शुक्रबार, वैशाख २८, २०८१

प्रेस स्वतन्त्रता र व्यवसायिक नैतिकताको मुद्धा

नेपालखोज २०८० वैशाख २० गते १३:००

काठमाडौं । आज मे ३, विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा हरेक मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने गरिएको पाइन्छ । मानव अधिकार तथा शान्ति समाजले हरेक वर्ष प्रेस स्वतन्त्रताका लागि केन्द्रित रहि विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदै आएको छ । दिवसकै सन्दर्भमा २०८० वैशाख २० गते विभिन्न जिल्लामा आयोजित कार्यक्रममा प्रस्तुत अवधारणापत्र यस प्रकार छ ।

१. सन् १९९३ डिसेम्वरमा संयुक्त राष्ट्र महासभाले ३ मे लाई विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने निर्णय गरेको थियो । स्मरणीय छ, सन् १९९१ को मे ३ मा नामिबियाको विन्डहक शहरमा भएको सम्मेलनको समापनमा स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र जारी भएको थियो । सोही दिनकोस्मरणमा हरेक वर्ष मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने गरिन्छ । यस वर्ष ३० औ विश्व प्रेस स्वतन्त्रता दिवस ३ मे का दिन विश्वभरी विभिन्न कार्यक्रम आयोजना गरि मनाइदै छ ।
यो दिवसले सरकारहरुलाई प्रेस स्वतन्त्रता प्रतिको आफ्नो प्रतिवद्धताको सम्मान गर्न स्मरण गराउछ भने सञ्चारकर्मीहरुमाझ प्रेस स्वतन्त्रता र व्यवसायिक (पेशागत) नैतिकताका मुद्धाहरु प्रतिविम्वित गर्दछ । यसैगरी यो दिवस निम्नलिखित विषयमा अवसर पनि हो ।

क. प्रेस स्वतन्त्रताको आधारभूत मूल्यहरुलाई सेलिब्रेट गर्ने (उत्सवका रुपमा मनाउने)

ख. प्रेस स्वतन्त्रताको विश्वव्यापी स्थितिबारे आँकलन गर्ने

ग. मिडियालाई उनीहरुको स्वतन्त्रतामाथि हुने आक्रमणबाट रक्षा गर्ने

घ. कर्तव्य पालनाका क्रममा जीवन गुमाउन पुगेका पत्रकारहरुप्रति श्रद्धाञ्जली ।

२. कर्तव्य पालनाका क्रममा जीवन गुमाउन पुगेका पत्रकारहरुप्रति श्रद्धाञ्जली
क. प्रेस स्वतन्त्रताका लागि कार्यरत अन्तर्राष्ट्रिय संस्था ‘कमिटि टु प्रोटेक्ट जर्नलिष्टस्’(सिपिजे) का अनुसार वर्ष २०२२ मा ६७ जना पत्रकारहरुले जीवन गुमाएका थिए । त्यसमध्ये सबैभन्दा बढी युद्धग्रस्त युक्रेनमा १५ जना, मेक्सिकोमा १३ जना र हाइटीमा ७ जना मारिएका थिए । मानव अधिकार तथा शान्ति समाज मृतक पत्रकारहरु सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दछ । कुनै पनि अवस्थामा पत्रकारको जीवन रक्षा हुनुपर्नेतर्फ ध्यानाकर्षण गराउँदै यसका लागि अझ बलियो संयन्त्र निर्माण गर्न अन्तर्राष्ट्रिय निकाय/समुदायलाई आग्रह गर्दछ । प्रेस स्वतन्त्रता माथि सबैभन्दा बढी खतरा युद्ध/सशस्त्र द्वन्दका बेला हुने र पत्रकारमाथि आक्रमण पनि युद्ध/द्वन्दग्रस्त क्षेत्रमा बढी हुने हुँदा ‘युद्ध निषेध : शान्ति विशेष’ अभियानलाई सदैव प्राथमिकता दिन पनि सञ्चार जगतलाई मानव अधिकार तथा शान्ति समाज विशेष आग्रह गर्दछ ।

