आइतबार, वैशाख १६, २०८१

बाघजात्रा र पोखरेली

सुनील उलक २०८० वैशाख ६ गते ७:४९

कुनै पनि जात्राको प्रसंग उठेमा सबै पोखरेली एक हुने गर्छन् । अझ पोखराका नेवाःहरुको एकता अझ बढि हुन्छ । भर्खरै सम्पन्न भएको भैरव नृत्यमा पोखरेलीहरु सबै एक भएका थिए । अझ युवाहरुको संस्कृति प्रतिको मोह यति बिघ्न थियो कि न त चर्को वर्षात न त रातभरको जागरणले नै युवाहरु बिचलित भए । बिद्यालय जानु पर्नेहरु बिद्यार्थीहरु समेत बिद्यालयका पढाइलाई बिर्सेर भैरव नृत्य प्रति लगनका साथ लागेका थिए ।

प्रत्येक ६ वर्षमा सम्पन्न हुने भैरव नृत्य यस वर्ष सात वर्ष पछि सम्पन्न भएको थियो । तर बाघजात्रा भने बिगत २३ वर्ष देखि हुन सकेको छैन । यस वर्ष सम्पन्न भएमा युवाहरुको जमात अझ लगनका साथ लाग्नेमा हामी पूर्ण बिश्वस्त छौ । आजका २५ वर्षिय युवाहरुलाई पछिल्लो पटक भएको बाघजात्राको कुनै जानकारी नै छैन । किनकी ति युवाहरु त्यसबेला केवल २ वर्षका बालक थिए । तसर्थ २५ वर्ष भन्दा सानाका लागि यस पटक हुने बाघजात्रा निकै खुलदुली पूर्ण हुनेछ । बाघजात्रा पोखरामा कहिले देखि शुरु भएको थियो भन्ने कुनै ऐतिहासिक लिखत भेटिँदैन ।

तर हामीले बुबा काका दाजुहरुसंग सोधपुछ गर्ने क्रममा धेरै जानकारी बटुल्न सफल भएका छौ । हामीले कति सालमा बाघजात्रा भएको थियो र को को कलाकारले कुन कुन भूमिका गरेका थिए भन्ने तथ्यांक बटुल्दैछौ । यहाँहरु कतिपयमा यदि यस बाघजात्रा सम्बन्धी कुनै पनि जानकारी भएमा रवीन्द्र माकाजूलाई वा मलाई दिन सक्नुहुन्छ । बाघजात्राको कथावस्तु र यसमा हुने विभिन्न कलाकारका उपस्थिति हेर्दा यो जात्रा पोखरामा ब्यबस्थित बजार बसिसकेपछि ग्रामिण क्षेत्रबाट मानिसहरुलाई बजार तर्फ आफ्नो ब्यबसायिक उद्धेश्य पुरा गर्न शुरुवात गरेको आभास हुन्छ ।

यो जात्रालाई हाम्रो पुरातन संस्कृतिसंग जोड्नु भन्दा नितान्त मनोरञ्जन पूर्ण बनाइएको देखिन्छ । यस जात्राको मूलकथा स्वतन्त्र रुपले जंगली जनावरहरु बिचरण गर्ने जंगल वा जंगल फाँडेर बस्ति बसाइ मानिसहरु बसोबास गर्न थाले पछि दैनिकी रुपमा बाघले दुख दिने र त्यो बाघले कहिले आफ्नो बस्तुभाउ मार्ने तथा कहिले काँही मानिस माथि पनि आक्रमण हुन थाले पछि आजित भएर जनताले राजासंग बाघ मारिदिन बिन्ति चढाए पछिको कथा नै यो बाघजात्राको मूल कथा हो ।

