आइतबार, वैशाख १६, २०८१

युवा पुस्ता

रवीन्द्र समीर २०८० वैशाख ९ गते ९:०६

‘देशमा धेरै वाद र तन्त्र परिवर्तन भइरहेका छन् तर जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन भएको छैन । यी बुढा नेताले दोस्रो पुस्तालाई जिम्मेवारी सुम्पिने हो भने देशले छिट्टै समृद्धिको यात्रामा फड्को मार्ने छ,’ हजुरबाले बुबासँग बरोबर भन्नुहुन्थ्यो ।

समय अघि बढिरहेको थियो । बुवाले भन्नुभयो– ‘यी दोस्रो पुस्ताका नेता बुढा भए । पैसा, शक्ति, भक्ति, आशक्तिमा यिनीहरू लिप्त भए । लुटतन्त्र र गुट राजनीतिले देश धेरै पछि पर्यो‍। युवालाई नेतृत्व, बुढालाई पितृत्व दिएपछि तेस्रो पुस्ताले नेपाललाई स्विट्जरल्यान्ड बनाउने छन् ।’ समय बेगवान छ । मैले छोरालाई भनेँ– ‘बाबु ! अहिलेका बुढा नेताले देश र जनताको पक्षमा सिन्को भाँच्दैनन्, कमाउने र रमाउनेमै देशलाई कङ्गाल बनाए। अब चौथो पुस्ताले नेपाललाई सिङ्गापुर बनाउनेछ। युवा पुस्तामा सपना र दृष्टिकोण हुन्छ ।’

समय बित्दै जाँदा म बुढ्यौलीले ओछ्यान परेँ। छोराको कोठाबाट मेरो ओछ्यानमा आवाज आयो– ‘हेर बाबु ! चिन्ता नगर्नू ! चौथो पुस्ताका बुढाले केही गरेनन् । विकास गर्ने इच्छा र प्रयास नै छैन। भ्रष्टाचारले देश चुर्लुम्म डुब्यो। युवा पुस्तालाई नेतृत्व दिने हो भने नेपाललाई जापान बनाउनेछन् ।’

प्रतिक्रिया