ख. नेपाल सन्दर्भमा २०५२ सालपछि १० वर्षे सशस्त्र द्वन्दका दौरान एक दर्जन बढी पत्रकारहरु सुरक्षा निकाय र ने.क.पा. (माओवादी) द्वारा मारिएको तितो यथार्थ छ । त्यसमध्ये माओवादीबाट मारिएका पत्रकार डेकेन्द्रराज थापा मानव अधिकार तथा शान्ति समाज दैलेख शाखाको पहिले सचिव र पछि सल्लाहकार हुनुहुन्थ्यो । दैलेख सदरमुकाममा वितरण हुने खानेपानी ५२ दिनसम्म अवरुद्ध भएपछि पत्रकार थापा माओवादीसँग वार्ताका लागि नागरिक समाजका तर्फबाट २०६१ असार १२ गते गाउँ जाँदा माओवादीले अपहरण गरि चरम यातना पश्चात अपहरणको ४५ दिनपछि २०६१ साउन २७ गते सास छँदै खाल्डोमा पुरि हत्या गरेका थिए । पत्रकार थापा हत्याको अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरमा तिव्र निन्दा भएपछि माओवादीले लास गाडेको स्थान गोप्य राखेको थियो । त्यसको ४ वर्षपछि थापाको शव उत्खनन गरिएको थियो ।

शान्ति प्रक्रिया शुरु भए पश्चात जिल्ला अदालत दैलेखले पत्रकार थापाको हत्यामा संलग्न ५ जनालाई कैद सजाय सुनाएको र बाँकी ४ जनालाई पक्राउ परेका बखत मुद्दा जगाउन सकिने गरी मुलतबीमा राखेको थियो । अन्तत् पत्रकार थापा हत्याको १७ वर्षपछि थप ३ जनालाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो । ( अर्को एक जनालाई ३ वर्ष कारावास) सशस्त्र द्वन्दमा कुनै संलग्नता नभएका पत्रकार/अधिकारकर्मीलाई चरम यातना पश्चात माओवादीले गरेको हत्या मानवता विरुद्ध अपराधको श्रेणीमा पर्दछ । तर आजसम्म पनि माओवादी नेतृत्व÷पार्टीले यस सम्बन्धमा क्षमा याचना गरेको पाइदैन । उल्टो फागुन १ लाई जनयुद्ध दिवसका नाममा राष्ट्रिय उत्सवका रुपमा थोपर्ने र विगतका अपराधलाई जायज ठहर्याउने दुश्कृत्य माओवादी नेतृत्वको सरकारले गरेको छ ।

१० वर्षे सशस्त्र द्वन्दका दौरान सुरक्षाकर्मीद्वारा हिरासतमा यातना दिई पत्रकार कृष्ण सेन इच्छुकको हत्या भएको थियो । जनादेश साप्ताहिकका सम्पादक कृष्ण सेन इच्छुकलाई २०५९ जेठ ६ गते काठमाडौंबाट सुरक्षा निकायले गिरफ्तार गरि जेठ १३ गते हत्या भएको प्रकाशमा आएको थियो । स्रष्टा कृष्ण सेनका झण्डैआधा दर्जन कृतिहरु प्रकाशित छन् । कृष्ण सेनको गैरन्यायिक तवरमा क्रुरतापूर्वक भएको हत्यामा जिम्मेवारमध्ये कसैमाथि पनि कारवाही भएको छैन । तीमध्ये केही राज्यको संरक्षणमा त केही राजनीतिक संरक्षणमा छन् ।

ग. २०६२/६३ को ऐतिहासिक जनआन्दोलनको सफलता पश्चात प्रारम्भ भएको शान्ति प्रक्रिया अन्तर्गत २०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप पिडितलाई न्याय र पिडकलाई सजाय सुनिश्चित गरि संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्याउनु आवश्यक छ । यसका लागि हाल संसदमा प्रस्तुत संसोधन विधेयकलाई मानव अधिकार मैत्री बनाउनुअनिवार्य छ ।

