ए डिभिजन लिग : थ्रीस्टार र शेर्पा तथा सातदोवाटो र चर्च ब्वाइज भिड्दै

नेपालखोज २०८० वैशाख ७ गते ९:२५

काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुने भएका छन् । एउटा खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदा अर्को खेल एन्फा मैदान सातदोवाटोमा हुने छ । आजका २ खेलसँगै ए डिभिजन लिगको दशौं चरण सकिने छ ।

आज दिउँसो ३ बजे थ्रीस्टार र हिमालयन शेर्पा आमने सामने हुने छन् । यो खेल एन्फा मैदानमा हुने छ । जारी प्रतियोगितामा थ्रीस्टार तेस्रो स्थानमा रहेको छ । थ्रीस्टारले ९ खेलबाट १५ अंक जोडेको छ ।

आजको खेलमा थ्रीस्टार विजयी भए दोस्रो स्थानमा रहेको रोयल ब्लु सातदोवाटोलाई पछि पार्दै केही समयका लागि भए पनि दोस्रो स्थानमा उक्लने छ । थ्रीस्टार पाँचौं जितको खोजिमा हुँदा हिमालयन शेर्पा जित निकाल्दै रेलिगेशन जोनबाट बाहिर निस्कने प्रयासमा हुने छ । शेर्पा ९ अंकसहित पुछारबाट दोस्रो स्थानमा रहेको छ । थ्रीस्टारमाथि जित दर्ता गर्न सके शेर्पा दशौं स्थानमा पुग्ने ।

यस्तै, आजै साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशाला हुने अर्को खेलमा चर्च ब्वाइज र सातदोवाटो आमने सामने हुने छन् । सातदोवाटो छैटौं जितको खोजिमा रहँदा चर्च ब्वाइज चौथो जितको खोजिमा हुने छ ।

सातदोवाटो विजयी भएमा शीर्ष स्थानमा रहेको जावलाखेल युथ क्लबसँग अंक बराबरी गर्ने छ । चर्च ब्वाइज विजयी भए छैटौं स्थानबाट एकै पटक दोस्रो स्थानमा उक्लने छ । चर्च ब्वाइज १५ अंकसहित छैटौं स्थानमा रहँदा दोस्रो स्थानमा रहेको सातदोवाटोको १७ अंक रहेको छ ।

यसअघि बुधबार भएको खेलमा साविक विजेता मच्छिन्द्र फुटबल एपिएफसँग पराजित हुँदा अर्को खेलमा पुलिस जावलाखेल युथ क्लवसँग स्तब्ध बनेको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफले मच्छिन्द्र फुटबल क्लवलाई १–० गोल अन्तरले पराजित गर्दा अर्को खेलमा जावलाखेल युथ क्लवले च्यासल मैदानमा पुलिसलाई ६–१ को फराकिलो अन्तर हराएको हो ।

प्रतिक्रिया