आइतबार, वैशाख १६, २०८१

गन्तव्यहीन् कुदाइ

अश्मिना रञ्जित २०८० वैशाख २ गते १०:००

सग्लो, अग्लो र एक्लो हुने दौडमा
आजको आजै अनि अहिल्यै
छिटै अनि तुरुन्तै भन्दाभन्दै
बेगवान् बगिरहेको जीवनमा
छाम्न समेत बिर्संदै छ
आफ्नै मुटुको ढुकीढुकी समेत ।

रङ्गीन भविष्यको सपना हेर्ने होडमा
गुम्दैछ आफ्नै आँखाको नजर
हराउँदैछ हेर्ने आफ्नै नजरीया समेत ।

वर्तमानमाथि जित्ने प्रतिस्पर्धामा
पाइलाहरूसँगै देख्न नसक्ने गरी
मेटिँदै छन् आफ्नै इतिहासका डोबहरू समेत ।
हिँड्दा—हिँड्दै
सुनिन छाड्दै छन्
आफ्नै अस्तित्व र सभ्यताका पदचाप पनि ।

खै कति चापाचाप छ कुन्नि
कुद्दा—कुद्दै भेउ पाउन छाडेका छौं
आफ्नै मन अंगभंग भएको पनि,
देख्न अस्वीकार गरेका छौं
अर्धमृत शरीरसँगै हराउँदै गएका
धूमिल जिउँदा स्मृतिका पन्नाहरू
भुत्ते हुँदै गएका विचारका औजारहरू ।

आधुनिक र आकर्षक देखिने होडमा
दृष्टि–भ्रममा धमिलिएका आँखाहरूमा
हराइसके असंख्य सपनाहरू
मृग–तृष्णामा अल्झिएका आशाहरूमा
छुटिसके अनगिन्ती विवेक
बाँचेको वा मरेको समेत
थाहै नपाउने गरी जिउन बाध्य पार्ने
सुपर मार्केटमा किन्न पाइँदैनन्
आफ्नै सभ्यता बुझ्ने विवेक र इतिहास बोध ।

प्रतिक्रिया