३. प्रेस स्वतन्त्रता दिवस : स्वतन्त्रताको आधारभूत मूल्यहरुलाई सेलिब्रेट गर्ने (उत्सवका रुपमा मनाउने) अवसर प्रेस स्वतन्त्रता आधारभूत मानव अधिकार हो । प्रेस स्वतन्त्रता मानव अधिकारको शाश्वत मुल्य हो भने लोकतन्त्रको स्तम्भ पनि हो । स्वतन्त्र निष्पक्ष र भयरहित वातावरणमा निर्वाचित सवल व्यवस्थापिका, सुशासनको प्रत्याभूतिसहित समृद्धिको कार्य सुचिसहितको कार्यपालिका, स्वतन्त्र एवं सक्षम न्यायपालिका, स्वतन्त्र प्रेस र गतिशील एवं जागरुक नागरिक समाज नै लोकतन्त्रको आधार स्तम्भ हुन । स्वतन्त्र प्रेसले सदैव स्वतन्त्रताको पहरेदारको भूमिका निर्वाह गर्छ । ३० औ प्रेस स्वतन्त्रता दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज प्रेस स्वतन्त्रताको आधारभूत मुल्यहरुलाई सेलिब्रेट गर्न सबैलाई आह्वान गर्दछ ।

४. प्रेस स्वतन्त्रताको विश्वव्यापी स्थितिबारे आँकलन : प्रेस स्वतन्त्रताका लागि कार्यरत संस्थाहरु लगायत विभिन्न निकायले प्रेस स्वतन्त्रताको विश्वव्यापी स्थितिबारे प्रतिवेदन प्रकाशित गरेका छन् । जुन मुलुकमा लोकतान्त्रिक पद्धति, लोकतान्त्रिक संस्कार र लोकतान्त्रिक कर्तव्यको मानक उचो छ तिनै मुलुकमा प्रेस स्वतन्त्रताको सम्मान र सुरक्षा सर्वाधिक भएको देखिन्छ । जुन मुलुकमा सैनिक शासन छ, जुन मुलुकमा अधिनायकवादी शासन व्यवस्था छ, जुन मुलुकमा स्वतन्त्र, निष्पक्ष निर्वाचन प्रणाली छैन ती मुलुकहरुमा प्रेस स्वतन्त्रताको अवस्था नाजुक छ । युद्ध र द्वन्दग्रस्त क्षेत्रमा प्रेस स्वतन्त्रता सर्वाधिक खतरामा छ ।

५. मिडियालाई उनीहरुको स्वतन्त्रतामाथि हुने आक्रमणबाट रक्षा गर्नका लागि सहकार्य आवश्यक : मिडियामाथिको आक्रमण स्वतन्त्रतामाथिको आक्रमण हो । मिडिया स्वतन्त्रतामाथिको आक्रमण लोकतान्त्रिक मुल्य मान्यतामाथि आक्रमण हो । प्रेस स्वतन्त्रता दिवसमा अवसरमा यस्ता आक्रमणहरुलाई निरुत्साहित गर्न र त्यस्तो प्रवृत्तिलाई परास्त गर्न व्यापक सहकार्य आवश्यक भएको शान्ति समाजको धारणा छ ।

६. प्रेस स्वतन्त्रता प्रतिको प्रतिवद्धताको सम्मान गर्न सरकारको ध्यानाकर्षण : प्रेस स्वतन्त्रता दिवसले सरकारहरुलाई प्रेस स्वतन्त्रता प्रतिको आफ्नो प्रतिवद्धताको सम्मान गर्न स्मरण गराउँछ । नेपाल सन्दर्भमा पनि विगत केही वर्षमा प्रेस स्वतन्त्रता कुण्ठित हुनेगरी विधेयक प्रस्तुत गर्ने, अध्यादेश जारी गर्ने प्रयत्न भएको छ जुन दुर्भाग्यपूर्ण छ । लोकतान्त्रिक व्यवस्थामा राज्य, सरकार सदैव सहयोगात्मक हुनुपर्छ तर राज्य/सरकारले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने गरि नियन्त्रणात्मक रवैया अपनाउने गरेको देखिन्छ । ३० औँ प्रेस स्वतन्त्रता दिवसका अवसरमा विगतमा सरकार/दलहरुले प्रेस स्वतन्त्रताबारे गरेको प्रतिवद्धताको स्मरण गराउँदै सो प्रतिवद्धता अनुरुप प्रेस स्वतन्त्रता मैत्री कानून बनाउन र सोही अनुरुपको आचरण अवलम्वन गर्न शान्ति समाज आग्रह गर्दछ ।

