बुधबार, जेठ ९, २०८१

दोश्रो जनआन्दोलन २०६२/६३

सुनील उलक २०७९ चैत २४ गते ८:२४

चैत २४ आजको दिनलाई धेरैले याद गर्नुपर्ने हो । १७ वर्ष भइसक्यो तर सम्झनामा कम नै राख्ने गर्छन् । अझ गणतन्त्रका हिमायतीहरुले झन बढि सम्झनु पर्ने हो । तर तिनीहरुलाई आन्दोलनमा जीवन गुमाउनेहरुको भन्दा बैशाख १२ बढि प्यारो छ । यसर्थ बैशाख १२ लाई धुमधामले मनाउने गर्छन् ।

नेपालको दोश्रो जनआन्दोलन २०६२ चैत्र २४ गते शुरु भएको थियो । यस आन्दोलनलाई १९ दिने आन्दोलन पनि भनेर चिनिन्छ । यसै आन्दोलनको बलले नै नेपालमा गणतन्त्र स्थापना भएको थियो । २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले अचानक दलहरु माथि प्रतिवन्ध लगाउँदै सम्पूर्ण अधिकार आफूमा निहित राखे । बाबुको २०१७ सालको कदमको अनुसरण त गरे तर सुझबुझ वा पर्याप्त तैयारी गर्न सकेनन् । जसले गर्दा राजनैतिक दलहरु रुष्ट भए ।

तर राजनैतिक दलहरुका कृयाकलापबाट दिक्क भएका र माओवादीको हत्या र हिंसाबाट आजित भएका जनताहरु भने एक किसिमले खुशी भएका थिए । तर राजाको वरपर बसेर सल्लाह दिनेहरुले सही सल्लाह दिन सकेनन् । राजाका कदमका कारण राजनैतिक दलहरु माओवादी दलको निकट हुन पुगे । जसको परिणाम १४ महिना पछि घोषित संयुक्त आन्दोलन थियो । जसलाई दोश्रो जनआन्दोलनका नामले चिनिन्छ ।

२०६२ चैत्र २३ गतेको राती देखी देशका प्रमुख शहरहरुमा कर्फ्यूको घोषणा सरकारले गरिसकेको थियो । जनतामा एक प्रकारको त्रास जन्मिसकेको थियो । चैत्र २४ को बिहान देखी सरकारको धरपकड कार्यक्रम शुरु भयो भने जनताको आन्दोलनको तैयारी भयो । यहि पहिलो दिन नै सिराहामा निस्केको जुलुसमा गोली प्रहार हुँदा दर्शनलाल यादवको मृत्यु भयो । पहिलो दिन नै एक एक ब्यक्तिको मृत्युको समाचार आँधी झै फैलियो । देश भर आन्दोलनले उग्र रुप लिन पुग्यो ।

२६ गते ठाँउ ठाँउमा गोली प्रहार भयो । यसै दिन पोखरामा दुरसञ्चारको सुरक्षार्थ बसेको सैनिकले गोलि चलाउँदा पोखराका भिमसेन दाहालको मृत्यु भयो । २७ गते चितवनबाट समाचार आयो, २६ गते गोलि लागेर घाइते बनेकी तुलसा क्षेत्रीको निधन भयो भन्ने । यसै दिन बनेपामा पनि गोलि लागेर शिवहरी कुँवरको मृत्यु भयो ।

२८ गते आन्दोलनमा शहिद प्रति श्रद्धाञ्जलीको कार्यक्रम सहिद मञ्चमा राखियो । यसै दिन गोंगबु, चाबहिल एवं कलंकीमा गोलि प्रहार भएर निकै घाइते भए । चैत्र ३० गते नवलपरासीमा विष्णु पाण्डेको गोलि लागेर मृत्यु भयो । ३१ गते देशैभरका चिकित्सकहरुले आन्दोलन प्रति ऐक्यबद्धता जनाएर हातमा कालो पट्टी बाँधेर काममा लागे । १ गते देशमा चर्केको आन्दोलन तथा प्रहरीको अत्यधिक दमनले गर्दा संयुक्त राष्ट्र संघका महासचिव कोफी अन्नानबाट राजालाइ बिपक्षी दलहरुसंग वार्ता गर्न अनुरोध गरे । २ गते देशैभरका शिक्षक संगठन प्याब्सन एनप्याब्सन लगायत अविभावक संघले आन्दोलनमा साथ दिएको घोषणा गरे ।

चैत ३ गते मन्त्रालय तथा अन्य कर्मचारी संगठनहरुले पनि आन्दोलनको समर्थनमा संयुक्त बक्तव्य निकाले । ४ गते आन्दोलन उग्र भयो भने राजाबाट पनि वार्ताको शुरुवात भयो । यसै दिन निजगढमा गोलि लागी हिरालाल गौतमको निधन भयो । ५ गते बैंकहरुले पनि बन्द गरे भने यसै दिन नेपालगञ्जमा सेतु बि।क।को गोलि लागेर मृत्यु भयो । ६ गते काठमाडौका जनताले १८ घण्टे कर्फ्यू झेले । यसै दिन झापामा भएको आन्दोलनमा गोलि लागेर राजन गिरी तथा सुरज विश्वकर्माको निधन भयो । ७ गते सरकार अझ कठोर बन्यो । यसै दिन काठमाडौमा बासु घिमिरे दिपक बि।क। तथा सगुन ताम्राकारको निधन भयो । साथै गुलरियामा यमलाल लामिछानेको पनि मृत्यु भयो । यसरी एकै दिन चार जना शहिद भए ।

८ गते राजाबाट कार्यकारिणी अधिकार जनतालाई फिर्ता गर्ने घोषणा गरे । तर ९ गते राजाको यस घोषणाको विरोधमा जनता फेरी सडकमा निस्किए । १० गते संविधानविदहरुले राजालाई संसद पूनर्स्थापना गर्न सकिने सुझाव दिए । बैशाख ११ गते राती साढे ११ बजे राजाबाट सातदलको माग पुरा गरे । सातदलको माग वमोजिमको घोषणा तथा संसद पूनर्स्थापनाको घोषणाले राती नै जनताले खुशियालीको जुलुस निकाले । यसरी चैत्र २४ देखी बैशाख ११ सम्मको १९ दिने जनआन्दोलन समाप्त भयो ।

जनताहरु बैशाख १२ गते सडकमा निस्किएर खुशियाली मनाउन थाले । यसरी आन्दोलनको समाप्ती पछि देशले छिट्टै निकास पाउने आशा जनतामा उब्जिएको थियो ।

तस्बिर : विकास रौनियार

प्रतिक्रिया