आज नेपाल र साउदी अरेबियाको खेल अवरुद्ध हुनसक्ने

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपमा आज साउदी अरेबियासँग भिडदैछ । खेल बिहान ९ बजे मुलपानी क्रिकेट मैदानमा सुरु हुने भए पनि आजको खेल वर्षाका कारण अवरुद्ध हुनसक्ने सम्भावना प्रबल छ । आइतबार साँझ देखि काठमाडौंमा वर्षा भइरहेको छ भने सोमबार बिहान पनि आकाश बादलले ढाकिनुका साथै हल्का वर्षा भइरहेको छ ।
मौसम पुर्वामानुसार आज दिउँसो १२ बजेदेखि ४ बजेसम्म वर्षा हुने सम्भावना ५२ देखि ८० प्रतिशत सम्म छ । काठमाडौंमा बिहान ८ : ४५ मा १२ प्रतिशत वर्षाको सम्भावना छ भने त्यसपछि वर्षा सम्भावना बढ्दै जानेछ । दिउँसो ११: ४५ पछि भारी वर्षा हुने उच्च सम्भावना छ भने दिउँसो चार बजेपछि वर्षाको योग हट्नेछ ।
आज हुने वर्षाका कारण नेपाल र साउदी अरेबियाबिचको खेल प्रभावित भई अङ्क बाँड्नु पर्ने स्थिति सृजना हुने अनुमान पनि गरिँदै छ । नेपाल अहिले लगातार तेस्रो जितका साथ सेमिफाइनलमा स्थान बनाउने पहिलो टिम बन्ने तथा आफ्नो समूहमा शीर्ष स्थानमा रहने रणनीतिमा भए पनि वर्षाले त्यसमा भाँजो हाल्ने देखिन्छ । समूह ए मा रहेको नेपाल अहिलेसम्म २ खेलमा ४ अङ्कका साथ शीर्ष स्थानमा छ । साउदी २ खेलमा १ मा जित र १ मा हारसहित चौथो स्थानमा छ ।
नेपालले आज सोमपाल कामी, सन्दीप लामिछाने र कुशल मल्ललाई विश्राम दिन सक्ने सम्भावना छ । यी तीनको स्थानमा बेन्चमा रहेका ज्ञानेन्द्र मल्ल, प्रतिश जि.सी र गुलशन झाले आजको खेलमा अवसर प्राप्त गर्न सक्छन् । नेपालले २०१२ पछि साउदीसँग ५० ओभरको खेल खेल्न लागेको हो । नेपालले दशक अघि भएको खेलमा साउदीलाई ९ विकेटले हराएको थियो ।
उक्त खेलमा नेपालका ज्ञानेन्द्र मल्लले २३ बलमा ६१ रन बनाउँदै प्लेयर अफ द म्याच चुनिएका थिए । यद्यपि अहिले नेपाल र साउदी दुवै देशका टिममा पुरै परिवर्तन आइसकेको छ । नेपाली टिम अहिले आफ्नो फर्ममा छ भने साउदी टिम पहिलेको तुलनामा निकै मजबुत भएको छ ।

प्रतिक्रिया