जालाई बिन्ति चढाए पछि आफ्ना सैनिकहरुलाई बाघ खोजि गर्न पठाउने र चारैतिरबाट घेर्न सफल भए पछि राजा स्वयं गएर बाघ मार्ने गर्छ । बाघको शिकारको यो शैली राणाकालका शिकारसँग मिल्दछ । दोश्रो यो कथा पहाडमा भन्दा भित्रि मधेश तिरको शिकार कथासँग मिल्दछ । तसर्थ बाघजात्राको शुरुवात राणाकालमा पनि चन्द्रशम्शेरको शासनकाल भन्दा धेरै पछाडि पुग्ने देखिदैन । दोश्रो राणाकालमा जनताले जात्राकै रुपमा पनि बन्दुक बोेकेर बाघ मार्ने नक्कल गर्न छुट दिन सक्छ जस्तो लाग्दैन । पोखरामा पुराना ब्यक्तिहरुसंग सोधपुछ गर्दा पहिलो बाघजात्राको भेटिएको इतिहास राणाकाल समाप्ति पछि नै रहेको छ । राणाकालका अन्तिम बडाहाकिम धनशम्शेरको हाउभाउ र पहिरनमा नक्कली धनशम्शेर बनेर जात्रामा आउँदा धनशम्शेरका दरवारमा बैद्यराज रहेका यदुनाथ अधिकारीका बुबाले साच्चैका बडाहाकिम नै आएको ठानेर झुकेर अभिवादन गर्दै सरकारको जय होस भनेका थिए रे ।

खैर इतिहास खोजिको क्रममा धेरै सत्यतथ्य भेटिने छ नै । तर हामी कहाँ रहेको यो परम्परालाई जीवित गर्नु हाम्रो कर्तव्य पनि हो । हामी निरन्तर छलफलमा नै रहेका छौ । सहयोगीहरुको सहयोगको अपेक्षामा छौ । जात्रा आगामी भदौ १८, १९ र २० गते पोखरामा अवश्य हुनेछ । इच्छुक कलाकारको पोखरामा कमि हुँदैन भन्नेमा हामी विश्वस्त छौ । हामी केवल मूल कलाकार बाघको लागि उपयुक्त ब्यक्तिको खोजीमा छौ । बाघ हुने ब्यक्तित्वमा केही कलाकारिताको आबश्यकता रहन्छ । साथै केही तालिमको पनि आवश्यकता रहन्छ । विभिन्न हाउभाउ गर्दै हसाउन जान्ने सकेसम्म अग्लो मोटोघाटो । अन्तिम दिन बाघ मार्ने दिनमा बाघ मार्नका लागि बिशेष ताल बजाउने गरिन्छ । त्यो ताल बजाउँदा राजा, बाघ र मुख्यबादक बिच इशारामा तालमेल मिलेको हुनुपर्दछ । राजालाई गोली हान्ने इशारा मुख्यबादकले तालबाट दिने गर्दछ । सो तालकै आधारले राजाले गोली हान्ने र बाघले तत्कालै आफूले ओढिराखेको बाघको छाला फ्याकेर दर्शकको भिडमा भाग्नुपर्दछ । अन्यथा चारैतिर ढेकेग्वाराका रुपमा बसेका लामो लामो बाँस बोकेका लठैतहरुले बाँसले हान्न सक्दछ । ढेकेग्वारा जस्तो राणाकालमा पनि शिकारका समयमा सहयोगीहरु चारैतिर बसेका हुन्थे ।

राणाकालमा शिकारको समय चारैतिर जंगलमा शरिर भरि घास र बुट्यानहरु लगाएर लुकेर बसेका हुन्थे । जसै बाघलाई गोली लागेर घाइते भएर लड्दथे । यि सहयोगी चारैतिरबाट निस्किएर बाघलाई छोप्दथे । यस्तै बाघजात्रामा भने राजाले गोली हाने पछि ढेकेग्वाराका रुपमा रहेका बोराको लुगा तथा घास र पराल बेरेका यि सहयोगीहरुले गोली लागेको बाघलाई चारैतिरबाट घेरेर बाँसले हान्ने गर्छन् ।

बाघ बन्नेले समयमा नै बाघको छाला फ्याकेर भाग्नुपर्छ । बाघको छालालाई हानेर बाघ मरेको खुशियाली मनाउने गर्छ । बाघजात्राको मूलकथामा आधारित जात्राका साथ पोखरामा प्रचलित घोडानाच, गाईजात्रा, भक्तपुरको घिन्ताघिसीको नक्कलका रुपमा झ्यासिन्यासी, लाखे, ढेकेग्वारा, यमराज लगायत बिभिन्न नृत्यहरु पनि समाहित हुने हुँदा यस घोडेजात्राको तीन दिन पुरै बजार क्षेत्र रौनकमय हुने गर्छ ।

प्रतिक्रिया