पाचनमा मद्दत गर्ने, एसिडिटी कम गर्ने, पोषक तत्वहरूको अवशोषणमा सुधार गर्ने देखि कब्जियत, अधोवायूको समस्या देखि पाइल्स र फिस्चूलाबाट पनि बचाउँछ । यसले पाँचन प्रणालीलाई विषाक्त पदार्थहरूबाट पनि मुक्त गर्न मद्यत गर्दछ । ५ दखि १० ग्राम हर्रोको चूर्णलाई तातोपानीमा हालेर राति सुत्ने बेलामा वा बिहान खालि पेटमा खाँदा विशेष फाईदा गर्दछ।
कागति : पेटको समस्याका लागि कागतिको सेवन अत्यन्त लाभदायक छ। कागतीमा भिटामिन सी प्रचुर मात्रामा पाइने भएकाले यसले पाचन प्रणालीका साथै प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउँछ । केही खाए पश्चात दैनिक ३ चोटि ७ देखि १५ मि।ली। कागतिको रस पिउनेगर्दा पाचन शक्ति बढ्दछ ।
बेसार : बेसारलाई दूधमा मिसाएर वा मनतातो पानीमा एक चुटकी बेसार मिसाएर खाँदा पाचन प्रणालीलाई बलियो मात्र बनाउँदैन, पेटसम्बन्धी धेरै समस्याहरूबाट पनि छुटकारा दिलाउछ ।
सुकुमेल : सुकुमेलमा पेटलाई स्वस्थ बनाउने धेरै पौष्टिक तत्वहरू पाइन्छन् । यस्तो अवस्थामा राति सुत्नुअघि वा खाली पेटमा सुकुमेलको सेवन गर्न सक्नुहुन्छ ।
मरिच : मरिच पनि पाँचन शक्ति बढाउने औषधि हो। पाचन शक्ति कमजोर भएकाहरूले १ ग्राम मरिचको धुलोलाई १ ग्राम बिरेनुनसंग मिलाएर आधा काटिएको कागतिमा हालेर त्यो कागतिलाई भुङ्ग्रोको आगोमा हल्का सेकाएर चूस्दा पाचन क्षमता बढ्दछ ।

प्रतिक्रिया