७. सञ्चारकर्मीहरुमाझ प्रेस स्वतन्त्रता र व्यवसायिक नैतिकताका मुद्धाहरु आत्ममन्थन गर्ने अवसर : सञ्चारकर्मीहरुमाझ प्रेस स्वतन्त्रता र व्यवसायिक नैतिकताका मुद्धाहरु आत्म मन्थन गर्ने एउटा अवसर हो विश्व प्रेस स्वतन्त्रता दिवस । यस विषयमा व्यापक पुनरावलोकन हुनु आवश्यक छ । त्यसो हुन नसके राजनीतिक क्षेत्र जस्तै सञ्चार क्षेत्र पनि विकृत हुन सक्ने खतरातर्फ ध्यान दिनु जरुरी छ । सञ्चार जगत नै विकृत भयो भने लोकतन्त्र स्वत विकृत हुन्छ । तसर्थ यो दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज व्यवसायिक नैतिकताकोउच्चतम मापदण्ड कायम गर्न संवद्ध सबैलाई आग्रह गर्दछ ।

८. श्रमजिवी पत्रकारहरुको अधिकार : स्वतन्त्रताको पहरेदारी र मानव अधिकार संरक्षणका लागि निरन्तर योगदान गर्ने श्रमजिवी पत्रकारहरुको ठूलो हिस्सा आज पनि नेपालमा शोषणको शिकार भइरहेका छन् । तिमध्ये कतिपयले न्युनतम तलब समेत पाउने गरेका छैनन्भने आधारभूत सुविधाबाट थुप्रै श्रमजिवी पत्रकारहरु वञ्चित छन्। एकातिर कोभिड १९ को प्रकोपका कारण पेशागत विस्थापन अर्कोतिर विश्वव्यापी मन्दी र बढ्दो महंगीका कारण श्रमजिवी पत्रकारहरुको अवस्था झनै पिडादायी छ । नेपालमा श्रमजिवी पत्रकारहरुको हक र अवस्थाको बारेमा विस्तृत विवरण सार्वजनिक हुनु आवश्यक छ । प्रेस स्वतन्त्रता दिवसका अवसरमा राज्य, सञ्चार जगतबाट श्रमजिवी पत्रकारहरुको अधिकार संरक्षणका लागि थप प्रतिवद्धतासहित विशेष योजनाको खाँचो छ ।

९. अभिव्यक्ति स्वतन्त्रता : अभिव्यक्ति स्वतन्त्रता आधारभूत मानव अधिकार हो । तर घृणात्मक अभिव्यक्ति अपराध हो । घृणात्मक अभिव्यक्ति अर्थात हेट स्पिच भन्नाले त्यस्तो अभिव्यक्तिलाई जनाउँछ जस्ले कुनै समूह वा व्यक्तिलाई जाति, धर्म, लिंग, जातीय उत्पत्ति, अपाङ्गता आदि जस्ता लक्षणका आधारमा आक्रमण गर्ने, धावा बोल्ने गर्दछ । कतिपय देशका कानुनहरुमा घृणात्मक अभिव्यक्तिलाई व्याख्या गर्दा त्यस्तो अभिव्यक्ति जस्ले हिंसालाई भड्काउछ, त्यसकारण निषिद्ध गरिएको उल्लेख छ । तसर्थ प्रेस स्वतन्त्रताको नाममा घृणात्मक अभिव्यक्तिले कहिल्यै पनि स्थान पाउनु हुदैँन ।

१०. घृणा र हिंसा मुक्त पत्रकारिता : पत्रकारहरुको अन्तराष्ट्रिय संस्था इन्टरनेशनल फेडरेसन अफ जर्नलिस्टस्( आइ एफ जे) ले सन २०१४ मा ब्रसेल्समा आयोजना गरेको मिडिया, सशस्त्र संघर्ष र घृणात्मक अभिव्यक्ति विषयक सम्मेलन पश्चात जारी गरेको घोषणापत्रमा सदासर्वदा जिम्मेवार पत्रकारिताको मूल्य र मान्यतामा उभिन आह्वान गर्दै मिडियामा घृणा र हिंसा भड्काउने कार्य विरुद्ध लड्न प्रतिवद्धता व्यक्त गरिएको छ ।

प्रतिक्रिया