शुक्रबार, वैशाख २८, २०८१

देश, समय र ईश्वरको अस्तित्व

कृष्ण कॅंडेल २०८० वैशाख १८ गते ६:३७

दलाई लामा भन्छन् – सैद्धान्तिक तवरले मान्छे हामी सवै बराबर छौं । कुनै न कुनै हिसावले मान्छेले भोगेका दुखहरू समान छन् “। तर प्रश्न उठ्छ त्यही मान्छेले अर्को मान्छेलाई गर्ने व्यवहार किन असमान छ ? भन्नलाई त भनिन्छ पृथ्वी सवैको साझा घर हो तर एक देश बाट अर्को देशमा सजीलै जान पाईदैन ।आजपनि शरणार्थी जीवन विताउन वाध्य मानिसहरू लाखौं लाख छन् । देशको टुंगो नलागेका मान्छेहरू पनि लाखौं होलान् ।पुर्खाहरू बसाई सरे उनीहरूले त्यहीं आफ्नो थात थलो जमाए खण्डहरलाई हराभरा बनाए कुनै अमुक भाषा बोल्नेहरू हाम्रो हुनै सक्दैनन् भन्दै देश निकाला गरियो ।

यो क्रम धेरै देशमा चलेको छ । शरणार्थी जीवन जीउनेहरूलाई राज्य विहीन बनाएर लखेट्ने क्रम जारी छ ।मानवताका आंशुले विश्वलाई चुनौति दिईरहेको छ ।पृथ्वी साझा घर हो भन्ने मान्यता दिनप्रतिदिन भत्किंदो छ ।त्यसैले संसारको हरेक कुनामा कोलाहल छ । कोलाहल जंगलमा होईन मानव वस्तिमै छ ।मान्छे ले शृजना गरेको अशान्तिको ग्यास चेम्बरमा मान्छे आफै होमीदैंछ ।

कुनै हिटलरको आवस्यकतानै छैन् । अध्यात्म ,विज्ञान र विकाश लाई समदुरीमा राखेर हिंड्न नजान्दा भोक रोग र शोकको सागरमा डुवेको छ मान्छे । एक्काईसौं शताव्दीमा पनि कालो र गोरो माथिल्लो जात र तल्लो जात भनेर विभेद गर्ने क्रम यथावत छ । धार्मिक हिसाव बाट पनि मान्छे विभक्त छ । एउटै धर्म मान्ने मान्छेहरूका संप्रदाय अलग अलग छन्।सामान्यतया संसारका सवै धर्मले मानवताको पक्षमै वकालत गरेको देखीन्छ तर व्यवहारमा त्यस्तो पाईदैन । द्वन्द्व त्यही विन्दुबाट प्रारम्भ भएको छ ।आकाश एउटै छ धर्ति एउटै छ । एल.पी.भानु शर्मा गुरूदेव भन्नुहुन्छ संसार unified field हो तर हामी मानवताको कित्ता काटीरहेका छौं ।

अचम्म पृथीवी भित्रै रहेर मान्छे शरणार्थि हुन वाध्य छ । चेतनाको विर्को अझै किन खुल्दैन ? शताब्दीयौं देखी मानिस आफ्नो सुख र खुशी को लागी संसार परिक्रमा गरिरहेको छ ।गोलार्धको यो छेउ र त्यो छेउ पुगीरहेको छ । आज सम्म यो क्रम जारी छ ।आर्यहरू पहिले कहां थिए अहिले कहां कहां छन् खोज्दै जांदा फेला पर्छन् । पुर्खाहरूको पुरानो थात थलोमा को बसेको छ र ? कथित राष्ट्रियताको झन्डा उठाएर नयां नयां नटवरलालहरूले जनतालाई उल्लु बनाउने काम हरेक देशमा भै रहेको छ जुन मानवताको लागी घातक हो । आर्य हुन वा मंगोलियन ,हिन्दु हुन वा क्रिश्चियन अथवा मुश्लिम मान्छे त आखीर मान्छे नै हो । काटे सवैको रगत रातै आउॅंछ ।

काला हुन वा गोरा हुन सवैको मानवीय संवेदना एउटै हो । शासनमा बस्नेहरू र धर्मका मठाधिशहरूले मान्छेलाई कित्ता काट गरेर द्वन्द्व गराई रहेका छन् । त्यो द्वन्द्वको फाईदा मठाधिशहरूलाई मात्रहुन्छ आम जनतालाई होईन । यो कुरा वुझ्न धेरै जरूरी छ ।म संवेदनाको कुरा गर्दै थिएं । संवेदना त हरेक वस्तुमा हुन्छ । मात्र हामीले अनुभूत गर्न सक्नु पर्दछ । वेदमा भनीएको छ संसारका हरेक बस्तु परब्रह्मबाट उत्तपन्न भएको हो ।त्यसैले जड हुन वा चेतन सवैमा भगवानको अंश हुन्छ ।वनस्पति बोल्न सक्दैन तर संवेदना त्यसमा पनि हुन्छ । सत्य साई बाबा भन्नुहुन्छ ‘यो संसारमा यस्तो कुनै पनि वस्तु छैन जसको ह्रदय नहोस ,जो खुशी र दुःख महशुस गर्न नसकोस ।केवल तिमीमा हेर्न सक्ने आंखा हुनुपर्छ ,सुन्न सक्ने कान हुनुपर्छ र प्रत्युत्तर दिन सक्ने ह्रदय हुनुपर्दछ ।’

साई बाबा अझ अगाडी भन्नुहुन्छ – देवत्व सवैतिर छ सवैमा छ ।भौतिक आंखाले तिमीले ईश्वर नदेखौला तर भित्री आंखाले ईश्वरको कल्पना गर्न सक्छौ ।हावाको अस्तित्व छ त्यसलाई देख्न वा छुन नसके पनि त्यसको अस्तित्वलाई तिमी नकार्न सक्दैनौं।त्यसै गरी भगवान पनि हावा सरह अवस्थित हुनुहुन्छ ।वेदमा भनिएको छ – ‘अन्तर्बहिश्च तत्सर्व व्याप्त नारायण स्थित :’ अर्थात भगवान हामीभित्र र बाहिर सर्वत्र व्याप्त हुनुहुन्छ । भगवानलाई खोज्न कतै जानै पर्दैन ।

प्रतिक्रिया